पोखरा-मुग्लीन सडकमा एडिबीको रेकी
पोखरा । एसियाली विकास बैंकको टोलीले निर्माणाधीन पोखरा-मुग्लीन सडकको रेकी गरेका छन् । सडक विस्तारमा देखिएका समस्या र समाधानको खोजी गर्न ऋण सहयोगी एडिबीको निर्देशक सल्लाहकार मोहम्मद जाविव र मिसन लिडर सिनवाइ चाङ (एन्जल) लगायतको टोलीले अनुगमन र छलफल गरेको हो ।
अनुगमन पछि पोखराका मेयर धनराज आचार्यसँग भेट्दै पोखरा खण्डका समस्या समाधानमा ध्यानाकर्षण गराएका थिए । आयोजनाको पोखरा खण्डमा सडक मापण्दडभित्रका संरचना हटाउने, बिजुलीका पोल र खानेपानीको पाइपलगायत हटाउन सहजीकरण गरिदिन टोलीले आग्रह गरेको छ । ‘अहिले हामीले पोखरा खण्डको राइट अफ वे खालि गराउने काम सम्पन्न गरिसकेका छौं,’ मेयर आचार्यले भने, ‘अब केही स्थायी संरचनाहरू हटाउन बाँकी छ । मुआब्जाको प्रक्रिया सकिना साथ ती सबै संरचनाहरू तत्काल हटाइनेछ ।’
एडिबीको सहयोगमा सडकलाई चार लेनको बनाउन लागिएको हो । सहरी क्षेत्रमा भने ६ लेनको सडक बन्ने छ । पूरा सडकमध्ये हाल दुई खण्डमा काम भइरहेको छ । आँबुखैरेनीदेखि जामुनेसम्म र जामुनेदेखि पोखरासम्म फरक फरक ठेक्काबाट काम गरिएको हो । यो दुई खण्डमा मात्रै १२ अर्ब भन्दा बढी खर्च हुनेछ । पोखराको सेती र मादीमा आकर्षक पुल निर्माण हुँदैछ । सेती नदीमा हाल भएको पुलभन्दा माथि र तल २-२ लेनको दुइटा पुल बनाउन १ अर्ब ७ करोड रुपैयाँमा ठेक्का सम्झौता भैसकेको छ । सेती बाहेक राजमार्गको पश्चिम खण्डमा ४ वटा ठुला र १२ वटा साना पुल बन्नेछन् ।