यौनक्रीडा देखिने ऐनामार्फत कोङ्कणाले देखाएको दुई समाज
फिल्ममा दुइजना महिला छन् ।
इशिता घरको मालिक हुन् । उनी प्रतिष्ठित कम्पनीमा काम गर्छिन् ।
सीमा दिदी घरेलु मजदुर हुन् । उनी तीनै प्रतिष्ठित महिलाको घरमा काम गर्छिन् ।
उनीहरू दुई महिला मात्र हैन दुई वर्ग हुन् । दुई समाज हुन् । शहरभित्रकै दुई शहर हुन् ।
उनीहरू दुवैजनाको भेट अरू बेला हुँदैन । हुँदा पनि एक अर्काबारे धेरै कुरा थाहा हुनेगरी हुँदैन । उनीहरू दुवै महिला हुन् । दुवैका दबित इच्छाहरू छन् । तर तीनको पनि एक अर्कालाई चिन्ने गरी भेट हुँदैन । उनीहरूको सम्बन्ध विशुद्ध कामसँग छ । विशुद्ध व्यावसायिक छ ।
इशिताको घरको चाबी सीमाको हातमा हुन्छ । तर पनि उनीहरूको एक अर्काबारे थाहा हुनेगरी भेट हुँदैन । मुम्बई सहरमा चाबी दिएकै मान्छेसँग पनि भेट हुँदैन । मुम्बई जस्तै बन्दै गएका हरेक शहरमा एउटै कोठाको चाबी भएका मान्छेसँग पनि भेट हुँदैन । वा हुनलाई कुनै स्वार्थ मिल्नुपर्छ । वा कुनै कथा मिल्नुपर्छ ।
उनीहरूलाई सम्बन्धित बनाउने चिज नै चाबी हो । शहरको कस्तो विरोधाभास ।
एउटै शहरभित्र भएका दुई शहरको अन्तर देखाएको थियो, जोया अक्तरको ‘गल्ली ब्वाई’ ले । त्यहाँ रणवीर सिंहले निर्वाह गरेकाे चरित्रले धनी मान्छेको घरमा गाडी चलाउँछ । एउटा दृश्यमा उ मालिककी छोरीलाई पार्टीमा लिएर गएको हुन्छ । तर पार्टी नसकिँदै युवती फर्किएर कारमा आउँछिन् । र रुन थाल्छिन् । उ उनी रोएको ब्याक लुकिङ ग्लासमा देख्छ । तर ‘के भयो ?’ भनेर सोध्न सक्दैन । बरु उनलाई लिएर घरतिर लाग्छ । उसको आँखाले कारको ब्याक लुकिङ ग्लासमा पटक पटक हेरिरहेको बेला एउटा गीत बजिरहेको हुन्छ ।
‘देखो त हम पास है लेकिन
सोचो कितनी दुरी है
यै कैसे मजबुरी है ।’
‘गल्ली ब्वाई’ले देखाएको जस्तो मुम्बइको दुई शहरलाई काेङ्कणा सेन शर्माले ‘लस्ट स्टोरिज’ सिरिज दुइको दोस्रो फिल्म ‘द मिरर’ मार्फत देखाएकी छन् । उनले त्यो अन्तर देखाउनलाई यौनलाई माध्यम बनाएकी छन् । दुई वर्गबिचको यौनजीवनलाई एक अर्काको सामुन्ने ल्याउँदै उनले शहरमा कसले कसलाई हेर्छ अनि को कसबाट हेरिँदै छ भन्ने कुरालाई खोतलेकी छन् ।
नजिकै भए पनि शहरको दुई वर्गको बिचमा भेट हुँदैन । उनीहरूको सपना मिल्दैन । उनीहरू जाने ठाउँ मिल्दैन । बस्ने ठाउँ मिल्दैन । सुत्ने ठाउँ मिल्दैन ।
यौनसम्पर्क गर्ने ठाउँ पनि मिल्दैन ।
यो फिल्ममा सीमा दिदी बस्ने ठाउँ मुम्बइको स्लम एरिया हो । उनीहरूको घरमा ठाउँ सानो छ तर धेरै मान्छे छन् । सबैजना भुईँमा सुत्छन् । त्यसको ठिकविपरीत इशिता बस्ने ठाउँ ठुलो छ तर उनी एक्लै बस्छिन् ।
कस्तो विरोधाभास ।
सीमा दिदीको घरमा यौन सम्पर्क गर्ने वातावरण छैन । उनी र उनको श्रीमान् सँगै सुतिरहेको नजिकै अर्को कोही मान्छे घुरेको सुनिन्छ । इशिताको घरमा ठाउँ छ तर उनीसँग कोही पनि पार्टनर छैन ।
अर्को विरोधाभास ।
यो फिल्मले समाजको सबैभन्दा ठुलो आवश्यकताको रूपमा रहेको यौनलाई बलियो माध्यम बनाउँदै समाजमा रहेका दुई वर्गबिचको सङ्घर्ष देखाएको छ । सीमा दिदीको लागि यौनसम्पर्क गर्ने सुरक्षित ठाउँ भेट्नु सङ्घर्ष हो । उनको त्यो सङ्घर्षले उनलाई आफ्नै मालिकको बेडसम्म पुर्याउँछ ।
इशिताका लागि उपयुक्त पार्टनर भेट्नु सङ्घर्ष हो । उनी डेटिङ साइटमा आफ्नो प्रोफाइल बनाउँछिन् । तर उनीसँगै बसेर रोइदिने मान्छे छैन । उनले फिल्मको सुरुवातमा साथीसँग फोन गर्दा उनी र उनको श्रीमान् बिचको झगडाको कुरा सुनेकी छन् । उनी कसैलाई पनि आफ्नो स्पेसमा ल्याउन सक्नेवाला छैनन् । उनकी कम्पनीको हरेक कुरा पर्फेक्ट बनाउन भन्छिन् । उनको आफ्नै जीवन पर्फेक्ट छैन ।
त्यसैले एकदिन चाँडो घर आउँदा आफ्नो बेडमा सीमा दिदी र उनको श्रीमानले यौनसम्पर्क गरिरहेको देख्दा पनि उनी केही भन्दिनन् । बरु लुकिलुकी उनीहरूलाई हेर्न थाल्छिन् ।
उनी एक महिनासम्म लगातार त्यसरी नै हेरिरहन्छिन् । उनीहरूलाई हेरेर आफ्नो दबित यौन इच्छा पूरा गरिरहन्छिन् । उनीहरूलाई हेर्दै आफू हस्तमैथुन गरिरहन्छिन् ।
उनले उनीहरूलाई देखेर पनि नदेखेको जस्तै गरेको कुरालाई पनि धेरै हिसाबले विवेचना गर्ने ठाउँ छ । उनी त्यतिन्जेलसम्म हेरिरहन्छिन्, जबसम्म उनी पक्राउ पर्दिनन् । पक्राउ पर्नासाथ भने उनको वर्गीय कुरा बाहिर आउँछ । उनी पहिला त आफूले किन हेर्ने र भन्दै जिद्दी गर्छिन् । पछि केही नलागेपछि ‘म तँ जस्तालाई हेर्छु ।’ ‘मलाई तँदेखि घिन आउँछ’ भन्ने सम्मको कुरा गर्न थाल्छिन् ।
उनी आफूले गरेकै कुरा पनि गरेको भनेर भन्न सक्दिनन् । कस्तो विरोधाभास ।
उनी समाजको कुलिन वर्गको प्रतिनिधि हुन् । सम्भ्रान्त वर्गले जहिल्यै पनि आफूभन्दा तल्लो वर्गलाई आफ्नो मनोरञ्जनको साधन बनाउँछ । त्यतिन्जेलसम्म बनाउँछ जतिन्जेलसम्म तलको वर्गले विरोध गर्दैन ।
सँगै फिल्ममा अर्को लेयर पनि छ । केहीदिनसम्म इशिताले उनीहरूलाई हेरिरहेकी थिइन् । तर त्यसपछि भने सीमालाई पनि आफूहरूलाई उनले हेर्दैछिन् भन्ने थाहा हुन्छ । उनी पनि थाहा पाइसकेर पनि केही भन्दिनन् । उनी पनि सबै कुरा हुन दिन्छिन् । किनकि त्यो कुरा भनेर उनलाई पनि आफ्नो भइराखेको जागिर गुमाउनु छैन । अनि उनले आफ्नो मालिक्नीभन्दा माथि पुग्ने एउटा ठाउँ भेट्टाएकी छन् ।
इशिताले पनि आफ्नो फाइदा उठाइरहेको छ भन्ने थाहा हुँदाहुँदै पनि उनी पनि आफूलाई हेरिन दिन्छिन् । उनी आफ्नो स्वार्थको लागि अर्काको स्वार्थमा आफूलाई पर्न दिन्छिन् । खासमा शहरले गर्ने नै यही हो । यसले दुई फरक स्वार्थलाई भेट गराउँछ । धेरै मानिसहरूको बिचमा मान्छे मान्छे भेट्दैनन् । स्वार्थ स्वार्थ भेट्छ ।
जबसम्म स्वार्थ मिलिरहन्छ तबसम्म भेट्छ ।
उनीहरू दुवैले एक अर्कालाई हेर्न ठाउँ छ ।
इशिता एकातिरको भित्तामा राखेको ऐनामा उनीहरूलाई देख्छिन् । सीमा अर्को भित्तामा राखेको ऐनामा इशितालाई देख्छिन् । दुई भित्ता अर्थात् फिल्मको एउटा सटमा देखाएजस्तो एकातिरको गगनचुम्बी भवन । अर्कोतिरको स्लम एरिया । एकातिरको एउटा वर्ग अर्कोतिरको अर्को ।
शहरमा दुई वर्ग एक आपसलाई हेरिरहेका छन् । एकले अर्कोलाई प्रयोग गरिरहेको छ भन्ने थाहा पाइरहेका छन् । तर पनि आफ्नो स्वार्थको एकले अर्कोलाई प्रयोग गरिरहेका छन् ।
हेर्दा सामान्य लाग्ने तर मानिसलाई गाइड गर्ने सबैभन्दा ठुलो विषयलाई बलियो ट्रिटमेन्ट दिएर कोङ्कणाले सहरमा बढ्दो वर्ग सङ्घर्षको जरा पहिल्याएकी छन् । यहाँ कसले कसलाई हेर्दैछ अनि को कसबाट हेरिँदै छ भन्ने सामाजिक ‘गेज’लाई पनि देखाएकी छन् ।
देख्दा फरक फरक देखिए पनि उनीहरूले बाँचिरहेको जीवन गहिरोगरी हेर्दा लगभग उस्तै छ । उनीहरू दुवै एक अर्कामा निर्भर छन् । अनि सँगै स्केल फरक होला तर उनीहरूले गरिरहेको सङ्घर्ष पनि उस्तै छ । इशितालाई सुरुमा फोन गर्ने साथीले कार र घरको चक्करमा परेर आफ्नो फाइनान्सहरू जटिल बन्दै गरेको सुनाएकी छन् । सीमा दिदीको घरमा पनि उस्तै सङ्घर्ष छ । दुवैले फरक स्केलमा तर उस्तै खाले पुँजीवादी समस्या झेलिरहेका छन् ।
किनकि दुवै पुँजीवादकै उपज हुन् । उनीहरूको हेराई । उनीहरूको भेट । उनीहरूको संवाद । उनीहरूको झगडा । उनीहरूको एक अर्कालाई तल गिराउने व्यवहार । सबै सबै पुँजीवादको उपज हो ।
काेङ्कणाले फिल्ममा चलाएका धेरै सबटेक्स्टहरू उत्कृष्ट छन् ।
