सोच्न नसक्ने मेयरको कथा भन्दै ‘एलिस एण्ड द मेयर’ले गरेको राजनैतिक बहस
यो फिल्मका मुख्य पात्रा फ्रान्सेली शहर लियोनका मेयरलाई नयाँ आइडिया आउन छोड्छ । उनलाई लाग्छ उनी सोच्नै सक्दैनन् ।
पहिला त्यस्तो हुँदैन थियो । उनलाई दैनिक जसो आइडिया आइरहन्थ्यो । परिवारलाई दिने समय नभई नभई उनी सोचिरहन सक्थे । उनलाई कतै गएर नयाँ आइडिया दिन गाह्रो हुँदैन थियो । कतै गएर बोल्न कठिन हुँदैन थियो ।
आइडिया भइरहेपछि बोल्ने कुराको के कमी । तर एकदिन अचानक उनलाई आइडिया आउन छोड्छ ।
उनी पुरै खोक्रो हुन्छन् । आफूसँग केही नभएको जस्तो उनलाई लाग्छ । आफ्नो शहरलाई राम्रो बनाउन केही सोच्न नसकेको जस्तो लाग्छ । बेचैनी हुन्छ । आफू भएकै ठाउँमा पनि आफू अनुपस्थित भएको लाग्न थाल्छ । उनको अनुहारबाट उज्यालो हराउँछ ।
त्यस्तो अवस्थाबाट उनलाई कसले बाहिर निकाल्ला ?
उनी एक फिलोसफीमा पिएचडी गएकी युवती एलिसलाई काममा राख्छन् । उनको काम हुन्छ उनलाई नयाँ नयाँ आइडियाहरू भनिदिने । उनले बोल्ने भाषण लेखिदिने । उनमा आएको वैचारिक रिक्तता मेटाइदिने ।
एलिस आउँछिन् । उनको बेचैनी थाहा पाउँछिन् । उनलाई बोल्ने कुरा लेखिदिन्छिन् पनि ।
तर बिस्तारै उनी मेयरलाई उनको यथार्थसँग नजिक लैजान थाल्छिन् । उनको आँखामा हेरेर उनको आलोचना गर्छिन् । भन्न मन लागेको कुरा नबोली चुप बस्दिनन् । आइडिया आइडिया अनि त्यो पनि ठूलो ठुलो आइडियाहरू सोच्दा सोच्दा उनी कसरी सानो सानो कुरा गुमाइरहेका छन् भनिदिन्छिन् ।
उनलाई नयाँ लेखकहरू चिनाउँछिन् । नयाँ पुस्तकको सन्दर्भ सुनाउँछिन् ।
उनले त्यस्तो गर्दै गर्दा मेयरको अनुहारमा पटक पटक नेपाली नेताहरूको अनुहार घुमिरहन्छ । उनीहरूको बेचैनी झल्किरहन्छ ।
तर उनीहरू र फिल्मको मेयरमा एउटा अन्तर छ । मेयरलाई आफूले नयाँ कुरा सोच्न नसकिरहेको थाहा छ । हाम्रो अधिकांश नेताहरूलाई त्यो कुरा पनि थाहा छैन ।
उनले पहिलोपल्ट बोलेको सुन्नासाथ उनी नजिकै रहेकी युवतीलाई भन्छिन् ‘उनको भाषणमा लिरिसिजम् कम छ ।’
महिला जवाफ फर्काउँछिन् ‘यो उनको दैनिकी हो ।’
लिरिसिजम् अनुसार सबैले बुझ्ने भाषा । गाउन सक्ने लय । सजिलो । स्पष्ट । सरल । सबैले मेरो लागि हो सोच्ने भाषा । हाम्रा नेताहरूको भाषा त्यस्तो छैन । उनीहरूको भाषण रुखा छन् । उनीहरूले गर्ने कुरा हामीलाई दैनिक जीवनमा छुने कुरा छैनन् । जे उनीहरूको दैनिकी हो त्यसको खासमा धेरै मानिसहरूलाई महत्त्व छैन नै । उनीहरू हाम्रो सेवक भएर जहाँ जहाँ गइरहेका छन् त्यो सबै ठाउँमा उनीहरू जानुपर्ने नै पनि हैन । उनीहरू व्यस्त छन् तर त्यो सबै व्यस्तताको हामीलाई केही लेनदेन छैन ।
एलिसले आफू आउनासाथ नै मेयरलाई ‘डिसेन्सी’ को कुरा उठाउँछिन् । अर्थात् शालीनता । यदि कोही नेता जनताको साँचो नेता बन्न चाहन्छ भने उ शालीन हुनुपर्छ । अर्थात् उसले हरेक परिस्थतीलाई प्रतिक्रियाको दृष्टिकोणले हेर्नुहुँदैन । उसले प्रक्रिया पर्खिनुपर्छ । त्यो प्रक्रियाले कसैलाई क्षति पुगिरहेको छ कि छैन हेर्नुपर्छ ।
उनले डिसेन्सीको कुरा उठाउँदा मेयर सोध्छन् ‘कमन डिसेन्सी’ भनेको के हो ?
एलिस जर्ज अर्वेललाई कोट गर्दे भन्छिन् वामपन्थी विचारकले साधारण मानिसहरूसँगको सम्पर्क गुमाउनु हुँदैन ।
उसले जनताको मनलाई छुनुपर्छ । हाम्रा यहाँका धेरै नेताहरूमा पनि त्यो कुराको कमी छ । उनीहरूले गर्ने कुरा र जनताले खास चाहेको कुरामा आकाश जमिनको फरक छ ।
यसरी यो फिल्मले फ्रान्सको एक मेयरको सङ्घर्षलाई भन्दै गर्दा समग्र राजनीतिज्ञहरूले हुनुपर्ने के कुरा पाइरहेका छैनन् भनिदिन्छ ।
एलिसले मेयरलाई पहिलोपल्ट देख्दा उनी हाइ काढिरहेका हुन्छन् । उनलाई स्टेजमा बस्न गाह्रो भइरहेको हुन्छ । हामीले पटक पटक धेरै नेताहरूलाई सार्वजनिक स्थानमा निदाएको देखेको छौँ । कति त संसद् भवनमा नै पनि निदाइरहेका हुन्छन् । तीनको सार्वजनिक मञ्चको उपस्थिति हेर्दै दिक्कलाग्दो हुन्छ । यो फिल्ममा एलिस मेयर निदाएको देख्दा उनी हाँस्न खोज्छिन् ।
उनको त्यो हाँसोमा हाम्रो पनि हाँसो भेटिन्छ ।
सँगै फिल्मले समाजवादीहरूले भन्ने र गर्ने कुराको अन्तरलाई देखाएको छ । मेयर पनि सोसियलिस्ट हुन् । त्यसैले पनि उनीसँग त्यतिका धेरै आइडिया हुन्थ्यो भन्ने कुरा आफैँमा पनि व्यङ्ग लाग्छ । भर्खरै नेपालमा पनि केही पार्टीहरू मिलेर समाजवादीहरूले नयाँ मोर्चा खोलेका छन् । उनीहरूले पनि हरेक भाषणमा आइडिया नै आइडिया दिइरहेका छन् । यस्तो गर्ने त्यस्तो गर्ने भनेर ठूलोठूलो कुरा गरिरहेका छन् । तर उनीहरूले भनिरहेको समाजवाद र उनीहरूले विताइरहेको जीवनको बिचमा पनि खाडल नै खाडल छ ।
उनीहरू किन यति बेला त्यसरी जम्मा हुनुपर्यो भन्ने कुरामा पनि खासै ठुलो अर्थ भेटिन्न ।
पहिलो चरणमा राम्रो काम गरेपछि एलिसको बढुवा हुन्छ । उनी शहरको भविष्यको योजना बनाउने टिममा जान्छिन् । त्यसको एउटा जुम मिटिङमा प्रगतिशील महानगरहरूको अन्तर्राष्ट्रिय युनियन बनाउने कुरा उठ्छ । उनले गरेको त्यो कुरा आकाशको कुरा हो । उनले काम गर्नु छ आफ्नो महानगरको हितको लागि । आफ्नो महानगरमा भएका सबै खाले मानिसहरूको लागि । तर मिटिङ त्यतातिर जाँदैन ।
कस्तो संयोग । भर्खरै काठमाडाैँका मेयर बालेन शाहले सडकमा काम गरेर गुजारा गरेर व्यवसाय गर्ने साना व्यवसायीहरूलाई गरेको व्यवहारको विरोधमा केही युवाहरू महानगरको गेट अगाडि पुगे । उनीहरूले विरोध गर्ने तयारी गर्दै गर्दा सामाजिक सञ्जालमा उनीहरूको कदमको पनि विरोध भयो । धेरैले उनीहरूको नाम नै ‘चमेली ग्रुप’ राखिदिए । तर उनीहरूले ‘गरिबको चमेली बोलिदिने कोही छ र?’ भन्ने नारा किन लेखे भन्ने बारेमा धेरैले सोचेनन् ।
