अन्धो सरकार र अटेरी विश्वविद्यालय
शिक्षा देशको भविष्य निर्माणको मेरुदण्ड हो । समाज र राष्ट्रलाई गतिशील बनाई विकास र समृद्धिको लयमा डोर्याउने मार्गदर्शक हो । हरेक देश कस्तो हुने र कस्तो बनाउने भन्ने विषय त्यहाँको शिक्षा प्रणालीले निर्धारण गर्छ । मानव समुदायलाई आधुनिकता सँगसँगै मानविकी उन्नति र प्रगति तर्फ बढ्न शिक्षाले उत्प्रेरणा दिन्छ ।
विश्व शिक्षा आधुनिकता सँगसँगै चन्द्रमामा नयाँ बस्ती विकासको योजना बुनिरहेको छ । सम्भावनाका ढोकाहरु पहिल्याउँदै छ । तर हाम्रो शिक्षा प्रणाली त्योभन्दा धेरै टाढा छ । सामुदायिक विद्यालयको शैक्षिक उपलब्धि दिनदिनै कमजोर हुँदै गैरहेको छ । सामुदायीक विद्यालयको के कुरा नेपालका विश्वविद्यालयको हालत पनि उस्तै छ ।
हुन त, नेपालमा शिक्षा विकासको इतिहास त्यति लामो छैन । करीब १६८ वर्षअघि राणा शासकका सन्तानलाई शिक्षा दिने उद्देश्यले स्थापना गरिएको शैक्षिक अनुष्ठान नै पहिलो प्रयास थियो । त्रिचन्द्र कलेजको स्थापनालाई आधुनिक शिक्षाको प्रयास मान्दा नेपालको शैक्षिक इतिहासले एक शताव्दी नाघेको छ ।
२०१४ सालमा त्रिभुवन विश्वविद्यालय स्थापनासँगै नेपाल विश्वविद्यालय शिक्षाको युगमा प्रवेश गर्यो । अहिले करीब ३५ हजार जति प्रारम्भिक बाल विकास केन्द्रलाई गणना नगर्दा पनि ३६ हजार विद्यालय, ११ विश्वविद्यालय अन्तर्गत एक हजार ४३२ कलेज, ६ स्वास्थ विज्ञान प्रतिष्ठान, एक हजार १३१ प्रविधिक तथा व्यावसयिक शिक्षालय छन् । यस अर्थमा शिक्षाले विस्तारको चरण पार गरेको छ ।
शताब्दीभन्दा लामो समय आफैमा ठूलो लगानी हो । यति ठूलो संरचना सञ्जाल शैक्षिक नेपालको आवश्यकता पूरा गर्न पर्याप्त छन्, अझ बढी छन् । अब प्रश्न गुणस्तरको मात्र छ ।
शैक्षिक गुणस्तर त्यत्तिकै प्राप्त हुँदैन । पहिलो त शिक्षाको गन्तव्यमा स्पष्टता चाहिन्छ । त्यसका लागि विशिष्टीकृत लक्ष्यको घोषणा गर्नुपर्छ । गन्तव्य र रणनीति स्पष्ट भएपछि मात्र लक्ष्य प्राप्ति गर्न सकिन्छ ।
यसैपनि हाम्रो देशका सामुदायिक विद्यालय र विश्वविद्यालयको शैक्षिक गुणस्तर राम्रो छैन । शिक्षा क्षेत्र सुधारका लागि भइरहेका विभिन्न प्रकारका तालिम, सभा, सम्मेलन, अन्तरक्रिया, छलफल, योजनाले पनि सरकारी विद्यालय र विश्वविद्यालयमा सुधार भइरहेका छैन भन्छ सरकारी तथ्यांकले ।
नेपालका विश्वविद्यालय र क्याम्पसहरूबाट विद्यार्थीहरूले चाहेको कुरा पाएका छैनन् । चाहेको कुरा नपाए नेपालमै किन अध्यायन गरुन विद्यार्थी पनि ?
देशको सबैभन्दा ठुलो विश्वविद्यालय हो त्रिभुवन विश्वविद्यालय, तर यसको अवस्था पनि लथालिङ्ग छ । न व्यवस्थापन राम्रो छ नत वार्षिक कार्यतालिका कार्यान्वयन नै हुन्छ ।
त्रिभुवन विश्वविद्यालयले परिक्षा लिएको १४/१५ महिना लगाएर नतिजा प्रकाशन गर्ने गर्छ । चार वर्षको स्नातक तह उत्तीर्ण गर्न समयमा पढाइ नहुँदा पाँच वर्ष र नतिजाका लागि थप एक वर्ष कुर्नुपर्ने अवस्था छ । यहि तरिकाबाट पढाइ हुने हो भने चार वर्षे स्नातकका लागि ६ वर्ष त कम्तीमा लागिहाल्छ, कसैले लाग्दैन भने पनि ।
त्रिभुवन विश्वविद्यालय मात्रै होइन अन्य विश्वविद्यालयको अवस्था पनि यहि छ । विश्व विद्यालयले असल शिक्षा र रोजगार दिएका छैनन् उल्टै विद्यार्थीहरूलाई पीडा दिएका छन् र अविभावकलाई ऋणको बोझ थमाएका छन् ।
विश्व विद्यालयको यो तहको लापरबाही बहसको विषय बन्नुपर्छ, बनाइनुपर्छ । तर यस बारेमा विश्वविद्यालयका पदाधिकारीहरू मौन छन् । सरकारलाई यो विषयमा कुनै चिन्ता छैन । यसबाट सबैभन्दा निरास हुने भनेको विद्यार्थी र अभिभावक नै हुन् ।
विद्यार्थीहरू विश्वविद्यालयहरूबाट के चाहन्छन् यो कुरा पूरा गर्न नेपालका विश्वविद्यालय र सरकार तुरुन्त लागि पर्नुपर्छ ।
नेपालमा विद्यार्थीहरू स्नातकपछि जागिर चाहन्छन् र कसैले स्नातकोत्तर तहमा पढ्न चाहन्छन् । तर पनि ती सपनाहरू विरलै पूरा हुन्छन् । यसमा कमजोरी कसको हो ? अवश्य समीक्षा हुनुपर्छ । कमजोरी पहिचान गर्ने गरी पारदर्शी ढंगले काम गर्न नसक्ने पदाधिकारीले बाटो प्रशस्त गरेर निकास दिनुपर्छ ।
सबैभन्दा महत्वपूर्ण काम भनेको हामीले जीवनमा अर्थ कसरी खोज्ने भन्ने कुरा सिक्ने स्थान नै विश्वविद्यालय हो । यदि कसैले हामीलाई त्यो सिकाउँदैन र हामी जीवनको बारेमा बुझ्न आफै भौतारिनु परेमा अनावश्यक रूपमा संघर्ष गर्दै जीवन बिताउँछौं । यस्तै भएको छ खाडीमा काम गर्नेहरूको अवस्था । तसर्थ नेपालमै गुणस्तरिय शिक्षा लिन र दिन सक्ने वातारण सिर्जना गर्न सरकारको ध्यान जाओस् ! लेखक श्रेष्ठ अनेरास्ववियु तनहुँ सदस्य हुन् ।