हवाई इन्धनमा १० प्रतिशत विमानस्थल पूर्वाधार विकास कर लगाउनुपर्छ : सांसद सुवाल
काठमाडाैँ । प्रतिनिधि सभा सदस्य प्रेम सुवालले हवाई इन्धनमा १० प्रतिशत विमानस्थल पूर्वाधार विकास कर लगाउनुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक २०८० माथिको छलफलमा बोल्दै प्रतिनिधि सभा सदस्य सुवालले हवाई इन्धनमा १० प्रतिशत विमानस्थल पूर्वाधार विकास कर लगाउनुपर्ने बताएका हुन् । उनले सार्वजनिक यातायातमा भने पूर्वाधार विकास कर लगाउनु नहुने बताए । उनले रु. ३०० सम्मको सिमकार्ड रिचार्जमा २ प्रतिशत शुल्क नलाग्ने गर्नुपर्ने बताए । त्यस्तै निजी दूरसञ्चार प्रदायक राज्यको स्वामित्वमा ल्याउनुपर्ने पनि बताए ।
उनले भने– ‘विदेशबाट ल्याइने चिनीमा कर लाग्छ । तर चामलमा लाग्दैन । चामल भनेर चिनी भित्रीरहेको अर्थमन्त्रीलाई कसरी थाहा भएन ? मिलेमतो भनेको यही होइन र ? सत्तापक्षकै गठबन्धन दलका नेताहरुलाई चित्त बुझाउनका लागि अर्थ विविध भनेर ७३ अर्ब रुपैयाँ राखेको रहेछ । क–कसको बीचमा भागबन्डा हुने हो ? यसरी पैसा राख्न मिल्छ ? बिना शिर्षक । एक किसिमको यो अनियमितता हो । प्रगतिशिल कर प्रणाली यसमा छैन । हवाई इन्धनमा १० प्रतिशत विमानस्थल पूर्वाधार विकास कर लगाइनुपर्छ । सार्वजनिक यातायात भनेको गरिब चढ्ने हो, त्यहाँ पूर्वाधार विकास कर लगाइनु हुँदैन । रु. ३०० सम्मको सिमकार्ड रिचार्जमा २ प्रतिशत शुल्क नलाग्ने गर्नुपर्छ । निजी दूरसञ्चार प्रदायक राज्यको स्वामित्वमा ल्याउनुपर्छ ।’
उनले बिदेशबाट ल्याउने चामलमा कर नलाग्ने भएकाले चिनीलाई चामल भनेर कर छली गरी भित्राइरहेको बताए ।
त्यस्तै छलफलमा बोल्दै प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले आर्थिक वर्ष २०८०/८१ को बजेट गरिबको लागि नबनेको बताइन् । उनले खानेकुरामा समेत कर लगाइएको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।
उनले भनिन्–‘बजेट गरिबको लागि बनेको हुँदै होइन । खानेकुरामा कर लगाइएको छ । किसानको पक्षमा बजेट नआएको । अर्थ विधेयकमा गरिब मान्छेका लागि साच्चै केही छैन ।’
उनले अर्थ विधेयकमा गरिब मान्छेका लागि केही नभएको बताइन् ।