म हास्यचेत गुमाउँदै गरेको विश्वसँग डराउँछु : मिलान कुन्देरा
चेक रिपब्लिकनमा जन्मिएका फ्रेन्च लेखक मिलान कुन्देरा हिजो बिते । उनी आफ्नो लेखनमा हुने राजनैतिक ब्यङ्ग र हास्यचेतका लागि चर्चित थिए । उनका ‘अनवियरेबल लाइटनेस अफ बिइङ’, ‘द जोक’ ‘लाइफ इज एल्सह्वेर’ जस्ता उपन्यास चर्चित थिए । सन् १९७९ मा उनको चेक रिपब्लिकन नागरिकता खोसिएको थियो जसलाई सन् २०१९ मा पुन: प्रदान गरिएको थियो ।
यो अन्तर्वार्ता अमेरिकी लेखक फिलिप रोथले मिलान कुन्देराको किताब ‘बुक अफ लाफ्टर एण्ड फर्गेटिङ’ को अनुवादित पाण्डुलिपि पढेपछि लिएका हुन् । दुई चरणमा लिइएको यो अन्तर्वार्ताको पहिलो चरण कुन्देराको लन्डन भ्रमणको दौरान र दोस्रो अमेरिका भ्रमणको दौरान लिइएको हो । दुवै भ्रमण ती देशमा उनको पहिलो भ्रमण थियो । उनी त्यहाँ फ्रान्सबाट पुगेका थिए किनकि सन् १९७५ देखि उनी र उनकी श्रीमती फ्रान्सेली शहर रेनमा निर्वासित जीवन विताइरहेका थिए । त्यहाँ उनले विश्वविद्यालयमा पढाएका थिए । अहिले उनी पेरिसमा बस्छन् । यो अन्तर्वार्ताको क्रममा उनले बेलाबेला फ्रेन्च बोले पनि धेरैजसो समय चेक भाषा नै बोले । उनकी श्रीमती भेराले अनुवादकको रूपमा काम गरिदिइन् । चेक भाषामा प्रकाशित यस अन्तर्वार्ताको अङ्ग्रेजी अनुवाद भने पिटर कुसीले गरेका हुन् । पढ्नुहोस् मकालुखबरको लागि सुरज सुवेदीले कुन्देराको वेबसाइटबाट साभार गरेर भावानुवाद गरेको उक्त अन्तर्वार्ताको सम्पादित अंश ।
फिलिप रोथ: संसार ध्वस्त हुने समय चाँडै आइरहेको जस्तो तपाईँलाई लाग्छ ?
मिलान कुन्देरा: तपाईँले ‘चाँडै’ भनेर के भन्न खोज्नुभएको त्यसले यसको जवाफ फरक पर्छ ।
रोथ: भोली वा पर्सि नै ।
कुन्देरा: संसार विध्वंसतिर तानिँदै छ भन्ने जुन भावना छ यो सदियौँ पुरानो हो ।
रोथ: त्यसो भए हामीले पिर गर्नुपर्ने केही छैन ।
कुन्देरा: ठ्याक्कै त्यस्तो पनि हैन । यदि त्यो डर मान्छेको दिमागमा सदियौँदेखि छ भने पक्का पनि यो कुरामा केही त हुनुपर्छ ।
रोथ: मलाई लाग्छ जुनसुकै घटनामा पनि यो विषयप्रतिको चिन्ता तपाईँको पछिल्लो किताबका कुनै न कुनै कथाको पृष्ठभूमि भएर आएकै छन् । पूर्णरुपमा हास्य रस भएका कथाहरूमा समेत छन् ।
कुन्देरा: मलाई किशोर हुँदा यदि कसैले एकदिन तेरो देश विश्वबाट गायब हुन्छ भनेको भए, म त्यसलाई आफूले कल्पना पनि गर्न नसक्ने बकवास मान्दथेँ होला । मान्छेलाई आफू अजम्मरी छैन भन्ने थाहा छ तर पनि उ उसको देशसँग कुनै प्रकारको अजम्मरी जीवन छ भन्ने सोच्छ । तर सन् १९६८ मा रसियाले हमला गरेपछि चेक रिपब्लिकका हरेक नागरिकले उनीहरूको देश थाहै नपाई युरोपबाट गायब हुनसक्छ भन्ने बुझाइको सामना गर्नुपर्यो । ठिक त्यसरी नै जसरी पछिल्ला