पोखराको न्यूरोडमा मेयर-उपमेयरले रोपे फूलका बिरुवा, सवा करोडमा बन्यो डिभाइडर
पोखरा । पोखराको मुख्य क्षेत्र न्यूरोडको सडकमा नयाँ डिभाइडर बनाइएको छ । महानगरपालिकाले सवा करोड लागतमा डिभाइडर बनाएको हो ।
न्यूरोडलाई सुधार गर्ने र हरियाली कायम राख्न डिभाइडर निर्माण गरिएको महानगरले जनाएको छ । १ करोड १० लाखको लागतमा उक्त डिभाइडर निर्माण गरिएको मेयर धनराज आचार्यले जानकारी दिए । उक्त डिभाइडरमा सोमबार फूलका बिरुवा रोपण गरिएको छ । सभागृहदेखि चिप्लेढुंगासम्म निर्माण गरिएको डिभाइडरमा एक्जोरा नामको फूल रोपिएको हो ।
मेयर आचार्यले आफू निर्वाचित भए लगत्तै पोखरालाई फूलैफूलको शहर बनाउने घोषणा गरेका थिए । सोही अनुरूप पदस्थापनको दिन जिरो देखि हल्लनचोकसम्मको डिभाइडरमा रोपिएको फूल भने संरक्षण हुन नसक्दै सबै हराएको छ ।
मेयर आचार्य, उपमेयर मन्जुदेवी गुरुङ र महानगरका कर्मचारीहरूले बिरुवा रोपेका हुन् । सबै सिजनमा फुल्ने उक्त फूलको बिरुवालाई प्रतिगोटा ७ सय रुपैयाँ पर्छ । बिरुवाको ३ महिनासम्म वसन्त नर्सरीले रेखदेख गर्नेगरी सम्झौता भएको छ । सभागृहदेखि चिप्लेढुंगासम्म ८ सय ५० वटा बिरुवा रोपिने बताइएको छ ।