मृग ठानेर गोली चलाउँदा आफ्नै साथीलाई लाग्यो, शव बगरमा पुरेर भागेका ६ जना प्रहरी फन्दामा 

भोजपुर । भोजपुर नगरपालिका-१२ टक्सारमा मृग ठानेर बन्दुकले हान्दा आफ्नै साथीको ज्यान गएको छ । बन्दुकले लागेर भोजपुर–१२, टक्सारका १८ वर्षीय दिप्सन प्रधानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

घटनामा संलग्न छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सरतकुमार थापा क्षेत्रीले जानकारी दिए । घटना यही असार २२ गते रातिको भए पनि गोली लागेर साथी मरेपछि उनीहरूले खोलाको बगरमा पुरेको उनको भनाइ छ ।

मानिस हराएको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा गएराति उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ‘घटना २२ गते रातिको भन्ने बुझिएको छ’, प्रहरी प्रमुख थापाले भने, ‘साथी मरेपछि अखुवा खोला बगरमा पुरेर घटना लुकाउन खोजेको अनुसन्धानबाट देखिएको छ । हामीलाई सूचना आउन साथ छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौँ । पुरिएको अवस्थामा फेला परेको शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याएका छौँ । थप अनुसन्धान जारी छ ।’

मृतकका आफन्तले यही असार २४ गते खोजीको लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएलगत्तै आरोपीलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *