साफ च्याम्पियनसिप फुटबल : पहिलो हाफमा नेपाल र भारत बराबर
साफ च्याम्पियनसिप २०२३ अन्तर्गत समूह चरणको दोस्रो खेलमा अहिले नेपाल र भारत भिड्दैछन् ।
पहिलो हाफको खेल सम्ममा दुवै टोलीले गोल गर्न सकेका छैनन् ।
नेपालका तर्फबाट १७ औँ मिनेटमा एरिक विष्टले गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक गुरप्रित सिंह सन्धुले विफल पारे । कर्नरमा आएको रिबाउन्डलाई एरिकले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गर्दा गुरप्रित बाधक बनेका थिए । त्यसको केहीबेरमै मनिष डाँगीको पास केही फितलो हुँदा विमल घर्ती मगर ६ यार्ड बक्सभित्र अवसरको सदुपयोग गर्नबाट वञ्चित भए ।
४० औँ मिनेटमा उदान्ता सिंहले दायाँ विंगबाट दिएको क्रसमा गोलरक्षक किरण चेम्जोङले एक हातले बल जोगाएपनि फार पोस्टमा महेश सिंह नाओरेम बलसम्म पुग्न सकेनन् ।
नेपालले पहिलो हाफको अन्त्यमा अञ्जन विष्टको साथ गुमाएको छ । चोटका कारण उनी बाहिरिएसँगै मिडफिल्डर आवास लामिछाने मैदान प्रवेश गरेका छन् ।
पहिलो खेल नेपाल कुवेतसँग ३-१ ले पराजित भएको थियो । भारतले पाकिस्तानलाई ४-० ले हराएको थियो ।
समूह ‘ए’ मा रहेको नेपाल अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ । सेमिफाइनल यात्रा जीवित राख्न नेपाललाई जितको विकल्प छैन ।
भारत ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । भारत नेपाललाई हराएर सेमिफाइनलको यात्रा पक्का गर्न चाहन्छ ।
नेपालले हालसम्म भारतसँग आधिकारिक २३ खेल खेलेको छ । जसमा भारतले १६ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ ।