उपत्यकामाथि नै हिँडिरहेझैँ लाग्ने स्काईवाक
सहरभन्दा धेरैमाथि उठेको कमलादीको स्काईवाक । मेरा लागि एउटा सपना नै थियो ।
विदेशमा भएका स्काईवाकका भिडियोलाई सामाजिक सञ्जालमा हेर्दै रमाउने मैले नेपालमै त्यसरी ग्लासमा हिँड्छु भनेर कल्पना नै गरेको थिइनँ । नेपालको ठुला ठुला पहाडहरू त्यस्तै स्काईवाक बनाउन पाए हुन्थ्यो भनेर कल्पन्थेँ । काठमाडौँमा नै स्काईवाक हुनु मेरा लागि अकल्पनीय विषय थियो ।
तर त्यो बन्न थालेको मैले थाहा पाएको थिएँ । मलाई उही बेलादेखि चढ्ने हुटहुटी भएको थियो ।
अफिसमा काम गर्दागर्दै सीआर सरले मलाई भन्नुभयो– ‘तपाईँ भोलि स्काईवाक पुगेर आउनुस् है डोल्मा जी ।’
कमलादीको स्काईवाक शुक्रबारबाट सञ्चालनमा आएको भनेर मकालुखबरमा पनि समाचार आएको थियो । उहाँले मलाई त्यसबारे यथेष्ट जानकारी दिनुहुँदै भ्रमण गरेर समाचार तयार पार्न भन्नुभयो ।
तर त्यहाँ जाने कुरालाई मैले काम र जिम्मेवारीको रूपमा मात्र हेरेकी थिएँ । त्यसको समाचार बनाएर ल्याउने मात्र मेरो ध्येय थियो । चढ्दा कस्तो महसुस होला भनेर मैले सोचेकै थिइनँ ।
‘ओहो !, तिमी त भोलि आकाशमा हिँड्ने भयौ,’ पुष्प सरले जिस्काउनुभयो ।
त्यसपछि भने म स्काईवाक गर्दै छु भन्ने कुरा मनमा आयो । मोबाइलमा त्यहाँ हिँडेका मान्छे आए ।
‘अहो ! डर लाग्ने पो हो कि ?’
भोलिपल्ट केही प्रश्नको साथमा कमलादी पुगेँ ।
अकाउन्टसेक्सनबाटभित्र छिरेपछि दुबोमाथि ओछ्याइएको ढुङ्गै ढुङ्गाको बाटो थियो । बाटो छेउछेउ फुलेका राता, सेता, पहेँला रङ्गीचङ्गी फुल फूलेका थिए । त्यहाँ थुप्रै मानिसको भिड थियो । केही आइसक्रिम खाइरहेका, कोही टिकटक बनाउँदै, फोटो खिचिरहेका थिए । कोही भने स्काईवाक टावर चढ्दै–ओर्लँदै गरेका देखिन्थे ।
मलाई कुसुम म्यामलाई भेट्नु थियो । उहाँले मलाई स्काईवाकका सञ्चालक सञ्जीव रोकाय सरसँग मेरो भेट गराइदिनुभयो ।
सञ्जीव रोकाय सरसँग स्काईवाकबारे कुराकानी गरेँ । उहाँले नेपालमा सुरुमा स्काईवाकको कन्सेप्ट कम्पनीका अध्यक्ष आकर्षण पोखरेलले ल्याएको बताए । विदेशमा डाँडाकाँडा पहरामा स्काईवाक सञ्चालनमा भए पनि उपत्यकालाई हेर्ने केही फरक थिममा टावर निर्माण गर्न खोजिएको रोकायले बताउनु भयाे ।
अन्य देशमा टावरमा, समुन्द्रमा गएर फोटो खिच्ने, घुम्ने कल्चर भए पनि नेपालमा समुन्द्र नभएकाले स्काईवाक टावर मात्र भए पनि निर्माण गरौँ भनेर निजी क्षेत्रबाट स्काईवाक टावर सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । त्यति जानकारी लिइसकेर समाचार संकलनकाे काम मैले सकाएँ । अब मलाई टावरमा चढ्नु थियो ।
माथि फर्केर हेर्दा स्काईवाक गरिरहेका मानिसहरू अनौठो किसिमले हिँडिरहेका देखिन्थे । कमिलाजस्तै साना ।
करिब ४५ वर्ष पुगिसकेका सेक्युरिटी गार्ड दाईसँगै म दुबोमाथि ओछ्याइएको ढुङ्गै ढुङ्गाको बाटो हुँदै सानो ढलाने पुल कटेर थोरै मोडेपछि स्काईवाक टावरको प्रवेशद्वार पुगेँ । आफ्नो पर्सनल इन्फरमेसन रजिस्टर गरेर भित्र पसेँ ।
भित्र पस्ने बित्तिकै बायाँपट्टि गोल्डेन कलरको लिफ्ट देखियो । लिफ्टमा एक जना अङ्कल र उहाँको साना दुई जना छोराहरू पनि थिए । उनीहरूको अनुहारमा पनि उही खुसी, डर र उत्सुकताको भाव देखेँ । ममा पनि सायद त्यही नै थियो ।
लिफ्टबाट १६ तला पुगेपछि हामी बाहिरियौँ । बाहिरिएसँगै करिब २ तला माथि चढ्नु पर्याे ।
ग्लासवाक गर्नका लागि सर्वप्रथम जुत्ता फुकालेर सुज कभर लगाउनु पर्ने रहेछ । नजिकै सुज र्याक र बाकसमा कभर राखेको देखेँ । त्यसपछि सुज कभर लगाएर म ग्लासवाक गर्न अगाडि बढेँ ।
टावरको टुप्पोमा पुगेर बाहिरी दृश्य हेरेँ । आकाशमा कालो बादल थुप्रिएर चिसो हावा चलिरहेको थियो ।
स्काईग्लास भन्दा माथि टुप्पोमा नेपालको झन्डा स्वतन्त्र भएर फरफराई रहेको थियो । तल ग्लासवाक गर्ने मानिसको भिड थियो । उनीहरू डराएर, रमाएर भिडियो बनाउँदै फोटो खिच्दै थिए । कोही शान्त भएर गफ गरिरहेका थिए । अघि मसँगै आउनुभएका अङ्कल र उहाँको छोराहरू पनि सायद त्यहीँ भिडमा मिसिनु भएको थियो क्यारे । कहिँकतै देखिनँ । म पनि त्यही भिडमा मिसिएँ ।
पारदर्शी सिसाबाट मुनिका दृश्यहरू छर्लङ्ग देखिन्थ्यो । सिसामुनिबाट घर, रोडमा गुडिरहेका गाडी र हिँडिरहेको मानिसका आकार सानो तर स्पष्टै देखिन्थ्यो । मलाई उपत्यकामाथि नै हिँडिरहे झैँ लाग्यो । एक्कासि मनमा भएको केही खुसी र उत्सुकता हराएर अब डर मात्र वाँकी थियो । तर यो डरको भाव सबैमा अनिवार्य नहुन सक्छ । किनकि सानो झोलुङ्गे पुलदेखि डराउने म स्काईवाक टावरदेखि डर लाग्नु त स्वाभाविक नै थियो ।
यताउति हेरेँ । कतै मानिसहरूले मलाई गिज्याई रहेका छन् कि भनेर । तर त्यसको ठिक उल्टो अन्य मानिसहरू पनि म जस्तै डराई रहेका थिए । उनीहरू सिसामाथि हिँड्न डराइरहेका थिए ।
कोही स्काईवाक टावर हल्लियो भन्न थाले । कोही सिसामा धेरै जना उभिनु हुन्न सिसा फुट्छ भन्दै थिए । त्यसपछि मलाई पनि आफूले टेकेको सिसा फुट्छ कि भनेर डर लाग्यो । ओहो ! हावाले टावर हल्लिएझैँ लाग्यो । त्यति उचाइमा पुग्दाको उमङ्गले नसोधेका धेरै कुरा लाग्ने रहेछ ।
त्यसपछि टाढा टाढाको दृश्य हेर्न थालेँ । त्यहाँबाट धरहरा, रानीपोखरी, घण्टाघर र पुरै काठमाडौँ उपत्यकालाई सजिलै नियाल्न सकिन्थ्यो ।
अघि कालो भएर गर्जिएका बादलहरू अब पानीको थोपा बनेर झर्न बर्सिन थालेँ । म पनि पानीका थोपाहरू जस्तै हतार गरी मोबाइल भरि उपत्यकाको तस्बिर खिचेर फर्किएँ ।