विदेशमा सीप, स्वदेशमा स्वरोजगार

गण्डकी । जागिरको खोजीमा दैनिक हजारौँ युवा विदेशी भूमिमा पुग्छन् । स्वदेशमा भने जस्तो जागिर नपाउँदा श्रमको खोजीमा विदेशी भूमिमा जानु बाध्यता नै हो । तर यहाँका एक व्यक्ति भने विदेशमा सिकेको सीप सदुपयोग गर्दै स्वरोजगार बनेका छन् ।
पोखरा महानगरपालिका–१५ वन क्याम्पस लेन नं. ११ का ४२ वर्षे कमलबहादुर बोहोराले अष्ट्रेलियामा सिकेको मूर्तिकला प्रयोगमा ल्याउँदै आफू मात्र रोजगार नभई अरूलाई पनि रोजगारी दिएका छन् ।
भारतीय सेनामा १७ वर्ष काम गरी निवृत्त भएसँगै उनी जागिरको सिलसिलामा अष्ट्रेलिया पुगेका उनले त्यहाँ रहँदा मूर्तिकारको सहयोगीका रूपमा काम गरे । ‘अष्ट्रेलियामा मूर्तिकारले होटल तथा घरमा सौन्दर्यीकरणका लागि पानीका झरनासहितका चरनमा रहेका जङ्गली जनावर र मागअनुसार मूर्ति बनाउनुहुन्थ्यो,’ उनले भने, ‘सहयोगी भएर ६ महिना काम गरेपछि यस्तो काम त म नेपालमा गएर पनि गर्न सक्दछु भन्ने दृढ इच्छा शक्तिका साथ स्वदेश फर्किए ।’
उनी अष्ट्रेलियामा काम गर्दा मासिक रु दुई लाख आम्दानी गर्थे । पछि त्यहाँ सिकेको सीपले पोखरामै व्यवसाय गर्न सकिन्छ भन्ने लागेर उनी स्वदेशी फर्किए । छ वर्षअघि स्वदेश फर्केका उनले मासिक रु ७० हजारभन्दा बढी आम्दानी गरेका छन् भने तीन जनालाई जागिर पनि दिएका छन् ।
होटल, घर, विद्यालय लगायतका लागि काम गर्ने भन्दै उनले भने ‘पानीको झरना, आसपासमा बच्चा सहितको मृग र ग्राहकको इच्छा अनुसारको देवीदेवताको मूर्ति निर्माण गर्दा सामग्री बाहेक रु १२ हजार ज्याला लिन्छु ।’ आर्टसमा समेत रुचि राख्ने उनले घरको सिलिङ र विद्यालय सौन्दर्यकरणमा समेत काम गर्ने बताए ।
उनीसँग हाल ढाकाराम अधिकारीका साथै बर्दियाका समित थारु र विजय थारुले काम गरेका छन् । उनीहरूले मासिक रु १७ हजारका दरले पारिश्रमिक पाउँछन् ।
‘मेरोमा काम नभएको समयमा उहाँहरू अन्यत्र काम गर्न जानुहुन्छ,’ उनले भने ।
पोखरा महानगरपालिका वडा नं। १७ सिताको पाइलास्थित ऐतिहासिक धार्मिक क्षेत्र सदाशिव हरिहर मन्दिर परिसरमा १०८ शिवलिङ्ग र १०८ गौमुखे धारा निर्माण गर्दै गरेका मूर्तिकार बोहोरा स्वदेशमा केही गर्छ भन्ने सोच राख्ने हो भने विदेश जानु नपर्ने बताए ।
‘एक जोडी शिबलिङ्ग र गौमुखे धारा निर्माण गरेको रु छ हजार पाँच सयका दरले रु सात लाख दुई हजार लिने गरी मन्दिर व्यवस्थापन समितिसँग सम्झौता भएको छ’ उनले भने । शिवलिङ्ग र पानी झर्ने झरनासहितको गौमुखे धाराले प्रसिद्ध धार्मिक क्षेत्र मुक्तिनाथको झझल्को दिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *