शिव शिखर र इमेज सहकारीविरुद्ध उजुरी दिन आह्वान

पोखरा । ढोरपाटनका मेयर देवकुमार नेपाली अध्यक्ष रहेको इमेज र शिव शिखर सहकारीविरुद्ध उजुरी दिन कास्की प्रहरीले आह्वान गरेको छ । एक सूचना जारी गरी कास्की प्रहरीले संस्थाका पदाधिकारीले सेयर सदस्यको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएकाले बचतकर्तालाई उजुरी दिन आग्रह गरेको हो ।

सहकारीमा रकम जम्मा गरेको आधार देखिने पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दती प्रमाण पत्र लगायतको प्रमाणको सक्कल साथमा लिई जिल्ला प्रहरी कार्यालय कास्कीमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ । शिव शिखर बहुउद्देश्यीय सहकारीको कार्यालय पोखरा ५ पस्र्याङ र वडा नम्बर १४ चाउथे तथा इमेज सहकारीको कार्यालय पोखरा ८ सिर्जना चोकमा छ ।

दुवै सहकारी बागलुङबाट सेवा कार्यालयका रूपमा पोखरामा आएका हुन् । सहकारीको बचत रकम हिनामिना गरिएको आरोप लागेका मेयर नेपाली सम्पर्क विहीन छन् । उनलाई विदेश यात्रामा रोक लगाउन गृहले अध्यागमन कार्यालयलाई जानकारी गराइसकेको छ । नेपालीलाई प्रहरी खोजी गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *