‘तिम्रो तौल यति धेरै छ, एक्लै घुम्न सक्छौ र ?’
‘तिम्रो तौल यति धेरै छ, एक्लै घुम्न जान तिमीले सक्छौ र ?’
‘के जानै पर्छ र ? नगए हुँदैन ?’
परिवार र साथीभाइहरूबाट उनलाई यस्ता प्रश्नहरू आइराख्थे । उनको ज्यानलाई हेरेर यसरी कुरा गर्ने धेरै थिए । तर त्यो कुराले आफूलाई असर पार्न उनले दिइनन् । तौल अलि बढी भए पनि उनको मनमा आत्मबल भरपुर थियो । त्यसैले म जसरी पनि गएरै छाड्छु भनेर निर्णय लिइन् ।
तर त्यो बेला उनको तौल ८० किलो थियो । सोलो यात्रा गर्न मनाङ मुस्ताङ जानु कम चुनौतीपूर्ण थिएन । पाँच हजार भन्दा बढी फिटको उचाइमा जाने कुराले मनमा डर पलाएको पनि थियो ।
तर त्यो डरलाई पनि आफूलाई जित्न दिइनन् ।
काठमाडाैँकी गौरी मालाकार पर्यटन क्षेत्रमा लागेको बिस वर्षभन्दा बढी भइसकेको थियो । उनले धेरै वर्ष वाइल्ड लाइफ टुरिजम मा काम गरिसकेकी थिइन् । आफ्नो बुवाको निधन भएपछि घरमा हेर्ने मान्छे कोही थिएन । त्यो बेला उनको साथीको बुवा द्वारिका होटेलमा काम गर्नु हुन्थ्यो । उहाँले नै त्यहाँ काम लगाइदिएपछि यस क्षेत्रमा उनको रुचि बढ्दै गएको थियो । बिस्तारै उनको चाख हाइकिङ तर्फ पनि बढिरहेको थियो ।
कामको सिलसिलामा चितवन र बर्दियातिर धेरै बस्नुपर्ने हुन्थ्यो । त्यो मौकामा बेला बेला हाइकिङ गइराखेको भए पनि उनले ट्रेक्किंगको स्वाद लिएकी थिइनन् ।
पर्यटनबाट ब्रेक लिएर काठमाडौँ फर्किएको बेला गौरीले फेसबुकमा एउटा पोस्ट देखिन् । त्यहाँ ‘सोलो वुमन ट्राभल च्यालेन्ज’ लेखिएको थियो । जसमा एक्लै घुम्न चाहने महिलाहरूलाई आवेदन दिनु भनिएको थियो । उनलाई सुरुमा त सक्छु कि सक्दिन पनि भएको थियो । आफ्नो मनमा भित्र कतै एक्लै घुम्न मन लागेको कुरा थाहा पाइसकेकी उनले सोचिन् ‘प्रयास गरम न त ।’
आवश्यक फर्म भरिन् ।
‘कुन ठाउँ जान चाहनुहुन्छ ?’ फर्ममा सोधिएको थियो ।
उनलाई बच्चादेखि नै मनाङ मुस्ताङ जाने रहर थियो । हिमाल पारीको देश भनेर सुनिरहेको ठाउँ । त्यसैले पनि उनले मनाङ मुस्ताङको आइटीनेरि बनाउने बनाइन् । आवेदन दिँदा त्यसैलाई बुझाइन् ।
फरक फरक प्रक्रियाबाट उनको छनौट भयो । पाँच दिनको ट्रेनिङ काठमाडौँमै भयो । त्यहाँ उँचाइमा कसरी बस्ने, कसरी भ्रमण गर्ने, के के कुरा ध्यान दिने इत्यादि कुरा सिकाइयो ।
त्यसले उनको आत्मविश्वास झन् बढ्यो । उनी २६ दिनको भ्रमणमा लागिन । बेसी सहर बाट सुरु गरेर थोराङ्ला, अनि त्यसलाई कटेर मुक्तिनाथबाट लोमान्थाङ, मुस्ताङ । अनि त्यहाँबाट स्याङ्जा, पाल्पा र काठमाडौँ आउने रुट थियो ।
सोलो ट्राभल गर्दा कहाँ बस्ने, बजेट, इत्यादि सबै आफै छुट्टाउनुपर्ने थियो । त्यो बाहेक ‘सोलो ट्राभलर्स’ ( उनको सोलो ट्राभल आयोजन गरिदिने संस्था) बाट पनि आवश्यक सहायता दिने भनिएको थियो । कहाँ पुग्यो, कुन होटेलमा बस्यो, सबै उनीहरूलाई भन्नुपर्थ्यो ।
यात्राको क्रममा उनले आफ्नो सबै कुरा आफैँ हेर्नुपर्थ्यो । आफ्नो ख्याल आफैँ राख्नुपर्थ्यो । त्यो सबै गर्दा आफूले आफैलाई कसरी मजबुत बनाउने भन्ने कुरा पनि उनले राम्ररी बुझिन् ।
त्यसक्रममा उनले आफू कहाँ जाँदै छु, जान लागेको ठाउँको पुलिस चौकीहरू कति टाढा छ, कस्तो छ, कुन समुदायमा जाँदै छु, अनि कति दिन अथवा कसरी हिँडिराखेको छु भन्ने कुरामा उनले ध्यान दिइन् । पुलिस चौकीको नम्बर राख्ने, आफू बस्ने होटल कस्तो हो, त्यहाँको सुरक्षा कस्तो छ ख्याल गर्दै सबै मान्छेसँग राम्रो सम्बन्ध बनाउँदा उनलाई सजिलो भएको महसुस भयो ।
उनी जुन ठाउँ गइन्, त्यहाँको समुदायसँग राम्रो सम्बन्ध बनाइन् । हरेक ठाउँमा भेटिएका फरक फरक नेपाली समुदाय निकै मिलनसार रहेको थाहा पाइन् । जुन समुदायमा जानुपर्ने छ, त्यसबारे पहिलै बुझेर गइन् । होमस्टे मा जाँदै हो भने पनि त्यो घरको मुली को थिए ती सँग चिनजान गरिन् । त्यो परिवारसँग राम्ररी गफ गरेर, त्यहाँको संस्कृति, इतिहासलाई बुझ्ने प्रयास गरिन् ।
जति जति यात्रा हुँदै गयो उति उति आफूलाई पनि बुझ्दै गइन् । सहरबाट आएको मान्छे नभई सङ्गत गरिन् । जुन समुदायमा गइन् त्यो समुदायलाई आदर गरिन् । त्यहाँको संस्कृतिलाई बुझिन् ।
यात्राको क्रममा हिँड्ने समय नियमित हुँदैन थियो । उनी कहिले चार देखि छ घण्टा त कहिले दस देखि बाह्र घण्टा समेत हिँडिन् । लामो समय हिँडेको बेलामा थाक्दा उनलाई एक्लो महसुस हुन्थ्यो ।
‘त्यस्तो अनकन्टार ठाउँमा हिँड्दै गर्दा म नआएको भए पनि हुन्थ्यो जस्तो पनि लाग्दो रहेछ ।’ उनी भन्छिन् ।
त्यस्तो हुँदा उनी एकै छिन बस्थिन् । आफ्नो गन्तव्यलाई सम्झेर लामो सास फेर्थिन । अनि आफैलाई भन्थिन ‘म यति टाढा आइसके, अब त म त्यहाँ पुग्नै पर्छ ।’ त्यसले फेरी ऊर्जा दिन्थ्यो ।
एक्लोपन हटाउन सकेसम्म मान्छे भएको ठाउँ, कुनै चिया पसल, होटेल खोज्ने गर्थिन । त्यहाँ मान्छेसँग बसेर बोल्दा उनलाई भुल्ने बाटो मिल्थ्यो ।
बाटोमा जाँदै गर्दा कुनै कुनै बेला त एउटा मान्छेको अनुहार त देख्न पाए हुन्थ्यो नि जस्तो पनि लाग्थ्यो । परिवारसँग पनि नेटवर्क भएको ठाउँमा मात्र कुरा हुन पाउँथ्यो ।
त्यहाँका ठाउँहरू उनले सोचेकोभन्दा धेरै फरक थिए । पहिलैदेखि योजना बनाएको भएर पनि होला, उनी जाने बेलामा निकै उत्साहित थिइन ।
यात्राको क्रममा उनलाई हाम्रो नेपाल कत्ति कुरामा विकास नै हुन वाँकी रहेछ जस्तो लाग्यो ।
हिँड्नेक्रममा कतिपय बेला उनले नसोचेका ठाउँहरू पनि आए । कतिले नसोचेका प्रतिक्रिया पनि दिए । दुई दिन मात्र मनाङ बस्ने भनेर गएकी उनी एक दिन अझै थपेर तीन रात बासिन् ।
एक ठाउँमा आमाहरूले चलाएको होटेल पनि थियो । त्यहाँका महिलाले ‘ओहो तपाईँ त कस्तो केटी मान्छे भएर पनि एक्लै हिँडी राख्न भएको छ, हामीले त कहिले पनि यसरी हिँड्न पाउँदैनौ’ भनेर कुरा गर्दा आफू पनि एउटा प्रेरणाको श्रोत बन्न पुगेछु भन्ने उनलाई महसुस भयो ।
अर्को ठाउँमा होटेल चलाउने पुरुषले पनि खुसी भएर ‘केटी मान्छेहरू हिँड्न पर्छ नि, तपाईँहरू जस्तै हिँड्यो भने पो अरूलाई पनि बानी पर्छ’ भनेर प्रशंसा गरे ।
मुक्तिनाथमा एउटा होटेलमा बास लिइन् । त्यो बेला त्यही काम गर्ने एउटा दिदीको पाँच वर्षकी सानी छोरी थिइन् । उनी एक्लै घुम्न निस्किँदै गर्दा ती फुच्चीले घुमाउन लान्छु भनिन् । भोलिपल्ट ती फुच्चीले गौरीलाई गाइड जस्तो भएर मुक्तिनाथको बजार घुमाउन लगिन् । एकै छिन अघिसम्म बिना कुनै गाइड हिँडीराखेकी गौरी, त्यो बच्चीसँग साथीजस्तै हिँडिन् ।
त्यो यात्राले उनलाई यस्तै यस्तै बिर्सनै नसक्ने क्षणहरू दिइरह्यो ।
उनी अरूलाई पनि यसरी नै सोलोट्रावेलमा जान प्रोत्साहित गर्छिन् । तैयारीको लागि दिनदिनै तिन चार घण्टा हिँडेर बानी बसाल्दै गए सजिलो हुन्छ भन्छिन् । र यदि आफ्नो परिवारलाई मनाउनु छ भने, सामाजिक सञ्जालमा अरू घुमेको फोटोहरू देखाइदिन सुझाउँछिन् ।
पहिलो पल्ट नै धेरै लामो यात्रा नगरेर दुई तिन दिनको सोलो ट्रावेलबाट सुरु गर्दा सजिलो हुने उनको अनुभव छ ।
‘तिमीले त गरेर देखायौ । तिमी त खतरा रहेछौ ।’
‘गरे नहुने के रहेछ र ?’
उनलाई आजभोलि पहिला सोधिएको जस्तो प्रश्न सोधिन्न । उनले आफ्नो यात्राले ती सबै प्रश्नहरूलाई जवाफ दिएका छन् ।