केही दशकहरूमा ४० मिलियन भन्दा धेरै युक्रेनीहरू विश्वले चाल नै नपाई विश्वबाट हराइरहेका छन् । वा लिथुवालियाका मान्छे हराइरहेका छन् । १७ ओँ शताब्दीमा लिथुवानिया युरोपको शक्तिशाली देश थियो भन्ने तपाईँलाई थाहा छ ? अहिले रसियनहरू लिथुवानियाका जनतालाई कुनै अर्ध-दुर्लभ प्रजातिलाई राखेजसरी आफ्नो अधीनमा राख्छन् । उनीहरूको अस्थित्वको जानकारी बाहिर पुग्ने डरले उनीहरूलाई बाहिरका कसैलाई पनि भेट्न नदिने गरी वर्जित गरिएको छ । मेरो देशको भविष्य कस्तो हुन्छ भन्नेमा मलाई केही पनि थाहा छैन । एउटा कुरा निश्चित के छ भने त्यसलाई बिस्तारै आफ्नो सभ्यतातिर खिचेर गायब पार्नलाई रसियनहरू जे पनि गर्नेछन् । उनीहरू सफल हुन्छन् कि हुँदैनन् भन्ने पनि कसैले भन्न सक्दैन । तर सम्भावना छ । र त्यो सम्भावना छ भन्ने कुराको महसुस नै कसैको जीवनप्रतिको चेतलाई बदल्न पर्याप्त छ । आजकाल त म युरोपलाई पनि जर्जर र मरणशील देख्छु ।
रोथ: प्राग स्प्रिङ (चेकोस्लोभाकियाको आन्दोलन) को समयमा प्रकाशित तपाईँको उपन्यास ‘द जोक’ अनि कथासङ्ग्रह ‘लाफेबल लभ्स’ डेढ लाख भन्दा धेरै कपीमा छापिएको थियो । रसियाले आक्रमण गरेपछि तपाईँको फिल्म एकेडेमीमा पढाउने जागिर खोसियो अनि तपाईँका सबै किताबहरूलाई पनि सार्वजनिक पुस्तकालयका दराजहरूबाट बढारियो । सात वर्षपछाडि तपाईँ र तपाईँको श्रीमती केही किताब र लुगा गाडीको पछाडिको सिटमा च्यापेर फ्रान्सतिर लाग्नुभयो जहाँ गएर तपाईँ धेरै पढिएका विदेशी लेखकहरूमध्ये एक बन्नुभयो । एक प्रवासी को रूपमा तपाईँ कस्तो महशूस गर्नुहुन्छ ?
कुन्देरा: एक लेखकलाई धेरै देशहरूमा बस्ने अनुभव हुनु लाभकै विषय हो । यदि फरक फरक पाटोबाट हेरियो भने मात्र संसारलाई खास तरिकाले बुझ्न सकिन्छ । मेरो पछिल्लो किताब, जुन फ्रान्समा बसेपछि आयो, ले विशेष भौगोलिक स्पेसलाई प्रसारित गरेको छ । प्रागमा घटेका ती घटनाहरूलाई पश्चिम युरोपेली आँखाबाट हेरिएको छ भने फ्रान्समा जे भइरहेको छ त्यसलाई हेर्न प्रागको आँखा प्रयोग गरिएको छ । यो दुई विश्वको जम्काभेट हो । तर अर्कोपट्टी मेरो मातृभूमि छ जसले आधा शताब्दीमा प्रजातन्त्र, फासीबाद, विद्रोह, स्टालिनिस्ट आतङ्क अनि स्टालिनिजमको विघटन, जर्मन र रसियन आक्रमण, आम निर्वासन, पश्चिमा र तीनको आफ्नै भूमिको अवसान सबै सबै भोगेको छ । त्यसैले पनि यो आफ्नै इतिहासको बोझले डुब्दै गइरहेको छ अनि विश्वतिर गहिरो संशयले हेरिरहेको छ । अर्कोतिर फ्रान्स छ जो सताब्दीयौदेखि विश्वको केन्द्र रहिआएको छ । र आजभोलि यो महान् ऐतिहासिक घटनाहरूको अभावबाट गुज्रिरहेको छ ।
रोथ: तपाईँ फ्रान्समा एक अपरिचित जसरी बाँचिरहनुभएको छ वा सांस्कृतिक रूपमा यो तपाईँको घर बनिसक्यो ?
कुन्देरा: म फ्रान्सेली संस्कृतिबाट गहिरोगरि प्रभावित छु र यसप्रति म असाध्यै आभारी पनि छु । विशेषगरी यसका पुराना साहित्यसँग । अन्य लेखकहरूभन्दा फ्रान्सोँवा राबले मेरो लागि प्रिय छन् । अनि डिडोहो पनि । उनको ‘जाँका लु फटालिस्टे’ लाई म लरेन्स स्टर्नलाई प्रेम गर्नेजति नै प्रेम गर्छु । ती दुई त उपन्यासको रूपमा गरिएका अहिलेसम्मकै उत्कृष्ट प्रयोग थिए । अनि उनीहरूको प्रयोग दिलचस्पी, हाँसो र उत्साहले भरिएका थिए जुन कुरा अहिलेको फ्रान्सेली साहित्यमा गायब भइसकेको छ, जुन नहुँदा कलामा भएको जे ले पनि त्यसको महत्त्व गुमाउँछ । स्टर्ने र डिडोहोले उपन्यासलाई महान् खेलको रूपमा बुझेका थिए । उनीहरूले औपन्यासिक शैलीको हास्य पत्ता लगाएका थिए । जब पनि म उपन्यास यसको सम्भावनाहरूबाट रिक्त भइसकेको छ भन्ने खाले सिकाइएका तर्कहरू सुन्छु, मलाई त्यो भन्दा ठिक उल्टो भाव मनमा आउँछ । म त भन्छु इतिहासको यात्राको क्रममा उपन्यासले आफ्ना धेरै सम्भावनाहरू भेट्न नै सकेको छैन । उदाहरणको लागि स्टर्ने र डिडोहोको उपन्यासमा लुकेर बसेका उपन्यास विकासका संवेग उनीहरू पछिका धेरै लेखकहरूले समात्नै सकेका छैनन् ।
रोथ: तपाईँको पछिल्लो किताबलाई उपन्यास भनिएको छ । तर पनि यसको बारेमा लेख्दा तपाईँले यो किताब विविधताहरूको शैलीमा भएको उपन्यास हो भन्नुभएको छ । यसको मतलब के भयो ? यो उपन्यास भयो कि भएन ?
कुन्देरा: मेरो व्यक्तिगत सौन्दर्य मूल्याङ्कनले हेर्ने हो भने यो उपन्यास नै हो । तर म यो बिचारलाई कसैमाथि लाद्न भने चाहन्नँ । यसको औपन्यासिक शैलीमा टन्नै स्वतन्त्रता निहित छन् । कुनै स्टेरियोटाइप गरिएको संरचनालाई उपन्यासको एक मात्र मर्म हो भनेर मानियो भने त्यो गलत हुन्छ ।
रोथ: त्यै पनि त उपन्यासलाई उपन्यास बनाउने केही कुरा त हुन्छ । अनि त्यसले तपाईँले भन्नुभएको स्वतन्त्रतालाई पनि सीमित त पार्छ ।
कुन्देरा: उपन्यास गद्य शैलीमा लेखिएको बनावटी लामो लेखन हो जुन त्यसका लागि बनाइएका चरित्रहरूको चलखेलमा आधारित हुन्छ । उपन्यासको सीमितता भनेको यति मात्र हो । मैले यहाँ बनावटी भनेर विषयलाई त्यसका सबै पक्ष अनि त्यसको सम्भव भएसम्मको पूर्णता प्राप्त गर्ने उपन्यासकारको चाहनालाई भन्न खोजेको हुँ । व्यङ्ग्यात्मक निबन्ध, औपन्यासिक न्यारेटिभ, अटोबायोग्राफिकल अंशहरू, ऐतिहासिक सत्य, अनि काल्पनिकताको उडान, उपन्यासको बनावटी शक्ति यस्ता धेरै कुराहरूलाई बहुस्वरमा गाइएको गीत जसरी एकितृत पूर्ण चिज बनाउन सक्षम हुन्छ । किताबको एकता प्लटबाट उठ्नुपर्छ भन्ने छैन, यसलाई किताबको थिमले पनि प्रदान गर्न सक्छ । मेरो नयाँ किताबमा दुई थिम छन्, पहिलो हास्य अनि दोस्रो विस्मरण ।
रोथ: हाँस्यरस तपाईँको सधैँ निकट रह्यो । तपाईँको किताबले परिहास र व्यङ्गमार्फत हास्य प्रदान गर्छन् । तपाईँको चरित्रहरू शोकमा पर्नुको एउटा मात्र कारण हाँस्यचेत हराइसकेको विश्वसँग ठोक्किनुपरेर हुन्छ ।
