धनकुटामा खानेपानीको मुहान संरक्षणका लागि थालियो वृक्षारोपण अभियान (तस्बिरहरू)

धनकुटा । धनकुटामा खानेपानीको मुहान संरक्षणका लागि वृक्षारोपण अभियान सुरु गरिएको छ । धनकुटा नगरपालिका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अगुवाइमा निबुवा तांखुवा जलाधार मूलाधार क्षेत्रमा वृक्षारोपण अभियान थालिएको हो ।

मुहान क्षेत्रको संरक्षण गर्दै खानेपानी समस्याको दिगो व्यवस्थापनका लागि वृक्षारोपण अभियान थालिएको धनकुटा नगरपालिकाका प्रमुख एवं खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष चिन्तन तामाङले जानकारी दिए । ‘खानेपानीको मुहान संरक्षणका लागि वृक्षारोपण थालेका छौँ, यसलाई अभियानकै रूपमा अघि बढाउँछौँ,’ मेयर तामाङले भने, ‘अब हरेक साता वृक्षारोपण र मुहान क्षेत्रको सरसफाइ गर्ने योजना बनाएका छौँ ।’

अभियानको पहिलो दिन शनिवार धनकुटा नगरपालिका-१ स्थित विद्युत् प्राधिकरणको जग्गा, आइतबारे रानी बन, चञ्चलेश्वर महादेव मन्दिर क्षेत्र र आइतबारे मुहान क्षेत्रमा वृक्षारोपण गरिएको छ । सो क्षेत्रमा धुपी, कल्की र उत्तिसका करिब १ हजार ३ सय बिरुवा रोपिएको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव अर्जुन छाराहाङले जानकारी दिए । वृक्षारोपणका लागि धनकुटाका विभिन्न स्थानबाट करिब तीन सय मानिस भेला भएका थिए ।

अब, असार ३० गते शनिवार आइतबारे मुहान क्षेत्रमा वृक्षारोपण गरिँदैछ । सो क्षेत्रमा करिब ३ हजार ५ सय हाराहारी बिरुवा रोप्ने योजना छ । खानेपानीको मुहान संरक्षणका लागि वृक्षारोपण अभियान थालिएकाले सहभागी हुन खानेपानी उपभोक्ता समितिले सबैमा आव्हान पनि गरेको छ ।

धनकुटामा दैनिक ३० लाख लिटर पानी खपत हुने गरेको छ । यहाँ ३ हजार ३ सय परिवार खानेपानीको उपभोक्ता छन् । सो जलाधार क्षेत्रबाट पानी ल्याई धनकुटाको सल्लेरी, स्कुलडाँडा, कागते र निगालेको ट्याङ्कीमा जम्मा गरेर पानी वितरण गर्ने गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *