अचानक संसदमा विधेयक ल्याउनु सरकारको गम्भीर लापरबाही : प्रदीप यादव
काठमाडाैँ । सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले सांसदहरुलाई अध्ययन नै गर्न नदिई संसदमा छलफलमा लागि विधेयकहरु ल्याउने गरेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
आइतबार प्रतिनिधिसभाको दोसो बैठकमा बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा उनले सरकारले गम्भीर प्रकृतिका विधेयक छलफलमा ल्याउँदा आफूलाई अध्ययन गर्ने समय समेत नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । प्रमुख सचेतक यादवले सांसदलाई छलफल समेत गर्न नदिई कुनै पनि विधेयकमा संसदमा अचानक छलफलमा ल्याउने काम नगर्न पनि सरकारलाई सचेत गराए । गम्भीर प्रकृतिका विधेयक ल्याउनुअघि राजनीतिक दलबीच सरकारले व्यापक रुपमा छलफल गराउनुपर्ने उनको भनाई थियो । प्रमुख सचेतक यादवले सरकारले ल्याएको विधेयक अध्ययन नै गर्न नपाउँदा अनुमानको भरका छलफलमा भाग लिनुपर्ने अवस्था आउने गरेको गुनासो समेत गरे ।
उनले भने, ‘निश्चित रुपमा यो सरकारको धेरै लापरबाही हो । अचानक यस्ता गम्भिर विधेयकहरु आउँछन । जसको चाँही हामी अध्ययन गर्न पनि पाउँदैनौं । विधेयकहरु पनि समयमा हातमा आउँदैनन् । र, अन्दाजको भरमा हामीले बोल्नु पर्छ । कहाँकहाँबाट हामीले विधेयकको पनि व्यवस्था गर्नु पर्छ । वास्तवमा यो आउनुपर्ने कुरा चाँही हो । तर यो व्यापक छलफल गरेर नै ल्याउनुपर्ने थियो । किनकी यसमा एकतर्फी रुपमा मात्रै गएर हुँदैन सभामुख महोदय ।’
प्रमुख सचेतक यादवले विधेयकहरुमाथि अन्दाजको भरमा सांसदहरुले बोल्नुपर्ने अवस्था आउन नदिनेतर्फ सरकारले ध्यान दिनुपर्ने बताए ।