भारत ‘ए’को सामना गर्दै जितको खोजीमा रहेको नेपाल
काठमाडौँ । श्रीलंकामा जारी एसीसी इमर्जिङ नेसन्स टिम्स कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज भारत ए टिमको सामना गर्दैछ । भारत र नेपालबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा दुईमा श्रीलंकाको आर प्रेमदासा रंगशालामा हुनेछ ।
नेपाल पहिलो जितको खोजीमा हुनेछ । भारत लगातार दोस्रो जितका साथ सेमिफाइनल यात्रा पक्का गराउन चाहन्छ । नेपालको रोहित पौडेल र भारतको यश धुलले कप्तानी गर्नेछन् । नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो । त्यस्तै भारतले युएई ए लाई ८ विकेटले हराएको थियो ।
नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार युएई ए सँग खेल्नेछ । यस प्रतियोगितामा ६ टोली सहभागिता रहेको छ । सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलका लागि छानिने छन् ।
सेमिफाइनल खेल २१ जुलाईमा हुनेछ । सेमिफाइनलका दुई विजेता उपाधिका लागि भिड्ने छन् । फाइनल खेल २३ जुलाईमा रहेको छ ।