युरोकप छनौटमा फ्रान्स र इंग्ल्यान्डको शतप्रतिशत जित

काठमाडौँ । युरोकप छनौट अन्तर्गत फ्रान्सले ग्रीसलाई पराजित गर्दै लगातार चौथो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा फ्रान्सले ग्रीसलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

फ्रान्सको जितमा खेलको ५५औँ मिनेटमा किलीयन एम्बाप्पेले पेनाल्टीमार्फत गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यस खेलमा खेलको ६९औँ मिनेटमा ग्रीसका माभ्रोपानोसले रातो कार्ड पाएपछि ग्रीस १० खेलाडीमा सीमित भएको थियो ।

यो जितपछि समूह ‘बी’मा फ्रान्सले लगातार ४ खेलमा १२ अंकसहित समूहमा शीर्ष स्थानमा रहेको छ । ग्रीसको भने ३ खेलमा ६ अंक रहेको छ र समूहमा दोस्रो स्थानमा रहेको छ ।

यस्तै समूह ‘सी’मा रहेको इंग्ल्यान्डले पनि अहिलेसम्म खेलेका सबै खेल जितेको छ । गएरातिको खेलमा इंग्ल्यान्डले घरेलु मैदानमा नर्थ म्यासेडोनियामाथि ७-० को सानदार जित दर्ता गरेको हो ।

युवा विंगर बुकायो साकाले ह्याट्रिक गर्दा कप्तान ह्यारी केनले दुई तथा मार्कस रासफर्ड र केल्भिन फिलिप्सले समान एक गोल थपे । लगातार चौथो जितसँगै समूह ‘सी’ मा शीर्षस्थानमा रहेको इंग्ल्यान्डको १२ अंक पुगेको छ । पराजित नर्थ म्यासेडोनिया ३ खेलबाट ३ अंक जोडेर चौथो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *