सङ्घीय निजामती सेवा ऐनको मस्यौदा संसदमा छिट्टै पेश हुन्छ : मन्त्री मोदी
मकालु खबर
२०८० असार ११ गते
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा ऐनको मस्यौदा छिट्टै संसदमा पेश गर्ने बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । मन्त्री मोदीले सरकारमा सत्तारुढ दलहरू फेरबदल भएका कारण सो ऐनको मस्यौदा संसदमा पेश गर्ने काममा ढिलाइ हुन गएको स्पष्टीकरण समेत दिए ।
एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलहरूको सहकार्यमा बनेको समीकरण परिवर्तन भई काँग्रेस, माओवादीसहितको समीकरण बनेकाले सो ऐनको मस्यौदा संसदमा पेश गर्ने काममा ढिलाइ हुन गएको उनको भनाई थियो । मन्त्री मोदीले सो ऐनको मस्यौदामा देखिएको समस्या पनि यही असार १५, १६ र १७ गते बस्ने प्रधानमन्त्रीसहितका उच्चस्तरीय छलफलबाट टुङ्गो लाग्ने योजना रहेको पनि जानकारी गराए ।
उनले सो ऐनको मस्यौदा तयार पार्न सम्बद्ध सबै पक्षको सुझाव लिइएको पनि बताए ।
मन्त्री मोदीले भने, ‘मैले मन्त्रालयको कार्यभार सम्हालेदेखि नै दुई वटा कुराको मिसनमा लागे । एउटा, सङ्घीय निजामती सेवा ऐन ल्याउने । यो कुरा सुन्दासुन्दै म सुरुदेखि नै लागे । त्यहाँ विभिन्न पूर्व प्रधानमन्त्रीहरूसँग, पूर्वमन्त्रीहरुसँग, पूर्व प्रशासक, संवैधानिक निकायहरूसँग र विभिन्न ट्रेड युनियनहरूसँग छलफल गरेर त्यसको मस्यौदा ड्राफ्ट गरेर कानुन र अर्थ मन्त्रालयका पठाएका छौँ । त्यसकारण त्यो किन रोकियो भनेर जो प्रश्न गर्नु भएको छ । त्यो चाहिँ सम्बन्धित मन्त्रालयमा ताकेता गरिरहेका छौँ । त्यतिखेर पठाउँदा एउटा कोलिएशन पार्टनर थियौँ । त्यसपछि बदलियो । यो सङ्घीय निजामती सेवा ऐनको बारेमा चाहिँ जानकारी गराऊ । हामी ड्राफ्ट कोरेर पटायौँ । त्यो पनि छलफल गरेर कहीँ समस्या भए समाधानका लागि उपप्रधानमन्त्रीको नेतृत्वमा बनेको सहजीकरण कमिटी छ । यही १५, १६, १७ गतेभित्र यसको टुङ्गो लाग्छ । र, अव चाँडै नै यही सदनमा प्रस्तुत हुन्छ । हामी त्यो तयारीमा छौँ । ’
मन्त्री मोदीले कर्मचारी सरुवा, बढुवामा आफ्नो मन्त्रालय मातहतका कुनै अधिकारीले भ्रष्टाचार गरेको पाइए कडा कारबाही गर्ने चेतावनी समेत दिए । उनले कर्मचारी सरुवा, बढुवामा हुने भ्रष्टाचार नियन्त्रण आफ्नो मन्त्रालय एक्लैले गर्न नसक्ने पनि पटक पटक दोहोर्याए । सबै मन्त्रालयको सहकार्यमा मात्रै सो कामलाई नियन्त्रण गर्न सकिने मन्त्री मोदीको भनाई थियो ।
उनले भने ‘कर्मचारी सरुवा, बढुवामा भ्रष्टाचारको कुराहरू कहिलेकाहीँ सुन्छु । हामी भ्रष्टाचारसँग जोडिएका कयौँ कुराहरू हामीलाई भन्नुस् । हामीले थाहा पाउँदा चाहिँ कारबाही गर्छौ भनेर पटक पटक सार्वजनिक रूपमै भनेको छु । यो मेरो मात्रै विषयको कुरा होइन । मैले एक्लै सुधार गर्ने । यो चाहिँ विभिन्न मन्त्रालयहरू, विभिन्न तहका कर्मचारीहरू । जस्तो हामी सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालयका कर्मचारी खटाउने क्रममा अरू मन्त्रालयहरूले पनि एउटा प्रतिबद्धता जाहेर गर्नु पर्दछ कि हामी यो देशको भ्रष्टाचार निर्मूल गर्नका निम्ति सबैको हातेमालो चाहिन्छ भनेर जानकारी गराउन चाहन्छु । यो एक्लेले हुँदैन । सामान्य प्रशासन मन्त्रालय एक्लैले गरेर हुँदैन । अरू निकायले पनि तत्तत् ठाउँमा ग¥यो भने भ्रष्टाचार नियन्त्रण र निर्मूल पार्न सकिन्छ । र, म विश्वास दिलाउन चाहन्छु–हाम्रो मन्त्रालयमा हामीसँग कोही जोडिएको छ वा मेरो नामबाट कसैले गरेको छ भने जानकारी पाउ । हामी कारबाही अगाडि बढाउँछौँ ।’
मन्त्री मोदीले कर्मचारी सरुवा, बढुवामा भ्रष्टाचार हुन नदिन आफूले सार्वजनिक अभिव्यक्ति समेत दिँदै आएको पनि स्मरण गराए ।
मकालु खबर
२०८० असार ११ गते
प्रतिक्रिया
सम्बन्धित