प्रदेश निजामती सेवा ऐन आएपछि पहिलो पटक कोशी प्रदेशमा कर्मचारीको तहवृद्धि हुँदै
विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशभित्रका कर्मचारीको तहवृद्धि गर्ने भएको छ । एक सूचना जारी गर्दै प्रदेश सरकारले प्रदेश निजामती सेवामार्फत कार्यरत कर्मचारीहरूको लागि तहवृद्धि गर्न लागेको हो ।
प्रदेश सेवा मातहतका कर्मचारीको लामो समयदेखि वृत्तिविकास रोकिएको आरोप लागिरहेको बेला सरकारले तहवृद्धिको प्रक्रिया अघि बढाएको हो । प्रदेश निजामती सेवा ऐन २०७९ को दफा ३० को उपदफा (१) बमोजिम ५ वर्ष सेवा अवधि पूरा भएका र न्यूनतम शैक्षिक योग्यता हासिल गरेका मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालय वा अन्तरगतका निकायमा कार्यरत प्रदेश निजामती सेवा अन्तरगतका कर्मचारीहरूलाई तहवृद्धिको लागि कागजातसहित निवेदन दिन भनिएको छ ।
उल्लेखित विषयमा निवेदन दिने म्याद जेष्ठ ३२ गतेदेखि ३० दिन भनिएको छ । कर्मचारी समायोजन भएको पाँच वर्ष बितिसक्दा पनि तहवृद्धि हुन नसकेको कर्मचारीले आरोप लगाउँदै आएका थिए । प्रदेश निजामती सेवा ऐन जारी भएपछि कर्मचारीको वृत्तिविकास हुने आशा बोकेर बसेका प्रदेश निजामती सेवा अन्तरगतका कर्मचारीहरू सेवा सुविधा र वृत्तिविकासको कुरा प्रदेशमा हुन नसकेको बताउँदै आएका छन् ।