सिजनमै किसानलाई मल दिन नसके सरकारले न्याय दिएको ठहरिँदैन : सांसद कार्की
काठमाडौँ । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले समयमा नै किसानहरुलाई रासयनिक मल उपलब्ध गराउन नसके समितिको छलफलको सार्थकता नरहेको बताएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको सिजनमा समयमा नै मल दिन नसके किसानप्रति सरकारले न्याय गरेको नठहरिने बताए । सरकारले बजेट वा अन्य कुनैपनि बहानामा मल कृषकलाई दिन नसक्नु समग्र कषि प्रणालीकै लागि राम्रो नहुने बताए । उनले मल वितरण प्रणालीमा कुनै अनियमितता भएको भए अनियमितता गर्नेहलाई कारबाही गर्न आग्रह गरे ।
उनले भने, ‘जस्टिल डिले इज जस्टिस डिनाइट भन्छ । हामीले समयमा न्याय दिन सकेनौँ भने त्यो न्याय दिएको अर्थ छैन । अहिले मलको छलफल चलिरहेको छ, हामीले छलफलमा मात्रै समय दिएर कृषकलाई अहिलेको सिजनमा मल दिन नसके यो छलफलको कुनै सार्थकता हुँदैन । बजेटको वा कुनै बहानामा मल कृषकलाई दिन नसक्नु राम्रो हुँदैन । त्यसमा कुनै अनियमितता भएको छ भने कारबाही हुनुपर्छ । मललाई यो वा त्यो बहानामा आपूर्तिबाट रोक्ने काम गर्नु हुँदैन ।’
सांसद कार्कीले नेपाल अनुदानको संस्कृतिमा रमाउने कुरामा बढी केन्द्रित हुँदै गएको र देशका उर्वर जमीनलाई सुख्खा जमीनमा परिणत गर्ने संस्कृति मौलाउँदै गएको भन्दै चिन्ता व्यक्त गरे ।