मकालु रिभ्यु

ई: ले पैदल घुम्दा देखेको दक्षिण एसिया (फोटो रिभ्यु)

हिँडे धेरै कुरा देखिन्छ । ई: हिँड्दै भारत हिँडे । भारत सकेर श्रीलंका र बंगालादेश पनि हिँडे ।

हतार नगरी हिँडे अझै धेरै कुरा देखिन्छ । ई: हतार नगरी भारत, श्रीलंका र बंगालादेश हिँडे । 

पैदलै हिँडे । २०२१ र २०२२ मा १४,००० किलोमिटर हिँडे । 

बास बस्ने ठाउँको हतार गरेनन् । यसो गर्नैपर्ने, त्यसो गर्नैपर्ने भन्ने अङ्कुश लगाएनन् । एउटा बाटोको योजना बनाएर हिँडे । तर त्यही बाटो हिँड्नैपर्छ भन्ने लोभ गरेनन् । 

सडक मात्र हिँडेको भए अलिक चाँडो हुन्थ्यो । तर उनी गाउँ छिरे । मान्छेका घर पुगे । मान्छेका अनुहार भेटे । मान्छेसँग गफ गरे । फरक फरक मान्छे भेटे । फरक फरक कुरा सुने ।  

त्यसो गर्दा समय सोचेभन्दा बढी लाग्यो । तर समयको हतारसँग हतारिएनन् । 

‘सबै ठाउँ पैदलै हिँड्नुभयो कि कतै केही चढ्नुभयो ?’ कर्मा क्याफेमा केही महिना पहिला मैले भेट्दा उनी भर्खरै यात्रा सकेर आएका थिए ।  

‘एक ठाउँमा सुरुङमा हिँड्न दिएन । त्यति गाडी चढेँ ।’ भारतको कुरा यति थियो । 

‘श्रीलङ्का जाँदा जहाज चढ्न सस्तो पर्यो । भिसा पनि उतैबाट पाहियो ।’

‘बंगालादेश जानुभन्दा पहिला नेपाल आएर जहाजमा गएँ । भारतबाट सिधै भिसा पाइएन ।’

श्रीलङ्का र बंगालादेश जाने कुरा योजनामा थिएन । भारत हिँड्दै गर्दा त्यता पनि पुगौँ भन्ने भयो । त्यसरी नै तयारी गरे ।

उनले यात्राको क्रममा यसरी नै इम्प्रोभाइज गरिरहे । इम्प्रोभाइज गरेको यात्रा रमाइलो हुन्छ ।

‘हरेक ठाउँमा पुग्दा के के अन्तर पाउनुभयो ?’

मान्छे । संस्कृति अनि अरू धेरै कुरा । हरेकठाउँको छुट्टै छुट्टै बोली हुँदोरहेछ । त्यसमा उनीहरूको साक्षरता झल्किँदो रहेछ । उनले यस्तै जवाफ दिए ।

‘हतार नगरी हिँड्दा कस्तो महसुस भयो ?’

‘हिँडेको बेला समय अरूबेलाभन्दा फरक तरिकाले चल्छ । जस्तो कि कसैले नजिकै अर्को गाउँ छ भन्यो भने त्यहाँ जाऊँ त लाग्छ तर यदि त्यो २५ किलोमिटर मात्रै टाढा छ भने पनि त्यो अर्को ६-७ घण्टा हो ।’

पैदल हिँड्दा लिइने निर्णयहरूमा फरक पर्दो रहेछ । पैदल हिँड्दा सोच्ने कुराहरूमा फरक पर्दो रहेछ । 

हिँड्दै गर्दा बाटोमा धेरै जुत्ता फाटे । पहिला पहिला उनी ती जुत्ताहरूलाई पनि सङ्ग्रह गर्थे । यसपल्ट बाटोमा जो मान्छेलाई चाहिएको जस्तो देखे तीनलाई जुत्ता छोडिदिए । 

उनले यो यात्रामा धेरै कुरा छोड्न सिके । हिँड्दै गरिने यात्रामा धेरैकुरा लैजान सकिँदैन । छोड्न सक्नुपर्छ । 

उनले यात्राको क्रममा धेरै फोटो खिचे ।

‘मलाई स्टिभ मकरी मनपर्छ ।’ मैले भनेँ । उनले त्यसमा खासै धेरै प्रतिकृया दिएनन् । 

‘म उनीजस्तो फोटोका चरित्रलाई चलाउँदिन । फोटोलाई कम्पोज गर्दिनँ । जस्तो देख्छु त्यस्तै खिचिदिन्छु ।’ यति मात्र भने । 

उनले फोटो खिचे तर कसैलाई पनि चरित्रको रूपमा नदेखि खिचे । त्यो पलमा जे बन्छ त्यसलाई त्यसरी नै बन्न दिएर खिचे । 

फोटो खिच्दा धेरै कुरा नसोची खिचे ।  

उनले त्यसरी नै खिचेका फोटोहरूलाई यति बेला झम्सिखेलको कर्मा क्यामेमा झुन्ड्याएका छन् । ती फोटोहरू हेर्दै गर्दा उनको यात्राको धेरै अंश देख्न पाइन्छ । तीन देशको यात्राक्रममा उनी कता कता रोकिए । कता बास बसे । कता हाँसे । कता घोरिएर सोचे । कता यसै सुस्ताए । 

फोटो हेरेर धेरै कुरा थाहा पाइन्छ । 

उनको फोटो हेरेर भारत, श्रीलंका र बंगालादेशको बारेमा धेरै कुरा थाहा पाइन्छ । दक्षिण एसियाको बारेमा धेरै कुरा थाहा पाइन्छ । संसारको बारेमा धेरै कुरा थाहा पाइन्छ ।

हरेक मान्छेको अनुहार संसारको अनुहार बन्न काफी छन् । 

यी फोटोहरूमा मान्छे छन् । उनको मुख्य विषय मान्छे हुन् । कुनै मान्छे टाढाबाट खिचिएका छन् । उनले तीनमा उनीहरू भएको स्थानसँग उनीहरूको सम्बन्धलाई देखाउन खोजेका छन् ।

कुनै फोटो नजिकैबाट खिचिएका छन् । उनले तीनमा मान्छेको अनुहारको भावलाई पढ्न खोजेका छन् । 

समग्रमा उनका फोटोहरूमा मान्छे केही न केही गर्दैछन् । कोही सैलुनमा कसैको दाह्री मिलाइरहेका छन् । कोही सामान बेच्ने तराजु उठाइरहेका छन् । कोही समुन्द्र किनारमा उभिइरहेका छन् । कोही साइकलमा कतै दौडिरहेका छन् । 

उनको फोटोमा प्राय मध्यमवर्गीय मान्छे धेरै छन् । काम गरिखाने मान्छे धेरै छन् । 

उनी हिँडेर गएको भएर ती मान्छे भेटे । यदि कुनै गाडीमा हिँडेका भए त्यो भन्दा फरक मान्छे भेट्ने थिए । ट्रेनमा हिँडेका भए त्यो भन्दा फरक । वा हुनसक्छ ती नै मान्छेलाई फरक स्वरूपमा भेट्ने थिए । 

उनले जसलाई घरको लुगामा भेटे तीनलाई कतै जाने लुगा लगाएको बेला भेट्ने थिए । 

मान्छेले कतै जानुपर्दा पनि आफूलाई भएको भन्दा फरक पार्न खोज्छ । उनले धेरै मान्छेलाई उनीहरू जस्तो अवस्थामा छन् जस्तै अवस्थामा भेटे । त्यसैले पनि उनका फोटोहरूको अनुहार स्वाभाविक छन् । 

उनले जसरी हिँडेका थिए त्यसरी नै फोटो खिचेका रहेछन् । जसरी फोटो खिचेका छन् त्यसरी नै फोटोहरू सजाएका छन् । यी फोटो कुनै फ्रेममा छैनन् । किनकि उनले खिच्नेबेला यिनलाई फ्रेम बनाउने सोचेका थिएनन् । यदि फ्रेममा गए भने ती मान्छेको जीवन फोटोको जीवनबाट टाढा भइदिन सक्छन् ।

उनका फोटोहरू मिसिएका छन् । ठिक त्यसरी नै समाज मिसिएको छ । 

उनको फोटोमा विविधता छन् । उनको फोटोमा इन्द्रेणी रङ छन् । 

उनको फोटोमा हिन्दु पनि छन् मुस्लिम पनि छन् । 

उनको फोटोमा सम्पदा पनि छन् । झुप्रा पनि छन् । 

उनको फोटोमा एउटा दिन बिताउनेक्रममा मान्छेले बिताउने हरेक पलहरू छन् ।

उनको फोटोमा गोधुली साँझ छन् । 

उनको फोटोमा केवल फोटो मात्र छैनन् । क्याप्सन पनि छन् । क्याप्सन नपढ्दा र पढ्दा फोटो फरक फरक बोल्छन् । 

उनको फोटोमा उनको सरल यात्रा छन् । उनको फोटो झुन्ड्याउने तरिका उनको सरलताको व्याख्या गर्छन् । 

उनको फोटोमा समुन्द्र छन् । 

उनको फोटोमा खेत छन् । 

उनको फोटोमा पुरुष छन् । 

उनको फोटोमा महिला छन् । 

उनको फोटोमा भारतले संसारलाई देखाउन चाहेको भारत पनि छन् । 

उनको फोटोमा भारतले संसारलाई देखाउन नचाहेको भारत पनि छन् । 

उनको फोटोमा श्रीलंकाले संसारलाई देखाउन चाहेको श्रीलंका पनि छन् । 

उनको फोटोमा श्रीलंकाले संसारलाई देखाउन नचाहेको श्रीलंका पनि छन् । 

उनको फोटोमा बंगालादेशले संसारलाई देखाउन चाहेको बंगालादेश पनि छन् । 

उनको फोटोमा बंगालादेशले संसारलाई देखाउन नचाहेको बंगालादेश पनि छन् । 

मानिसहरू भन्छन् ‘तस्बिर आफैँ बोल्छ’

उनका सबै तस्बिर बोल्छन् ।

‘काठमाण्डौमा कहाँ बस्नुहुन्छ ?’ मैले उनलाई सोधेको थिएँ । 

‘म सबैकोमा बस्छु । कहिले कसकोमा कहिले कसकोमा ।’

उनको यहाँ कोठा छैन । उनलाई कोठा चाहिएको छैन । उनी काठमाडौँ आएको बेला पनि यात्रामै छन् । पोखरा पुगेको बेला पनि यात्रामा नै छन् । 

यो पृथ्वी पनि घुमिरहेको छ । यो कतै बस्दैन । यी नदी पनि बगिरहेका छन् । यी कतै बस्दैनन् । उनी पनि हिँडिरहेका छन् । उनी कतै बस्दैनन् । 

उनले खिचेका फोटोहरू पनि हिँडिरहेका छन् । किनकि यी पनि कतै बस्दैनन् । 

हतार नगरी हिँड्ने मान्छे जहिल्यै यात्रामा हुन्छ । 

पैदल हिँड्ने मान्छे जहिल्यै यात्रामा हुन्छ । 

हिँड्ने मान्छे जहिल्यै यात्रामा हुन्छ ।

मान्छे जहिल्यै यात्रामा हुन्छ ।

उनका फोटोमा अटाएका यी मान्छे पनि यात्रामा छन् । यी मान्छेलाई जसले हेर्छन् ती यी सँग यात्रा गर्छन् । तीनलाई हेरेर पक्का पनि मान्छेहरू आफ्नो कल्पनाको यात्रा गर्छन् । 

ती फ्रेममा आएका बाहेक के के होलान् अरू ? त्यसको कल्पना गर्छन् । 

त्यो फोटोमा बाँधिएको समय बाहेक के के समय चलिरहेको होला तीनको कल्पनामा,  तीनको पनि कल्पना गर्छन् । 

उनले फोटोमा लेखेका क्याप्सन कसरी आए होला । 

ती क्याप्सन र फोटो आपसमा कसरी संवाद गर्दा होलान् ?

ई: ले आफ्नो यात्रालाई फोटो बनाएर तपाईँलाई दक्षिण एसिया घुम्ने निम्तो दिएका छन् । 

तपाईँलाई पनि यात्रा गर्न मन छ भने पुग्नु है । 

कर्मा क्याफे झम्सिखेलको बार्दलीमा उनका फोटोहरू हावामा हल्लिँदै तपाईँलाई पर्खिरहेका छन् ।

नोट: उनका फोटोहरूको विविधतालाई ध्यानमा राख्दै शीर्षक परिवर्तन गरिएको । पहिलाको शिर्षक ‘ई: ले पैदल घुम्दा देखेको दक्षिण एसिया (फोटो रिभ्यु)’ थियो ।

@SurajWritesNP

 

प्रतिक्रिया

One thought on “ई: ले पैदल घुम्दा देखेको दक्षिण एसिया (फोटो रिभ्यु)

Leave a Reply

Your email address will not be published. Required fields are marked *