प्रधानमन्त्री प्रचण्डले भदौमा चीन भ्रमण गर्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो भदौ महिनामा चीनको भ्रमण गर्ने भएका छन् । प्रेस युनियनले कैलालीको धनगढीमा सोमबार गरेको पत्रकार सम्मेलनका क्रममा परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री सेप्टेम्बर(भदौ)मा चीन भ्रमणमा जाने तयारी भएको बताएका हुन् ।

‘प्रधानमन्त्रीजीको चीन भ्रमण पनि हुँदैछ,’ उनले भने, ‘सेप्टेम्बरमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा केही उपलब्धि हुनेछ । उत्तरतिर चीन आर्थिक र राजनीतिक रुपमा पनि उदाएको छ । चीनको विकासको छलाङलाई नेपालमा पनि उपयोग गर्न सक्नुपर्छ।’

उनले चीन र भारतको उदाउँदो अर्थतन्त्रबाट नेपालले लाभ लिन सक्ने भन्दै अब सबैलाई स्वीकार्य हुने परराष्ट्र नीति बनाउने उल्लेख गरे ।

‘भारतसँग नेपालको सामाजिक र सांस्कृतिक सम्बन्ध पनि छ,’ उनले भने, ‘पारवहनका लागि चीन र तेस्रो मुलुकबाट हुने व्यापार हिन्द महासागरबाट हुन्छ’, उनले भने, ‘चीन र भारतको उदाउँदो अर्थतन्त्रबाट लाभ लिन सक्छौँ । दल विशेषको परराष्ट्र नीति र नेता विषेशको सम्बन्ध भएर हुँदैन । अब सबै दललाई स्वीकार्य हुने परराष्ट्रनीति बनाउँछौँ ।’

उनले आफू सोमबारै अजरबैजान जान लागेको पनि बताए ।

‘नेपाल असंलग्न परराष्ट्र नीतिमा हिँडेको छ, सैनिक गठबन्धनमा पनि तटस्थ छ,’ उनले भने, ‘अजरबैजानको बाकुमा हुने परराष्ट्रमन्त्री स्तरीय सम्मेलनमा आजै जाँदैछु । असंलग्न आन्दोलनलाई चिनाउन पनि म कुरा उठाउने छु।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *