तपाईँको सत्य के हो ?
‘सत्य आखिरमा के हो त ?’
हाम्रो कक्षामा केही दिन अगाडि तर्कवितर्क चल्यो । साथीहरूले आफ्नो धारणा राखे । कसैले भने, ‘सत्य भनेको त केवल एउटा हुन्छ, बाँकी सबै झुटो हो ।’ अरू भन्दै ‘गए सत्य सबैको लागि फरक हुन्छ ।’
सबैको सत्यको परिभाषा एउटै हुनपर्छ भन्ने पनि त छैन नि ।
त्यही प्रसङ्गमा मलाई फ्रान्सिस बेकोनको ‘अफ ट्रुथ’ निबन्ध पढेको सम्झना आयो । उनी भन्छन्, ‘मान्छेहरू झुटो सुन्न मनपराउँछन्, किनभने उनीहरू आफ्नो इच्छाअनुसार कुरा सुन्न चाहन्छन् । झुट मानिसको दिमागमा यसरी बस्छ कि त्यसले गर्दा मानिस स्वयम् आफूलाई धोका दिन थाल्छ । सत्य बोल्न साहस चाहिन्छ, जसको परिणाम अप्ठ्यारो पनि हुन सक्छ ।’
जब मैले, ‘हिउँभन्दा चिसो’ नामक नाटक हेरेँ, अनि बेकोनले भनेको कुरा साँचै हो कि जस्तो लाग्यो ।
मण्डला थिएटरमा नाटक सुरु हुनुभन्दा पहिला नाटकका निर्देशक सोमनाथ खनाल स्टेजमा उक्लिए अनि सोधे, ‘आखिर सत्य के हो त ? के तपाईँले देखिरहेका सबै कुरा सत्य हुन् त ?’ उनले पनि कक्षामा हामीले गरेको तर्कवितर्क जस्तै सत्यका धेरै अनुहारहरूको कुरा गरे । अनि त्यसलाई खोज्न नाटकतिर जान अनुरोध गरे । नाटक सुरु भयो ।
नाटकमा तीन वटा पात्र मात्रै थिए । एक श्रीमान्, उनकी श्रीमती अनि उनीहरूको बच्चालाई उपचार गर्न गएका एक डाक्टर । फोनमा आफ्नो बच्चा बिरामी भएको भनेर बोल्दै गरेका गोपीलाई डाक्टरले सुन्छन् र बच्चा भेटाउन आग्रह गर्छन् । बालबच्चा सम्बन्धित रोगबारे रिसर्च गर्दै गरेका ती डाक्टर बच्चालाई हेर्न उत्साहित हुँदै गोपीको गाउँ कर्णाली पुग्छन् । लामो यात्रा गरेर बल्लतल्ल गोपीको घर पुगेका डाक्टर बच्चाको ठाउँमा एउटा पुतली देखेर क्रोधित हुन्छन् । उनलाई यो सबै झुटो लागेर आउँछ । आफूलाई बेकारमा फसाइएको जस्तो लाग्छ ।
तर नाटक हेर्दै जाँदा त्यसको अनेकौँ पत्रहरू खुल्दै जान्छन् । उनलाई झुट खेल जस्तो लागेको त्यसभित्र धेरै सत्य लुकेका थिए । रोचक कुरा के थियो भन्दा चाहिँ ती तीनवटै पात्रका आ-आफ्ना छुट्टै सत्य थिए ।
आमा हुन नपाएकी गोपीकी श्रीमतीको पनि आफ्नै सत्य थियो । बच्चा गुमाएपछि उनलाई सदमा पर्यो । बिस्तारै एउटा निर्जीव खेलौनामा उनले आफ्नो बच्चा देख्न थालिन । उनी त्यस पुतलीलाई खुवाउँथिन् । सुताउँथिन । बोकेर घर तलमाथि डुल्थिन् । एक खेलौनालाई जिउँदो मान्छे सोचेर यति माया गर्ने उनको पवित्रता नै उनको सत्य थियो ।
ती महिला यति लाचार भएको देखेर मेरो जिउ नै सिरिङ्ग भएर आयो । एउटी आमा हुनु नै कति जिम्मेवारी को काम हो । आमाको भूमिका निभाउन कति त्याग र ममता चाहिन्छ । एउटी नारी जसले कुनै दिन बालबच्चा खेलाउने सपना कोरेकी हुन्छिन्, उनको कोख खाली हुनु हाम्रो समाजमा कति मानसिक तनावको विषय हुन पुग्छ भन्ने कुरा पनि प्रस्ट छ ।
समाजले उनलाई गर्ने हेला र होच्याउँदै गरेको कुरा उनका श्रीमानमार्फत हामीलाई थाहा भयो । उनी त एक सुनसान गाउँमा बस्थिन् । त्यहीँ आफैँ रमाएर बसिरहेकी उनीलाई डाक्टरले सुरुमा काठमाडौँ गएर उपचार गर भन्छन् । तर यो सोच्दैनन् कि सहरको भिडभाड, हुलमुल र अरूको हेपाइले उनीमाथि कसरी हानी गर्छ । हामी धेरैजसो आफूले कसैको अप्ठ्यारो देख्दा उपचार गरिदिने परिकल्पना गर्छौं । तर यसको सत्य पनि अरू नै रहेछ ।
म स्वयंलाई पनि एक मानसिक रोगीले उपचार नपाओस् भन्ने सोच आउँछ भनेर कहिले लागेको थिएन । नाटक हेरेपछि त उनी जसरी खुसी छिन्, त्यसरी नै हुन दिनु नि जस्तो लाग्यो । यो नाटकले मेरो आफ्नै मूल विचारलाई नै हल्लाइदियो ।
आफ्नै संसारमा रमाएर बसेकी उनको लागि भ्रम नै सत्य बन्न पुग्छ । तर त्यो भ्रम भए पनि उनको अनुहारमा आस्था देखिन्थ्यो, उनी खुसी देखिन्थिन् ।
सत्य ती डाक्टरको पनि थियो । उनी बच्चा नै नक्कली हो भन्छन् । त्यसलाई सुन्नासाथ आमाको घृणाले सीमा लाग्छ । आफ्नो बच्चालाई नक्कली भनेर फाल्दिने डाक्टरलाई उनी मार्न समेत तत्पर हुन्छिन् । एउटी आमाभित्र जति माया र करुणा हुन्छ, त्यति नै गहन उनको रिस पनि हुने गर्छ । कतै न कतै माता पार्वती आफ्नो बच्चाका लागि कालीको रूप धारण गरेको पनि सम्झनामा आयो ।
तर यहाँ बच्चा केवल खेलौना हुनु डाक्टरको सत्य थियो । त्यसलाई आफ्नो बच्चा मान्नु आमाको ।
नाटक चल्दै जाँदा डाक्टर जुन अवस्थामा पुग्छन् उनलाई हेरेर विचरा भन्न मन लाग्छ । आफ्नो पत्नीलाई क्यान्सरबाट गुमाएका उनी बिचमा सोचमा परेका देखिनछन् । के उनले हार नमानेर आफ्नै पत्नीसँग अलि दिन खुसी साथ बिताएको भए उनलाई त्यति पछुतो हुँदैन थियो कि ?
