कमल थापालाई एउटा ‘प्राकृतिक’ फिल्म सिफारिस
हुन त म यस्तो अप्राकृतिक फिल्म हेर्दिनँ भनेर कमल थापाले सजिलै भन्न सक्छन् ।
‘म सँग समय कहाँ छ ?’
उल्टै प्रतिप्रश्न गर्न पनि सक्छन् ।
‘सामाजिक मान्यता र संस्कारलाई मैले बोकिरहेको छु, बोक्न छोडेँ भने सबै काँधबाट झर्न सक्छन् । तीनलाई भुईँमा झरेर चोट लाग्यो भने मैले कसरी समाजमा मुख देखाउनु ?’
‘विवाह महिला र पुरुष बिचको पवित्र सम्बन्ध हो भन्ने कुरा मैले बचाइरहेको छु । मैले यताउता ध्यान गुमाएँ भने त्यो पवित्रता मैलिहाल्छ नि । अनि पवित्रता मैलिएको समाजमा म कसरी बस्नु ?’
‘म त दूरदर्शी मान्छे हुँ । समलिङ्गी विवाहले वैधानिकता पाउनासाथ आउन सक्ने अनेकौँ पारिवारिक झमेलाहरूलाई कसरी व्यवस्थापन गर्ने भनेर दीर्घकालीन तयारी गरिरहेको छु, बरु मिल्छ भने तपाईँ पनि आउनुहोस् ।’
‘म यस्तो विवाहले ल्याउन सक्ने सामाजिक विकृतिविरुद्ध लड्ने नयाँ राजनैतिक शक्ति बनाइरहेको छु । यो नयाँ शक्ति भोलिको लागि हो । हाम्रो भविष्यको लागि हो । तपाईँको पुस्ता र तपाईँको छोराछोरीको लागि हो । मेरो देशको लागि हो । त्यसैले आउनुहोस् ।’
त्यति भन्न जानेनन् भने पनि म कुनै मिटिङमा छु भनिदिन सक्छन् । र मलाई एक जुग पर्खाइदिन सक्छन् ।
उनी नेता हुन् । कसैले दिएको सुझावलाई कता लगेर फाल्नुपर्छ उनलाई थाहा छ ।
कसैको कुरा टार्नुपर्दा आफू कहाँ व्यस्त छु भनेर भन्नुपर्छ उनलाई थाहा छ ।
कसैको कुरा नसुन्नुपर्दा कुन कान थुन्नुपर्छ । कसैको कुरा नहेर्नलाई कसरी आँखा चिम्लिनुपर्छ ।
यतिका समयसम्म देशको विभिन्न पदमा रहिसकेका उनको लागि जाबो एउटा फिल्म हेर्न मैले दिएको सुझाव नकार्न के गाह्रो ?
तर उनले मान्दैनन् भन्ने लाग्दा लाग्दै पनि मलाई उनलाई यति बेला एउटा फिल्म सिफारिस गर्न मन लागिरहेको छ । अनि उनले सामाजिक सञ्जालमा लेखेको स्टेटसलाई मन पराउने, हो त नि भन्ने, त्यसको विरोध गर्नेलाई पनि गाली बर्साउने आदि सबैलाई उनी नै बनाए भन्न मन लागिरहेको छ;
‘एलिसा एण्ड मार्सेला’ फिल्ममा दुई युवती एक अर्कालाई प्रेम गर्न थालेको थाहा पाउँछन् ।
एक अर्काको छुवाइले अर्कै तरिकाले छोएको महसुस गर्छन् । के भएको हो भन्ने थाहा पाउँदैनन् तर जे भइरहेको हो त्यसलाई मन पराउँछन् ।
एक अर्काको शरीरका अङ्गहरूलाई चुम्बन गर्छन् । पूर्णतया नग्न भएर एक अर्काको लागि समाहित हुन्छन् । ठिक त्यसरी नै जसरी एक महिला र पुरुष एक अर्काको प्रेममा समर्पित हुन्छन् ।
उनीहरू एक अर्कासँग नजिक भएको त्यति निकटबाट हेरिरहँदा त्यो कतैबाट पनि तपाईँले स्टेटसमा भनेको जस्तो ‘अप्राकृतिक’ लाग्दैन । ‘अपवित्र’ लाग्दैन ।
प्रेम पनि कहीँ प्राकृतिक र अप्राकृतिक हुन्छ ?
बरु जब उनीहरूले एक अर्कामा भेट्टाएको प्रेमलाई घरले खेदाउन थाल्छ, अनि त्यो खेदाइले जसरी उनीहरूको मन दुखाउँछ त्यो अप्राकृतिक लाग्छ ।
घरको खेदाइमा जब समाजको खेदाई थपिन्छ त्यो अप्राकृतिक लाग्छ ।
त्यसले जसरी उनीहरूलाई आफू बसिरहेको ठाउँ छोडेर अर्जेन्टिना भाग्ने बनाउँछ त्यो अप्राकृतिक लाग्छ ।
त्यसले जसरी प्रेमको लय बोलिरहेका दुई युवतीलाई जब समाजको कर्कश ध्वनिले तर्साउँछ त्यो अप्राकृतिक लाग्छ ।
नयाँ ठाउँ पुगेर बस्दा पनि उनीहरूलाई त्यहाँका मान्छेले जसरी शङ्का गरेर हेर्छन्, त्यो अप्राकृतिक लाग्छ । उनीहरू सँगै हिँडेको कस्तो मिठो सुहाउँदा पनि मान्छेहरू जसरी उनीहरूलाई शत्रु देख्छन् त्यो अप्राकृतिक लाग्छ ।
जसरी उनीहरूको व्यक्तिगत कुरा चिहाउन थाल्छन् त्यो अप्राकृतिक लाग्छ ।
उनीहरू समलिङ्गी महिला भएर पनि समाजकै दृष्टिको कारण बच्चा पाएदेखि केही भन्न छोड्थे कि भन्ने सोचाइमा पुग्छन् । ती मध्ये एकले स्थानीय युवकसँग सम्पर्क राखेर गर्भधारण गर्छिन् ।
समाजको डरले उनले गर्नुपरेको त्यो कुरा अप्राकृतिक लाग्छ ।
त्यसरी बसाएको गर्भले समेत उनीहरूलाई बचाउँदैन । उनी मध्ये एकले पुरुषको रूप धारण गर्छिन् । पुरुषको जस्तै जुँगा लगाउँछिन् । स्थानीय पादरीलाई मनाएर उनीहरू बिहे पनि गर्छन् ।
उनीहरूले आफूलाई लुकाएर अर्को कोही बनेको त्यो क्षण बरु अप्राकृतिक लाग्छ ।
उनीहरू त्यहाँबाट भाग्ने योजना बनाउँछन् ।
तर उनीहरू अर्जेन्टिना कट्न पाउँदैनन् । पादरीलाई उनी युवती भएको थाहा हुन्छ । उनी हैन भनिरहेकी हुन्छिन् । पुरुष बनेकी युवतीलाई त्यहाँका मान्छेले समात्छन् । प्रमाणित गर्नलाई यौनाङ्ग देखाऊ भनेर झम्टिन्छन् ।
उनीहरूको त्यो झम्टाई बरु अप्राकृतिक र अमानवीय लाग्छ ।
उनीहरू जेल पर्छन् । जेलमा नै उनले छोरी जन्माउँछिन् । उनले त्यस्तो भोग्नुपर्ने अवस्थासम्म उनीहरूलाई कसले बनायो ?
त्यो अझै अप्राकृतिक लाग्छ ।
तर यो फिल्ममा दुई युवतीले जुन प्रेम गरेका छन् त्यो कतैबाट पनि अप्राकृतिक लाग्दैन । उनीहरू एक अर्काको लागि जसरी उभिएका छन् । एक अर्कको लागि जे जे गरेका छन् त्यो कतैबाट पनि अप्राकृतिक लाग्दैन । उनीहरूले फिल्ममा कतै पनि समाजलाई हानी पुर्याएका छैनन् । बरु समाजले उनीहरूलाई हानी पुर्याएको छ ।
तपाईँले फेसबुक र ट्विटरमा भनेको कुरा यो फिल्मले सन् १९०१ को सन्दर्भको कथा भनेर देखाएको छ । त्यो समाजमा मान्छेले जे भनिरहेका थिए तपाईँ अहिले त्यही भनिरहनुभएको छ ।
तपाईँले भनेको यो कुरा १०० वर्ष पुरानो बासी हो ।
यति बासी कुरामा टेकेर तपाईँले कस्तो व्यवस्था ल्याउँछु भन्न खोज्नुभएको हो ?
त्यसपछि धेरै लडाई भइसक्यो । संसारभर लैङ्गिक अल्पसङ्ख्यकहरूले आफ्नो आवाजलाई पटक पटक उठाउनु परिरह्यो । तर त्यो आवाज कहिल्यै पनि घट्दै गएन ।
स्पेनले सन् २००५ मा आफ्नो समाजको गल्ती स्वीकार्य । र कानुनमा समलिङ्गी जोडिलाई यो फिल्मका पात्र जसरी भाग्ने बाध्यता अन्त्य गरिदियो ।
लगभग २० वर्ष नै सही नेपाल पनि त्यहाँ पुगेको छ । दक्षिण एसियामा नै पहिलोपल्ट यस्तो भएको छ ।
यो हामी सबैले खुसी हुनुपर्ने कुरा हो ।
यो तपाईँ पनि खुसी हुनुपर्ने कुरा थियो ।
तर तपाईँ बेखुस हुनुहुन्छ । तपाईँलाई पछ्याउने र तपाईँले लेखेको कुरा हो त भन्नेहरू पनि बेखुस छन् । यो बेखुसी बरु अप्राकृतिक देखिइरहेको छ । असामाजिक देखिइरहेको छ ।
बेखुस मान्छेहरू रहेछन् भन्ने ठानेर तपाईँ पक्का पनि खुसी हुनुभएको होला । उनीहरूले मिलेर धमाधम यसको पक्षमा बोल्नेहरूलाई गाली गरिरहेको हेरेर मन पराउनुभएको होला ।
त्यो मनपराई बरु अप्राकृतिक देखिइरहेको छ ।
समयले यस्ता अवसर बिरलै दिन्छ । जहाँ तपाईँ खुसी र बेखुसी छान्न पाउनुहुन्छ । साँचो र झुटोप्रति उभिन पाउनुहुन्छ । तर्क र कुतर्क बिचमा छान्न पाउनुहुन्छ ।
त्यो सबै वादभन्दा माथि हुन्छ । सबै दलभन्दा माथि हुन्छ ।
त्यस्तो कुरामा खुसी हुने मान्छे सुरुमा थोरै हुन सक्छन् । तर त्यसले ठुलो सङ्ख्यामा बेखुस भएकालाई पनि जितिदिन्छ ।
तपाईँले यति बेला हार रोज्नुभएको छ तर जित्न खोजिरहनुभएको छ ।
यो बढा अप्राकृतिक देखिइरहेको छ ।
फिल्मको ट्रेलर
@SurajWritesNP