एउटा दृश्यमा सीमालाई इशिताको फोन आउँछ । त्यतिबेला उनी लुगा धुँदै हुन्छिन् । त्यो फोन आउँदासम्म उनलाई इशिताले आफूलाई हेरिरहेकी छन् भन्ने थाहा भएको थिएन । उनले थाहा पाइन् होला कि भनेर शङ्का मात्र गरेकी थिइन् । त्यतिबेला आएको एउटा फोनले पनि उनको अनुहारको रङ उडाइदिन्छ । उनलाई आफ्नो जागिर जान्छ कि भन्ने शङ्का लाग्छ ।
जब फोनमा माउसुली देखेर डराएर बोलाएको हो भन्ने थाहा हुन्छ उनको अनुहार बल्ल उज्यालो हुन्छ ।
शहरमा निम्न वर्गको जीवन कति सजिलै धराशायी हुन सक्छ भन्ने कुरा पनि यो दृश्यमार्फत फिल्मले देखाउँछ । किनकि उनीहरूको आम्दानी केही मान्छेको निर्णयमा फरक पर्ने वाला छ ।
अनि उच्च वर्गको डर सबैभन्दा कमजोर कुरामा छ । त्यसबाट बाहिर निस्किन उनीहरूलाई तल्लो वर्गको नै आवश्यकता पर्छ ।
सीमा र उनको श्रीमानलाई पक्राउ गरेपछि इशिता उनीहरूलाई गाली गर्छिन् । जब उनी पनि जवाफ फर्काउँछिन् उनी उनको श्रीमानलाई भन्छिन् ‘आवाज कम गर्न लगाऊ ।’ उनी आफूले गरेको गल्ती हैन भन्ने बनाउन आवाज कम गर्न भन्छिन् । तर सीमा आवाज कम गर्दिनन् ।
बेलाबेला हाम्रो समाजमा माथिल्लो वर्गको मान्छेले अपराध गर्ने अनि तलको वर्गलाई बयान फेर्न लगाऊ भनेको जस्तै लाग्छ यो दृश्य ।
उनी अझ अर्को दृश्यमा भन्छिन्, ‘मैले हेरेको भनेर तिमीले भने नै पनि कसले पत्याउँछ ?’
अर्थात् सम्भ्रान्त वर्गले गरेको अपराध उसले गर्यो होला भनेर कसले पत्याउँछ ?
तर उनले भनेको भन्दा ठुलो असर सीमाले उनको बारेमा भनेको कुराले गर्छ ।
फिल्मको अन्तिमतिर उनीहरूको भेट हुन्छ । तरकारी किन्ने ठेलामा ।
अक्सर शहरलाई सन्तुलनमा ल्याउने ठाउँ त्यही हो । सार्वजनिक ठाउँ । सबैजना आइपुग्नै पर्ने ठाउँ । खानेकुरा किन्ने ठाउँ ।
उनीहरूको त्यहाँ भेट हुन्छ । के बोल्ने भन्ने असमञ्जस्यमा पर्दै पनि उनीहरू बोल्छन् । एक अर्काको खबर सोध्छन् । इशिता उनको सन्तानको खबर सोध्छिन् ।
अनि धेरै कुरा मौनताले भन्दै आफ्नो घरको चाबी थमाउँछिन् ।
त्यहाँ आइपुग्दा उनीहरू फेरी एकचरण एकले अर्कालाई प्रयोग गर्न दिन राजी भएका छन् ।
जसरी शहरमा भएका हरेक वर्गका मान्छेहरू पनि अर्को झगडा नहुन्जेलसम्म एक अर्कालाई प्रयोग गर्न दिन राजी हुन्छन् ।
उनीहरू एक अर्कालाई बुझेर राजी भएको भन्दा पनि धेरै एक अर्काजस्तो सजिलो अर्को कोही नभएर राजी हुन्छन् ।
र फिल्मको ‘ओपन इन्डिङ’ ले भनेझैँ आफ्नो सन्तुष्टिको लागि एक अर्कालाई हेर्ने क्रम चलिरहन्छ ।
जसरी क्रोनिक क्यापिटलिजम अर्थात् दलाल पुँजीवादमा एकले अर्कोको स्वार्थको लागि शासन गर्ने र शासित हुने क्रम चलिरहन्छ ।
@SurajWrites