मन्त्री सिंहको शव जिल्ला अस्पतालमा राखियो, शनिबार चैनपुर परिक्रमापछि दाहसंस्कार गरिने

बझाङ । मंगलबार अपरान्ह दुर्घटना परि मृत्यु भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वी बहादुर सिंहको पार्थिव शरिर हेलिकप्टर मार्फत धनगढीबाट बझाङ ल्याइएको छ । धनगढीमा अन्तिम श्रद्धाञ्जली व्यक्त गरेपछि बझाङ ल्याइएको पार्थिव शरिर शनिबारसम्म जिल्ला अस्पतालमा सिमखेतमा राखिनेछ ।

मन्त्री सिंहका कान्छा छोरा नर्वेबाट आउन समय लाग्ने भएकाले पार्थिव शरिर चार दिन जिल्ला अस्पतालमा राखिन लागिएको नेपाली कांग्रेस बझाङका नेता पाण्डव थापाले जानकारी दिए । मन्त्री सिंहका छोरा पुगेपछि शनिबार बझाङमा पनि अन्तिम श्रद्धाञ्जली कार्यक्रमपछि दाहसंस्कार गरिने नेता थापाले बताए । सिंहकी धर्मपत्नी अमृतादेवी सिंहको शव भने मंगलबारदेखि नै जिल्ला अस्पतालमा राखिएको छ ।

भाउजू जयादेवी सिंह शव आफन्तले जिल्ला अस्पताल सिमखेतबाट महेन्द्रनगर लगिसकेको नेपाली कांग्रेस पुर्व पार्टी सभापति हर्कजंग बहादुर सिंहले बताए । सिंहको निधनले सिंगो बझाङ स्तब्ध बनेको छ । सदरमुकाम चैनपुरका व्यापारीले बुधबार पुर्ण रूपमा पसल बन्द गरि शोक मनाएका छन् ।

डडेल्धुराबाट गृहजिल्ला बझाङ जाने क्रममा मन्त्री सिंहको दुर्घटनामा परि मृत्यु भएको थियो । मन्त्री सिंह सवार सुपप्र ०१ ००१ झ ४८० नम्बरको जीप मंगलबार दिउँसो १ः३० बजे केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटनामा परेको थियो । जीप केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो । दुर्घटनापछि उपचारका लागि मन्त्री सिहलाई नेपाली सेनाको हेलिकप्टरबाट कोहलपुर मेडिकल कलेज लगिएको थियो ।

उनलाई कोहलपुर मेडिकल कलेजले मृत घोषणा गरेको थियो । मन्त्री सिहको शव मंगलबार राती नै धनगढी ल्याईएको थियो । मन्त्री सिंहका गाडी चालक धर्मराज जोशी र मन्त्रीका पिएसओ प्रहरी सहायक हवल्दार दिपक भण्डारीको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *