पृथ्वी राजमार्गको मापदण्ड विपरीत संरचनामा पोखरा महानगरले लगायो डोजर
पोखरा । पोखरा महानगरपालिकाले पृथ्वी राजमार्ग अन्तर्गत पोखरा पृथ्वीचोकदेखि विजयपुर खोलासम्मको मापदण्ड विपरीत संरचनामा डोजर चलाएको छ । सोमबार राजमार्गको दायाँबायाँ मापदण्ड विपरीत बनेका संरचना भत्काइएको हो ।
महानगरले मापदण्ड विपरीत बनेका संरचनाका धनीलाई १ महिना अघि नै पत्र पठाएर संरचना हटाउन भनेको थियो । तर घर धनीले अटेर गरेपछि डोजर चलाइएको मेयर धनराज आचार्यले जानकारी दिए । एसियाली विकास बैंकको सहयोगमा मुग्लीन देखि पोखरासम्मको सडकलाई ४ लेनमा विस्तार गरिँदैछ । सहरी क्षेत्रमा भने ६ लेनको सडक बन्ने छ । तर मापदण्ड विपरीत बनेका संरचनाका कारण सडक विस्तारमा समस्या भएको थियो ।
पृथ्वीचोकदेखि विजयपुरसम्म स्थायी-अस्थायी गरेर ६० भन्दा संरचना मापदण्ड विपरीत छन् । कोत्रेसम्मकै मापदण्ड क्लियर गर्ने गरी महानगरले काम सुरु गरेको आचार्यले बताए । ‘बाटोको काम हेर्न एडिबीको टोली आउँदैछ । त्यसअघि नै मापदण्ड क्लियर गरौँ भनेर डोजर लगाइएको हो,’ आचार्यले भने । विजयपुरदेखि कोत्रेसम्मको मापदण्डमा भने मुआब्जा टुंगिन बाँकी छ ।
अहिले मुग्लीन पोखरा सडकमा धमाधम काम भइरहेको छ । यद्यपि बिजुलीको तार र मापदण्ड विपरीतका घरहरूका कारण काममा अलमल भएको आयोजनाले जनाएको छ । २०८१ सालसम्म सडक विस्तारको काम सकिने लक्ष्य छ ।