कुनै बेला मेयरको उम्मेदवार बन्ने तयारीमा रहेका बालेनले कान्तिपुर टेलिभिजनको एक कार्यक्रममा गएर त्यही गीत गाएका थिए । अर्थात् भोटको माहौल बनाउने बेलामा उनले त्यही गीत गाएका थिए । फेसबुकमा सडकमा भएका त्यस्ता व्यापारीहरूको पक्षमा लामो लामो स्ट्याटस लेखेका थिए । तर अहिले तीनको बारेमा निर्णय गर्ने ठाउँमा पुग्नासाथ उनले त्यो गीत गाउने आफैँलाई पनि बिर्सिए ।
उल्टै उनका समर्थकहरू खनिएर विरोधको स्वरलाई दबाउन खोजे ।
उनीहरूलाई नारा सानो कुराको पनि हुनसक्छ भन्ने कुरामा विश्वास छैन । जसरी यो फिल्मका धेरै मिटिङका दृश्यमा हुने व्यक्तिहरूलाई छैन ।
यो फिल्ममा पनि युनियन बनाउनुपर्छ भन्ने मान्छेले दिएका आइडिया ठूलाठूला र काम नलाग्ने छन् ।
उनीहरू सबैको व्यवहारलाई समग्रमा आलोचना गर्दै एलिस भन्छिन् हामीले राजनीतिले के गर्नसक्छ भन्ने बारेमा सोच्नुपर्छ । प्रगतिशील बन्नु त राम्रो हो तर निश्चित फ्रेमवर्कमा रहेर बन्नुपर्छ ।
उनको भनाइमा नेताहरू महत्त्वाकाङ्क्षी हुने नाममा आफ्नो फ्रेमवर्क नागेर टाढा गएको बुझ्न सकिन्छ । उनीहरू ठुलो कुरा गर्ने नाममा साधारण कुराहरूलाई ध्यान दिइरहेका छैनन् भन्ने बुझ्न सकिन्छ ।
फिल्मको एउटा शक्तिशाली दृश्य छ जहाँ एलिस मेयरलाई उनको वास्तविक अवस्थाको नजिक पुर्याइदिन्छिन् । उनी उनको आँखामा हेरेर सोध्छिन्,
‘यो तीस वर्षमा हारिरहेको लडाइ लडिरहेको जस्तो लागेन मेयर ज्यु ?’
मेयरसँग जवाफ छैन ।
‘तपाईँलाई एउटा समस्या पनि समाधान गर्न आउँदैन आफूलाई जस्तो लाग्दैन ?’
यसको प्रश्न पनि उनीसँग छैन ।
यो प्रश्न हामीले पनि नेपालका नेताहरूलाई सोध्न पाए के जवाफ आउँथ्यो होला ।
उनीहरूसँग कुनै जवाफ होला ?
अनि यदि जवाफ नै आयो भने पनि त्यो जवाफले राजनीतिमा उनीहरूले बिताएको समयलाई जस्टिफाइ गर्ला ?
एलिसको कुरा मनन गरेपछि मेयर आफ्नो राजनैतिक महत्वकांक्षालाई छोड्ने निर्णयमा पुग्छन् ।
आइडिया आउन छोडेको मतलब आफूले छोड्ने बेला भएको उनको बुझाइ हुन्छ ।
यहाँ हाम्रोमा त यति धेरै मान्छे छन् जसलाई आउटडेटेज भएको थाहा छ । आफूसँग बोल्ने नयाँ कुरा नभएको पनि थाहा छ । अब गर्न बाँकी केही छैन र गर्न सक्दिनँ भन्ने पनि थाहा छ ।
तर पनि उनीहरू पदमा बसेका बस्यै छन् । दिनप्रतिदिन असान्दर्भिक भइरहँदा पनि सान्दर्भिक हुन खोजेका खोज्यै छन् ।
उनीहरूले यो फिल्मको मेयरले जति हिम्मत कहिले गर्लान् ?
फिल्मको ट्रेलर :-