पोखराको निषेधित क्षेत्रमा व्यापार गरे सामान जफत, अण्डरग्राउण्डमा व्यापार गरे १० हजार जरिवाना

पोखरा । पोखरा महानगरपालिकाले प्रतिबन्धित क्षेत्रमा व्यापार गरे सामान नै जफत गर्ने भएको छ । आगामी वर्षका लागि आर्थिक ऐन नगरसभामा प्रस्तुत गर्दै उपमेयर मन्जुदेवी गुरुङले निषेधित क्षेत्रमा फलफूल, ठेलागाडा, तरकारी, घुम्ती पसल, तथा अन्य साना व्यापार गरेमा सामान जफत गर्ने नीति महानगरले लिएको जानकारी दिइन् ।

निषेधित क्षेत्रमा व्यापार गरेकालाई जरिवाना गर्नेगरी आर्थिक विधेयक पेश गरिएको हो । यसरी व्यापार गर्नेलाई पहिलो पटक फेला पारे २ हजार रुपैयाँ जरिवाना गर्ने र पटके पक्राउ परेमा सामान जफत गर्ने नीति अख्तियार गरेको छ ।

महानगरले आगामी वर्षदेखि सम्पत्तिकरमा केही वृद्धि गरेको छ भने विद्यालय सञ्चालन अनुमति दस्तुर पनि थपिएको छ । संस्थागत विद्यालयतर्फ पूर्वप्रावि तथा मन्टेश्वरी तहको कक्षा सञ्चालन दस्तुर १२ हजार रुपैयाँ लिने प्रस्ताव गरेको छ । यसअघि यस्तो दस्तुर १० हजार थियो ।

आधारभूत तहको अध्यापन अनुमतिका लागि १५ हजार रुपैयाँ शुल्क तोकेको छ भने ९ र १० कक्षा अनुमति दस्तुर २० हजार रुपैयाँ पुगेको छ । यसअघि आधारभूतमा १२ हजार तथा ९ र १० मा १५ हजार थियो । आगामी वर्ष ११ र १२ कक्षा सञ्चालन अनुमति दस्तुर ३० हजार पुग्नेछ ।

यस्तै, भूमिगत तलालाई पार्किङ नगरी अन्य प्रयोजनमा प्रयोग गरे दोब्बर जरिवाना लिने भएको छ । यसरी पक्राउ परे पटकैपिच्छे १० हजार रुपैयाँ जरिवाना लिने विधेयक सभामा विचाराधीन छ । यसअघि यस्तो जरिवाना पटके रूपमा ५ हजार थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *