कृषि समितिभित्र सिंचाई र जलश्रोतका विषय नसमेटिएको भन्दै सभामुखको ध्यानाकर्षण

काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिभित्र सिंचाई र जलश्रोत मन्त्रालयको विषय आउनुपर्ने माग गर्दै समिति सदस्यहरुले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् ।

सोमबार सिंहदरबारस्थित सभामुखको कार्यालयमा भेट गरी समिति सदस्यहरुले समितिभित्र सिंचाई र जलश्रोत मन्त्रालय आउनुपर्ने माग गरेका हुन् । उनीहरुले वर्तमान नियमावलीमा समितिको अधिकार क्षेत्रमा सिंचाई र जलश्रोत मन्त्रालय नपरेकाले नियमावली नै परिवर्तन गर्नुपर्ने अवस्था रहेको भन्दै सभामुख घिमिरेको ध्यानाकर्षण गराएको समितिका ज्येष्ठ सदस्य अम्मरबहादुर थापाले बताए । उनले सभामुखसँगको भेटपछि सभामुख घिमिरेले आफ्नो ध्यानाकर्षण भएको बताएको जानकारी दिए ।

उनले कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिमा उर्जा र सिंचाईका विषय समेटिनु जरुरी रहेको बताए ।

उनले भने, ‘कृषि समितिसँग पहिलैदेखि सिंचाई र जलश्रोत मन्त्रालय कृषि समितिमा थियो । अहिलेको नियमावलीमा त्यो कट अफ भएको छ । कृषिसँग सिंचाई भएन भने यी दुईबीच अनन्य सम्बन्ध छ । त्यो सम्बन्ध हुने भएकाले कृषि मन्त्रालयभित्र सिंचाई आउनुपर्छ । यो नियमावली नै परिवर्तन गर्नुपर्ने अवस्था छ । सभामुखज्युलाई यसमा ध्यानाकर्षण गराएका छौँ । यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ, त्यो म गर्छु भनेर सभामुखज्युले भन्नुभएको छ । यसलाई कसरी व्यवस्थापन गर्ने, यो नियमावली नै परिवर्तन गर्नुपर्ने अवस्था आउनसक्ने छ, तत्कालै यो हुनसक्छ भन्ने होइन, यसमा मेरो ध्यानाकर्षण भएको छ भन्नुभयो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *