गर्मीमा क्यानोनिङको मज्जा (तस्बिरहरू)

नुवाकोट । आजभोलि मानिसहरू साहसिक खेल खेल्न उत्साहित हुन्छन् । यसमध्ये नेपालमा क्यानोनिङले पनि बिस्तारै स्थान पाउन थालेको छ ।

क्यानोनिङ डोरीको सहयोगमा तुर्लुङ्ग झुन्डिएर झरनामा भिज्दै, छाँगामा चिप्लिँदै र दहमा पौडिँदै खेलिने साहसिक खेल हो । यसका लागि झरनाको शिरमा एंकर गाडिन्छ, त्यसमा डोरी अड्काइन्छ । गाइडको निर्देशनमा त्यही डोरी समातेर पानीमा रुझ्दै तल झर्नुपर्छ । नेपालमा झरनामा खेल अभ्यास हुन थालेपछि क्यानोनिङलाई नेपालीमा ‘छाँगावरोहण’ पनि भनिन्छ ।

नुवाकोटको ककनी गाउँपालिका- ४ स्थित फुङफुङ्गे झरनामा यही असार १० गते आइतबार क्यानोनिङ मेला आयोजना गरिएको छ । सोही झरनामा असार ३ देखि १० गतेसम्म स्थानीय लगायत पर्वतीय पर्यटनमा कार्यरत पथप्रदर्शकरतको २५ जना युवा-युवतिका समूहले परिचयात्मक क्यानोनिङ गाइड तालिम पनि लिइरहेका छन् । नेपाल पर्यटन बोर्डको प्रायोजन, ककनी गाउँपालिकाको आयोजना र नेपाल क्यानोनिङ संघको सह-आयोजनामा कार्यक्रम भएको थियो ।

काठमाडौँदेखि करिब २८ किमी दुरीमा रहेको ककनी राजधानी नजिकको पर्यटकीय गन्तव्य हो। ककनी सेरोफेरो साहसिक गतिविधिमा रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकको लागि उपयुक्त स्थल रहेको नेपाल क्यानोनिङ संघका अध्यक्ष राजेन्द्र लामाले बताए । साहसिक खेल मन पराउनेहरूलाई ककनीको सेरोफेरोमा रहेको फुङफुङे, सिस्नेरी, जलजले, लौके, सनछहरे, ठुल छहरे, महाभिर लगायतका झरनाहरूमा क्यानोनिङको मज्जा लिन सकिने समेत उनले जनाकारी गराए ।

ककनीमा लोकल उत्पादन जस्तै ट्राउट माछा, स्ट्रबेरी, हरियो सागसब्जी प्रशस्त उब्जनी हुन्छ । पर्यटकहरूले स्थानीय परिकारसँगै अन्नपूर्ण, मनासलु, गणेश हिमाल, लाङटाङ, जुगल, दोर्जेलाक्पा लगायत दर्जनौँ हिमालको अवलोकन पनि गर्न सक्छन् ।

क्यानोनिङ एक साहसिक खेल’ एड्भेन्चर स्पोर्टस’ हो, जसलाई तालिम प्राप्त अनुभवी व्यावसायिक गाइड र उपयुक्त सुरक्षित उपकरणहरूको आवश्यक पर्दछ ।

के हो क्यानोनिङ ?
क्यानोनिङ डोरीको सहयोगमा तुर्लुङ झुण्डिएर झरनामा भिज्दै, छाँगामा चिप्लिँदै र दहमा पौडिँदै खेलिने साहसिक खेल हो । यसका लागि झरनाको शिरमा एंकर गाडिन्छ, त्यसमा डोरी अड्काइन्छ । गाइडको निर्देशनमा त्यही डोरी समातेर पानीमा रुझ्दै तल झर्नुपर्छ । नेपालमा झरनामा खेल अभ्यास हुन थालेपछि क्यानोनिङलाई नेपालीमा ‘छाँगावरोहण’ पनि भनिन्छ ।

क्यानोनिङ गर्दा आँट, दिमाग र धैर्यता चाहिन्छ जसको लागि विशेष पोशाक र जुत्ता लगाइन्छ । हार्नेस लगाएर फिगरएट, क्याराभेनर र जुमरको सहायताले डोरीबाट ओर्लिने गर्दछ । फिगरएटले डोरीलाई सघाउँछ, क्याराभेनर डोरी र कम्मरमा बाँधिन्छ । खेलाडीको हातमा ब्रेक हुन्छ जसले आफ्नो गति नियन्त्रण वा झरनामै रोकिएर भिज्दै रमाइलो गर्न क्यानोनर आफैँले ब्रेक लगाउन सक्छ ।

क्यानोनिङ गर्नु अघि गाइडहरूद्वारा कसरी खेल्ने भनेर सिकाउँछन् । जब डोरी समातेर ओर्लिन सुरु हुन्छ, सुरुमा केही डर हुन्छ, बिस्तारै आत्मविश्वास बढ्छ । रोमाञ्चक अनुभूति मिल्दछ । फेदमा पुगेपछि सफलता हासिल गरेकोले चरम आनन्दको महसुस हुन्छ । नेपाल क्यानोनिङ एसोसिएसन (एनसिए)का अध्यक्ष राजेन्द्र लामाका अनुसार अमेरिका, युरोप र एसियाका विभिन्न देशमा यो खेललाई  ‘एडभेन्चर हिलिङु ‘ का रुपमा प्रवर्धन गरिएको छ । ‘ क्यानोनिङले तनावबाट मुक्ति, आत्मविश्वास बढाउँछ र पानीको बहावले आनन्द मिल्छ ।’

एनसिएले नेपालका करिब चार दर्जन झरनामा क्यानोनिङको सम्भाव्यता अध्ययन गरिसकेको छ । काठमाडौँको सुन्दरीजल, नुवाकोटको ककनी, कास्कीको ल्वाङ र घलेल, लम्जुङको मर्स्याङ्दी भ्याली, काभ्रेको तेमाल, सिन्धुपाल्चोकका भोटेकोसी, धनकुटाको नमस्ते झरना, चितवनको जलजले, ओखलढुंगाको पकवली, धादिङको थाक्रे, लगायतका झरनाहरुमा सम्भाव्यता अध्ययन गरिसकेको छ । त्यस बाहेक स्याङ्जा, पर्वत , मनाङ, र सोलुमा पनि क्यानोनिङको सम्भावना रहेको उनी बताउँछन् ।

झरनैझरनाको देश नेपालमा क्यानोनिङ ‘छाँगावरोहण’ खेलको प्रचुर सम्भावना रहेको लामा बताउँछन् । क्यानोनिङको विकास गर्न सके नेपालको गाउँगाउँमा पर्यटनको माध्यमद्वारा युवाहरूलाई रोजगार प्रदान गरी मनग्य आम्दानी गर्न सकिन्छ ।

  • मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *