इन्जुरी समयमा साम्बाले जोगाइन नेपाललाई हारबाट
सावित्रा भण्डारी सम्बाको गोलमा नेपाल फेरि एक पटक हारबाट जोगिएको छ । बंगलादेशविरुद्ध बिहिबार १–० ले पछि परेको अवस्थालाई उल्टाउने क्रममा सावित्राले ४ मिनेट थपिएको इन्जुरी समयमा गोल गर्दै नेपाललाई हारबाट जोगाएकी थिइन् ।
नेपाल र बंगलादेशबीचको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल १–१ को बराबरीमा टुंगिएको छ । विपक्षी खेलाडीले बल क्लियर गर्न नसकेको फाइदा उठाउँदै सावित्राले गोल गरेकी हुन् । यसअघि केहि महिना अघि भारतविरुद्ध २–० ले पछि परेको खेलमा सावित्राले २ गोल गर्दै टोलीलाई हारबाट जोगाएकी थिइन् । राष्ट्रिय टोलीबाट सावित्राको त्यो ४४ औं गोल हो ।
ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल रंगशालामा कप्तान सविना खातुनको गोलबाट बंगालदेशले अग्रता लिएको थियो । ६५ औं मिनेटमा उत्कृष्ट तालमेलसहित सविनाले पेनाल्टी बक्सबाट गोल गरेकी थिइन् । सरु लिम्बुको मिस पासमा प्राप्त बललाई अघि बढाउँदै बंगालदेशका खेलाडी नेपाली रक्षापक्तिको कमजोरीको फाइदा उठाउन सफल भएका थिए ।
गत वर्ष भदौमा काठमाडौंमा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलपछिको पहिलो भेटमा नेपाली टोलीले हार बेहोरेको थियो । त्यति बेला पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्ने क्रममा बंगलादेशले नेपाललाई ३–१ ले हराएको थियो ।
नेपालले अहिले सम्म साफ च्याम्पियनसिप जित्न सकेको छैन । फिफा डेटमा भएको नेपाल र बंगलादेशबीचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।