राष्ट्रिय सभाको बैठकमा आज पनि एमालेको अवरोध, २४ गते बस्ने गरी बैठक स्थिगित
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार पनि राष्ट्रिय सभा बैठकमा अवरोध जारी राखेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै लगातार ३ दिनदेखि एमालेले संघीय सदनका दुवै सभाको बैठक अवरोध गर्दै आएको छ ।
एमालेका सांसदहरुले अवरोध गरेका कारण राष्ट्रिय सभाको बैठक शुक्रबार पनि नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । राष्ट्रिय सभामा सरकारले ल्याएको विनियोजित विधेयकमाथि छलफल गर्ने कार्यक्रम थियो ।
विनियोजन विधेयकमाथि छलफलेको पूर्वनिर्धारित कार्यतालिका परिवर्तन गरी असार २४ गते छलफल गर्ने र २५ र २६ गते मन्त्रीले जवाफ दिने कार्यतालिका निर्धारण गरिएको छ ।
२४ असारमा बैठक बस्ने गरी शुक्रबारको बैठक स्थगित गरिएको छ ।
बैठकको सुरुमै बोल्दै एमालेकी सांसद विमला घिमिरेले आफ्नो पार्टीले कुनै आग्रह, पूर्वाग्रह र कुण्ठाले भन्दा पनि राष्ट्र र जनताको स्वाभिमान र संसदको गरिमाको रक्षा गर्नका लागि प्रधानमन्त्री दाहालको राजीनामा नआएसम्म संसद बैठक चल्न नदिने अडान लिनुपरेको बताइन् ।
यस्तो एमाले सांसद विमलाको धारणा
‘प्रधानमन्त्रीको अभिव्यक्तिले आज हाम्रो सामाजिक सञ्जालमात्रै होइन । पूर्व मेचीदेखि महाकालीसम्म, हिमालदेखि तराईसम्म निकै विरोध भईरहेको छ । र, नेपालको स्वतन्त्रता, सार्वभौमिकता, राष्ट्रियता, स्वाधिनता र भौगोलिक अखण्डता र नेपाली जनताको स्वभिमानमाथि आँच आउने गरी दिइइको यो अभिव्यक्तिले सारा स्वाभिमानी नेपालीहरुको शीर झुकेको छ । सम्माननीय अध्यक्षज्यू, यो भनाईले हाम्रो देशको सम्मानित संसद र सांसदहरुको समेत अपमान मात्र भएको छैन । यसले संविधानको धारा ५को समेत आकर्षित भएको छ । सम्माननीय अध्यक्षज्यूमार्फत् म सोध्न चाहन्छु–नेपालको प्रधानमन्त्री जनताद्वारा चुनिएको यो सार्वभौम संसदले बनाउने हो कि कतै दिल्लीलाई खुशी बनाएर पाउने हो ? के साँच्चै भारतका लागि कम्फटेवल सरकार दिल्लीबाटै बनेको हो त ? यो प्रश्न गम्भिर रुपले नेपाली जनताले उठाईरहेका छन । हामीले कुनै आग्रह, पूर्वाग्रह र कुण्ठाले यो गरिमामय सदन अवरुद्ध गरिरहेका छैनौं । हामी त नेपालको सार्वभौमिकता र संसदको गरिमाको रक्षा गर्नु हाम्रो दायित्व हो भनेर यो भूमिका निर्वाह गरिरहेका छौं । यो राष्ट्र निर्माणमा हाम्रो वीर पूर्खा भक्ति थापा, अमरसिंह, वीर बलभद्रलगयतको रगत र पसिना बगेको छ । कहिले कसैको उपनिवेश नभएको हाम्रो मुलुकमा देशकै सम्माननित पदमा रहेर प्रधानमन्त्रीले दिएका आत्मसमर्पणवादी अभिव्यक्तिले हाम्रो दल नेकपा एमालेको गम्भिर ध्यानाकर्षण भएको छ । र, यसमा हामी गम्भिर असहमती जनाईरहेका छौं । आफ्नै पदका लागि आत्मसमर्पण गर्ने प्रधानमन्त्रीद्वारा नेपाली जनतालाई शासित हुन दिन सक्दैनौं । त्यसैले प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिक अधिकार गमाई सक्नु भएका प्रधानमन्त्रीले तत्काल राजीनामा दिनु पर्छ । राजीनामा नआएसम्म आजको कार्यसूचि फेरीपनि अगाडि नबढाईयोस् । म सम्माननीय अध्यक्षज्यूको ध्यान आकर्षण गराउनु चाहन्छु ।’