कुन्देरा: मैले स्टालियन आतङ्कको बखत हास्यको महत्त्व थाहा पाएको हुँ । म त्यति बेला २० वर्षको थिएँ । म कोही मान्छेको हाँस्ने तरिकाबाट नै उ स्टालिनको समर्थक हैन अनि म उ सँग डराउनुपर्दैन भन्ने थाहा पाउन सक्थेँ । हास्य चेत उ बेला कसैलाई चिन्ने विश्वासयोग्य संकेत थियो । त्यहिबेलादेखि नै म हास्यचेत गुमाउँदै गरेको विश्वसँग डराउन थालेँ ।
रोथ: तर तपाईँको किताबमा अरू नै केही कुरा पनि छ । एउटा छोटो दृष्टान्तमा तपाईँ परीहरूको हाँसो र राक्षसको हाँसोको बिचमा तुलना गर्नुहुन्छ । राक्षस हाँस्छन् किनकि भगवानको विश्व तिनलाई अर्थहिन् लाग्छ । परीहरू खुशीले हाँस्छन् किनकि तिनको लागि भगवानको विश्वका हरेक कुराको अर्थ छ ।
कुन्देरा: हो मान्छेले आफ्नो फरक फरक तात्त्विक रवैया व्यक्त गर्नको लागि यस्तै शारीरिक हास्य अभिव्यक्तिलाई प्रयोग गर्छन् । कसैको ह्याट भर्खरै खनिएको चिहानमा राखिएको कफिनमाथि खस्दा अन्त्येष्टि प्रक्रियाको अर्थ हराउँछ अनि हास्य जन्मिन्छ । तर यदि दुई प्रेमी हातमा हात समातेर हाँस्दै हाँस्दै घाँसे मैदानमा दौडिन्छन् भने उनीहरूको हास्यको कुनै जोक वा परिहाससँग लेनदेन छैन । यो परीहरूको गहिरो हास्य हो जहाँ उनीहरूले आफ्नो हुनुलाई खुशी र उत्साहले व्यक्त गरिरहेका छन् । दुवै खाले यी हास्य आखिरमा जीवनका आनन्दहरूमा नै पर्छन् ।
रोथ: तपाईँको गद्य लेखनको एउटा विशेषता भनेको निजी र सार्वजनिकबिचको निरन्तर आमना सामना पनि हो । निजी कथाहरू कुनै राजनैतिक पृष्ठभूमिमा बन्ने वा कुनै राजनैतिक घटनाले कसैको व्यक्तिगत जीवनलाई असर गर्ने तहमा जाने जसरी हैन बरु तपाईँ तारन्तार रूपमा व्यक्तिगत घटनालाई प्रभाव पार्ने कानूनहरूले नै राजनैतिक घटनाहरूलाई पनि नियन्त्रित गरिरहेको देखाउनुहुन्छ । मतलब तपाईँको गद्य लेखन राजनीतिको पनि मनोविश्लेषण हो भन्न मिल्छ ?
कुन्देरा: मानिसको तत्वमीमांशा निजी दौरमा जस्तो हो सार्वजनिक दौरमा पनि त्यस्तै हो । मेरो यो किताबको अर्को थिम विस्मरणलाई नै हेर्नुहोस् न । मानिसहरूको सबैभन्दा ठुलो निजी समस्या यही हो कि उनीहरू मृत्युलाई स्वयंको नोक्सानीको रूपमा लिन्छन् । तर यो स्वयं भनेको के हो ? यो हामीले सम्झिने सबै कुराहरूको जोड हो । त्यसैले हामीलाई डर देखाउने मृत्युको कुरा विगतको नोक्सानी हैन । विस्मरण पनि हाम्रो जीवनसँग जोडिइरहेको मृत्युको एक स्वरूप नै हो । मेरो किताबको हिरोइनको समस्या नै यही हो । उनी हराउँदै गएका दिवङ्गत प्रिय पतिसँगका स्मृतिहरूलाई जसरी पनि बचाएर राख्न प्रयासरत छिन् । विस्मरण मान्छेको मात्र हैन राजनीतिको पनि ठुलो समस्या हो । जब कुनै बलियो शक्तिराष्ट्र कुनै सानो देशलाई उसको राष्ट्रिय सचेतनाबाट विमुख गराउन चाहन्छ भने त्यसले पनि योजनाबद्ध विस्मरण नै अभ्यास गराउँछ । यही कुरा यति बेला बोहिमियामा भइरहेको छ । आफ्नो विगतप्रतिको सचेतना हराउँदै गएको देशले बिस्तारै आफ्नो स्वयं पनि गुमाउँछ । यसरी राजनैतिक परिस्थितिले क्रूरतापूर्वक रूपमा हामीले दैनिक जीवनमा ध्यान पनि नदिईकन सामना गरिरहेको साधारण तात्त्विक विस्मरणको समस्यामा प्रकाश पारिदिन्छ । राजनीतिले निजी जीवनको तत्वमीमांसाको मकुन्डो उतारिदिन्छ । निजी जीवनले राजनीतिको तत्वमीमांसाको मकुन्डो उतारिदिन्छ ।