प्रितम सिंहले होइन, अहिलेका प्रतिपक्षीले मलाई प्रधानमन्त्री बनाए : प्रचण्ड
प्रतिपक्षीले माग्दैमा राजीनामा दिँदा गलत प्रवृत्ति मौलाउँछ
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई अहिले प्रतिपक्षमा भएका (नेकपा एमाले, राप्रपा, रास्वपालगायत) दलले राष्ट्रपतिलाई पत्र लेखेर प्रधानमन्त्री बनाएको बताएका छन् । १८ असारमा आफूले दिएको अभिव्यक्तिबारे संसदलाई स्पष्टीकरण दिँदै उनले यस्तो बताएका हुन् ।
उनले सरदार प्रितम सिंहसँग आफ्नो सम्बन्ध पारिवारिक जस्तै रहेकोले प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन नेपालका राजनीतिक दलहरुसँग कुरा गरेको र दिल्लीमा पनि आफ्ना आफन्तहरुसँग प्रचण्ड प्रधानमन्त्री बन्नुपर्छ भन्ने भाव राखिरखेको विगतको घटनालाई स्मरण गर्ने क्रममा उक्त अभिव्यक्ति दिएको पनि स्पष्ट पारे ।
उनले भने, ‘प्रितम सिंहले तपाईँ प्रधानमन्त्री बन्नुपर्छ भन्नुभयो, उहाँले यसबारे आफू नजिक जहाँ पनि कुरा गर्नुभयो । मैले उहाँको सदासयताका लागि धन्यवाद भनेँ ।’
उनले नेपालको प्रधानमन्त्री बनाउन सक्ने व्यक्ति प्रितम सिंह नभएको पनि बताए ।
उनले प्रतिपक्षी दलले माग्नेवित्तिकै राजीनामा दिने परम्परा विकास गर्ने हो भने नेपालमा कुनै प्रधानमन्त्रीले पनि काम गर्न नसक्ने बताए ।
उनले वितगमा आफू २ पटक प्रधानमन्त्री हुँदा नैतिकताकै आधारमा राजीनामा दिएको बताउँदै आफ्नो मनले आफूले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बोध गरेको अवस्थामा एक मिनेट पनि पदमा नबस्ने बताए ।