निजगढ विमानस्थल र बुढीगण्डकी निर्माण यथाशीघ्र अघि बढाइन्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य यथाशिघ्र अघि बढाउन सरकार प्रतिवद्ध रहेको बताए ।
बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, उपराष्ट्रपति कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नका जवाफ दिने क्रममा उनले सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री दाहालले यही असार महिनाभित्रै नै बुढिगण्डकी जलविद्युत आयोजनाको शिलान्यास गर्ने आश्वासन समेत दिए । असार महिना भित्रै सो आयोजनाको कामलाई अगाडि बढाउने गरी आयोजनास्थलमा कार्यालय स्थापना गर्ने र शिलान्यासको काम पनि सुरु गर्ने उनको भनाइ थियो ।
प्रधानमन्त्री दाहालले भने, ‘मैले यसै महिना भित्र बुढिगण्डकी जलविद्युत आयोजनालाई अगाडि बढाउनका निम्ति कार्यालय उद्घाटन गर्ने र शिलान्यास प्रक्रियापनि सम्पन्न गर्ने मैले सम्बन्धित अधिकारीलाई भनेको छु । मलाई विश्वास छ । यसै महिना भित्र बढिगण्डकी परियोजना अघि बढाउने नयाँ कार्यालयको उद्घाटन हुन्छ । मैले भन्ने त्यही हो । अर्को, निजगढ एयरपोर्टको बारेमा मैल धेरै पटक यस सम्मानित सदनमा राखेको छु । हामीले जो फाष्ट ट्रयाक निर्माण कार्य अघि बढेको छ । त्यो फाष्ट ट्रयाक निजगढ एयरपोर्टसँग लिंक गरेर अघि बढाइएको हो । त्यसकारण निजगढ एयरपोर्टलाई यथाशिघ्र अगाडि बढाउन सरकार प्रतिवद्ध छ ।’
प्रधानमन्त्री दाहालले सो आयोजनाको काम सुरु गर्नका लागि कार्यालय स्थापना गर्ने कामलाई अघि बढाउन सम्बन्धित निकायलाई आफूले निर्देशन दिइसकेको पनि संसदलाई जानकारी गराए ।