नेपाल सामु थाईल्यान्डका ८ खेलाडी शून्यमा आउट
नेपालको बलिङ सामु मलेसियामा जारी एसिसी यू–१६ इस्टर्न जोन कपमा थाईल्यान्डका ८ खेलाडी शून्यमा आउट भएका छन् । नेपालसँग २ सय २५ रनको फराकिलो अन्तरले पराजित हुनेक्रममा थाईल्यान्डका ९ खेलाडीले दोहोरो अंकमै रन बनाउन सकेनन् ।
जितको लागि २ सय ७० रनको विजयी लक्ष्य पछ्याएको थाईल्यान्ड १३.२ ओभरमा ४४ रनमा अल आउट भएको थियो । थाईल्यान्डका ८ खेलाडी शून्यमै आउट भएका थिए ।
थाईल्यान्डका ब्याटर डनुफोन फुआंयोटपिनिट १२, ईशान बानेर्जीले १६ र नतपाखान मनून ४ रनमा आउट भए । अन्य कुनैपनि ब्याटरले नेपालको बलिङ सामु खाता खोल्न सकेनन् । नेपालले १२ रन अतिरिक्त दिएको थियो । अर्थात थाईल्यान्डका ब्याटरले मात्रै ३२ रन जोडेका थिए ।
थाईल्यान्डका आशिर्वाद नारायण, जित सादा, फनुवत देसुङनोएन, रत्थसात वानिताखाम, सुथिमोन थङ्सोम, पियावत नोर्डी, चाणकर्ण बुवाजुन र सुफानत मुआंगसाई खाता नखोली आउट भएका थिए । थाईल्यान्डलाई ४४ रनमै अल आउट गर्न युवा स्पिनर सन्तोष यादवले घातक बलिङ गर्दै ह्याट्रिकसहित पाँच विकेट लिए ।
उनले १२ औं ओभरको अन्तिम बलमा सुथिमोन थाङसोमलाई एलबीडब्लू आउट, १४ औं ओभरको पहिलो बलमा प्रियावत नोर्दीलाई बोल्ड र दोस्रो बलमा सुफानत मुआंगसाईलाई एलबीडब्लू आउट गर्दै ह्याट्रिकसहित आफ्नो पाँच विकेट पूरा गरेका थिए । सन्तोषले ३.२ ओभरमा १ मेडनसहित ८ रन खर्चेर ५ विकेट लिए । स्पिनर अशोक धामीले तीन र अभिषेक तिवारीले दुई विकेट लिए ।
त्यसअघि मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ६९ रन बनाएको थियो । नेपालको जितमा निरज कुमार यादवले ४३ बलमा ७ चौका र ६ छक्कासहित ७४ रनको इनिङ खेलेका थिए ।
समूह ए मा नेपाल, थाईल्यान्ड र मलेसिया छन् । समूह बी मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनएसिया छन् । समूह ए को पहिलो खेलमा मलेसियाले थाईल्यान्डलाई १ सय १८ रनले पराजित गरेको थियो । त्यसैले समूह ए बाट नेपाल र मलेसिया दुबै सेमिफाइनलमा पुगेका छन् । नेपालले मलेसियासँग शुक्रबार खेल्नेछ।