उनकी पत्नीको मृत्यु हुनु पनि एउटा सत्य नै थियो । डाक्टरले यो सत्यलाई स्वीकारे ।
सत्य गोपीको पनि थियो । गोपी एउटा यस्ता पात्र हुन्, जसले दुइटै दुनियाँको फरक सत्य बुझेका थिए । आफ्नी प्रिय पत्नीलाई पीडामा देख्न नसक्नु र डाक्टरलाई नाइँ भन्न नि नसक्नु उनको द्विविधा थियो । उनी एक असल पति बन्न जे पनि गर्न तयार थिए । चाहे त्यो आफ्नी धर्मपत्नी र बाँकी संसार, दुवैलाई झुक्काएर नै किन नहोस् । आफ्नी पत्नीलाई यो संसारबाट बचाउन खोज्नु गोपीको सत्य थियो ।
बिस्तारै ती डाक्टरले गोपी र उनकी पत्नीलाई बुझ्न थाल्छन् । नाटकभरि ‘म यो मान्नै सक्दिन’, ‘असत्यलाई म सत्य कसरी भनूँ?’ भन्ने डाक्टर अन्तिममा भन्छन्, ‘यदि त्यो खेलौना जिउँदा बच्चा नहुँदो हो भने त्यसले दुइटा जिन्दगीलाई बाच्ने आधार कसरी दिइराखेको छ त?’
अनि ती डाक्टरसँगै मैले आफ्नै पनि दृष्टिकोण बदलिएको पाएँ । एउटा सानो खेलौनाको पुतलीमाथि आफ्नै सन्तान जसरी माया पोख्दै रमाई राखेका गोपी र उनकी पत्नीलाई देखेर मेरो आँखा रसायो ।
सत्य सबैको लागि फरक हुने रहेछ ।
आखिरमा हेर्दा सबै आफ्नो ठाउँमा सही थिए । उनीहरूको सत्यको बयान मात्र फरक थियो । आफूले जुन कुरामा विश्वास गर्यो, बिस्तारै बिस्तारै त्यही नै सत्यमा परिणत भएको आभास हुन्छ । सबैको सत्यको परिभाषा पनि मेल खाँदैन ।
नाटक हेरेर बाहिर निस्किँदा मेरो हात काँपिरहेको थियो । जिउ झसङ्ग भएको थियो । चेतनाले आँखा पुरै खुल्ला थिए । स्तब्ध भएर एकै छिन बाहिर भौँतारिए । नाटकमा आमा बनेर खेलेकी रेणुनाथ योगी बाहिर निस्किइन् । उनलाई गएर भेटेँ । नाटकमा आफ्नो पीडाबाट जिउनै सिरिङ्ग पार्ने गरी च्याँठिएकी उनलाई एक पटक अँगाले । लामो सास लिएँ अनि घर तर्फ लागेँ ।
सोचेँ, त्यस गाउँमा बस्ने गोपी र उनकी श्रीमतीलाई ती डाक्टरले कति बिचरा सोचेका थिए । कर्णाली जस्तो दुर्गम गाउँमा बस्ने मानिसलाई टाढाबाट हेर्दा कैयौँलाई लाग्छ होला, उनीहरूको जीवनमा केवल भोगाई मात्र छ, तर नजिक गएर बुझ्ने हो भने उनीहरूको पनि आफ्नै बेग्लै कथा छ । अनि त्यसको आफ्नै सत्य पनि ।
यसलाई नजिकबाट बुझ्नु पनि अर्को सत्य हो ।
घर फर्किँदै गर्दा बाटोमा एमिली डीकिन्सनको कविता पढेको सम्झना आयो, ‘टेल द ट्रुथ बट टेल इट स्लान्ट’ अर्थात् सत्य भन तर घुमाएर भन ।
के डाक्टरले घुमाएर भनेका भए गोपीकी पत्नीले उनको सत्य बुझ्ने थिइन ?
के घुमाएर भनेको सत्य त्यति तितो हुँदैन र ?
सत्य त सत्य नै रहन्छ, चाहे मानिसले स्वीकारोस् या नस्वीकारोस् ।
उसको लागि सत्य के हो, उसैले जानोस् ।
तपाईँको सत्य के हो ?