चार प्रतिशत बालबालिकामा दृष्टिदोषको समस्या

काठमाडौँ । नेपाल नेत्रज्योति संघ र अर्विसको सहकार्यमा सञ्चालित नेपाल रिच परियोजनाबाट करिब ८ लाख बालबालिकाहरू लाभान्वित भएका छन् । परीक्षण गरिएका मध्य ४ प्रतिशत बालबालिकाहरूमा दृष्टिदोषको समस्या देखिएको छ ।

अर्विसको आर्थिक सहयोगमा नेपाल नेत्रज्योति संघले सञ्चालन गरेको उक्त परियोजना मार्फत झापा मोरङ, पर्सा, सुनसरी र सिराहा जिल्लाका ७ लाख ८५ हजार ४६० जना बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिएको हो ।

सन् २०१८ देखि २०२२ सम्म चलेको परियोजना मार्फत ६ देखि १८  वर्षसम्मका विद्यालय जाने र नजाने बालबालिकाहरुको आँखा परीक्षण गरिएको थियो । आँखा परीक्षण पश्चात समस्या देखिएका बालबालिकाहरूलाई निःशुल्क चस्मा तथा शल्यक्रिया समेत गरिएको बत्ताउँछन् नेपाल नेत्रज्योति सङ्घका कार्यक्रम व्यवस्थापक रन्जन शाह ।

उक्त परियोजना मार्फत ४ वर्षमा २ हजार ५ सय ५५ वटा निजी तथा सामुदायिक विद्यालयहरूमा आँखा जाँच गरिएको थियो । उक्त जाँचका क्रममा दृष्टिमा समस्या देखिएका २० हजार ३ सय ८० जना बालबालिकाहरूलाई निःशुल्क चस्मा वितरण गर्नुका साथै २०१ जना बालबालिकाको आँखाको निःशुल्क शल्यक्रिया समेत गरिएको बत्ताउँछन् शाह ।

शाहका अनुसार आँखा जाँच गरी वितरण गरिएको चस्मा मध्य ६३ प्रतिशत बालबालिकाहरूले मात्र नियमित रूपमा चस्मा प्रयोग गरिरहेका छन् । ‘चस्मा लगाउँदा साथीहरूले जिस्क्याउने, आमाबाबुले छोरीहरूलाई विवाह गर्न कठिनाइ हुने भन्दै चस्मा लगाउन नदिने, चस्मा लगाउँदा सहजता नहुने र लजाउने जस्ता कारणहरूले पनि बालबालिकाहरूले नियमित रूपमा चस्मा नलगाएको देखिन्छ’ शाहले भने ।

‘यसरी वितरण गरिएका चस्माको नियमित प्रयोगबाट ती विद्यार्थिहरूको शैक्षिक स्तरमा समेत उन्नति भएको छ, उनीहरूको दैनिकीमा समेत धेरै नै परिवर्तन आएको देखिन्छ’ शाहले भने ।

नेपाल नेत्रज्योति संघ आर।एम केडिया आँखा अस्पताल, नेपाल नेत्रज्योति संघ सगरमाथा चौधरी आँखा अस्पताल, नेपाल नेत्रज्योति संघ विराटनगर आँखा अस्पताल र मेची आँखा अस्पताल मार्फत यी जिल्लाहरूमा कार्यक्रम सञ्चालन गरिएको थियो ।

नेपाल नेत्रज्योति संघले कोही पनि नागरिकहरू पहुँच र पैसाको अभावमा आँखा उपचार सेवाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले विभिन्न दातृ निकायहरूसँगको सहकार्यमा देशैभरि विभिन्न निःशुल्क शिविरहरू आयोजना गरिरहेको बत्ताउँछन् सङ्घका कार्यकारी निर्देशक डा.शैलेस कुमार मिश्र ।

परियोजनाले कार्यक्रम सञ्चालित जिल्लाका महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक तथा  विद्यालयका भिजन एम्ब्यास्डरहरुलाई आँखा जाँच सम्बन्धी आधारभूत तालिम समेत प्रदान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *