बच्चा जसरी सोच्न सिकाउने टम ह्याङ्सको फिल्म
‘के तिमी मेरो छिमेकी बनिदिन्छौ ?’
एउटा गीतले यसो भन्दै फिल्म सुरु हुन्छ । गीत चल्दै गर्दा टम ह्याङ्सले निभाइरहेको मिस्टर रोजर्स चरित्र अगाडि आउँछन् । उनी एक चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता हुन् । उनको कार्यक्रम केटाकेटीहरूमाझ खुब चर्चित छ । उनी त्यो कार्यक्रममार्फत निक्कै ठुलो-ठुलो कुराहरूलाई पनि सामान्य बनाएर प्रस्तुत गर्न सक्छन् ।
गीत सकिँदै गर्दा उनी फर्मल जुत्ता फुकालेर क्याजुअल जुत्ता लगाइसक्छन् ।
उनको बोलीमा हतार छैन जुन हतार हाम्रो दैनिक जीवनमा छ ।
उनको बोलीमा कुनै ठुलो कुरा छैन जुन हाम्रो बोलीमा बेलाबेला आइराख्छ ।
उनले पनि हामीले बोकिरहेका धेरै बोझ बोकेका छन् । ती धेरैतिरबाट आएका छन् । उनी पनि ती बोझको उत्पादन हुन् । तर उनी त्यो बोझलाई कुनै पनि तरिकाले अरूमाथि थोपार्दैनन् । उनी अरूको कुरा सुन्छन् । ध्यान दिएर सुन्छन् ।
उनले फर्मल जुत्ता किन फुकालेका थाहा छ ?
किनकि हामी बिस्तारै फर्मल हुँदै गएका छौँ । हामीलाई यो जुत्ता र त्यो जुत्ता भनेर छुट्याउन सकिने हुन थालेको छ । हामी घर खोज्ने भएका छौँ । कोठामा बस्ने भएका छौँ ।
तर नजिकैको छिमेकीसम्म नपुग्ने भएका छौँ ।
उनी किन केटाकेटीजस्तो बोल्छन् थाहा छ ?
किनकि हामी केटाकेटीसँग उनीहरूजस्तो भएर नबोल्ने हुँदै गएका छौँ । हाम्रो व्यस्त दैनिकीले उनीहरूलाई चाहिने पर्याप्त समय दिन इन्कार गरिदिएको छ ।
मिस्टर रोजर्स सुरुमा पाँच वटा फोटो देखाउँछन् । तीनलाई बाहिरबाट ढोकाजस्तो कागजले छोपिएको छ । उनी भन्छन् ‘यी हरेक फोटो पछाडि मान्छेको चित्र छ ।’ अनि एक एक गर्दै खुलाउँदै जान्छन् । ढोका पछाडि मान्छे चित्र अर्थात् त्यो मान्छे ढोकाबाहिर देखिएको भन्दा फरक छ ।
उनले देखाएको ढोकालाई बिम्बको रूपमा सम्झिहेरौँ । हामी सबै यसरी नै बिस्तारै ढोका पछाडि हुँदै छौँ । एउटै घरमा कति धेरै ढोका छन् । ती भित्र कति धेरै मान्छे छन् । ढोका खुल्ला राखेर वा पर्दा नलगाई बस्नु कस्तो हो हामी भुल्दै गएका छौँ । त्यो ढोकाको असर हाम्रो मनमा पनि परेको छ । हाम्रो मनमा पनि धेरै ढोकाहरू खुल्न छोडिसके । ती ढोका धेरै मान्छेको लागि उघ्रिन नै भ्याउँदैनन् ।
हामी कुनै बेला जो सँग ढोका खोलेर ढुक्कले गफ गर्न पाउँथ्यौँ त्यो पनि नपाउँदै गएका छौँ ।
रोजर्सले फोटोमा जसलाई देखाएका छन् उ एक पत्रकार हो । खोज पत्रकारितामा उसको रुचि छ । उसले त्यसको लागि पुरस्कार पनि जितेको छ । तर उसको सम्पादकले उसलाई मिस्टर रोजर्ससँग कुरा गर्न पठाइदिन्छिन् । फिल्ममा उ नै एउटा त्यस्तो मान्छे हो जो रोजर्सको टेलिभिजन कार्यक्रम मनपराउँदैन ।
उ अन्तर्वार्ता लिन उनलाई फोन गर्छ । आफूले बच्चाको कुरा किन सुन्छु अनि उनीहरूको भावनालाई बुझ्न किन कोसिस गर्छु भन्ने कुरा बताइसकेपछि रोजर्स भन्छन् ‘हामी फोनमा बोल्ने आइडिया ठिक भएन ।’
मिस्टर रोजर्स प्रत्यक्ष भेट्न खोज्छन् । प्रत्यक्ष भेट्दा मान्छेको आँखामा हेर्न पाइन्छ । उसले भनेको कुराको मर्म अझै नजिकबाट सुन्न पाइन्छ । प्रत्यक्ष हुँदा कुनै प्राविधिक कुरा बिचमा आउनु पर्दैन । त्यो संवादलाई समाउँदै साङ्केतिक रूपमा फिल्मले भन्छ ‘सकेसम्म प्रत्यक्ष भेट्नु ।’
उनको कार्यक्रम सुटिङ हुने स्टुडियोमा छिरेपछि उ अजिब कुरा भइरहेको देख्छ । त्यसको सेटअप पुरै केटाकेटी बस्ने ठाउँजस्तै छ । त्यसमा देखिने सहरको भिज्युअल पनि त्यस्तै छ । यसको पनि अर्थ छ । बालबालिकाले शहर बुझ्दा हामी बसिरहेको शहर जस्तो पक्का पनि देख्दैनन् । उनीहरूको आफ्नै भर्सन हुन्छ । अनि उनीहरूलाई खास शहर के हो बुझाउने हो भने उनीहरूकै पारामा बुझाउनुपर्छ ।
त्यसैले पनि फिल्मभर पुल, शहर वा अन्य चर्चित कुरा पनि केटाकेटीले देख्ने जस्तो गरी बनाइन्छ ।
उ अन्तर्वार्ता लिन थाल्छ । केही समयसम्म त रोजर्सलाई उ प्रश्नहरू सोध्छ । बिस्तारै उनी सोध्न थाल्छन् । उ भित्र भएको बोझको बारेमा कुरा गर्न थाल्छन् । उसले सानो हुँदै आमा गुमाएको छ । बाबु त्यो बेला साथमा नभएको कुराले उसलाई रिस उठाएको छ । उ बाबुसँग रिसाएको छ । उनलाई माफी दिन सकिरहेको छैन ।
उनीहरूको कुराकानी हुँदै गरेको त्यो दृश्यमा क्यामेराको फ्रेमिङमा उत्कृष्ट काम भएको छ । उनीहरू जति जति गहिरो र व्यक्तिगत कुरा गर्न थाल्छन्, फ्रेम उति उति साँघुरो हुँदै जान्छ । उति उनीहरूको निकट हुँदै जान्छ ।
त्यस्तै फ्रेमिङको प्रयोग उसले खोज पत्रकारिताको लागि पुरस्कार जितेको समारोहमा पनि भएको थियो । उसलाई परबाट देखाउँदा उ निक्कै सफल र खुसी देखिएको थियो । क्लोज फ्रेममा देखाउनासाथ उ फेरी उस्तै बेचैन भएको थियो ।
फिल्मले भन्छ ‘मान्छे वाइड र क्लोज एंगलमा धेरै फरक छ ।’ उसलाई हेर्दा दुवै कोणबाट हेर्नुपर्छ ।
उनीहरूले गरेको अन्तर्वार्तामा सोधिएका कुरा फिल्मका सार हुन् । र सँगै ती अहिलेको समाजले बिस्तारै भुल्दै गएको यथार्थलाई झकझक्याउने प्रयत्न पनि हुन् ।
मिस्टर रोजर्स बच्चालाई उनीहरू जसरी नै हुर्किन दिनुपर्ने कुरा राख्छन् । उनीहरूलाई आफ्नो सोच लादेर वा आफ्नो सपना लादेर हुर्काउँदै गर्दा त्यसले पार्ने असरहरू सम्झाउँछन् ।
उनी भन्छन् ‘म हरेक बच्चाको आँखामा हेरेर बोल्छु । उनीहरूको भावनालाई पुरै सुन्दै । उनीहरूलाई महत्त्व दिँदै ।’
आखिर हुर्किएपनि अर्को मान्छे पनि बच्चा त बच्चा नै हो । उ भित्र त्यो बच्चा कहिल्यै जाँदैन जो उ कुनै बेलामा थियो । त्यो सँग जोडिएका राम्रा यादहरू पनि जाँदैनन् । नराम्रा पनि जाँदैनन् । खुसी पनि जाँदैनन् । डर पनि जाँदैनन् ।
फिल्मले हरेक मान्छेलाई केटाकेटीको नजरले हेर्न सिकाएको छ ।
मिस्टर रोजर्स समयको पाबन्दीमा छैनन् । कार्यक्रम बनाउनु छ तर कार्यक्रमकै बिचमा फेरी दोहोरिएर पाउन नसकिने कुनै मोमेन्ट बन्यो भने उनी छोड्दैनन् । रिपोर्टर उनको सेटमा पुग्दा उनी रिसाएको एक बालकसँग बोलिरहेका हुन्छन् । सुरुमा हातमा भएको सामानले कुट्न बल गरिरहेको बच्चा उनले ‘तिमीभित्र बलियो मान्छे रहेछ’ भन्दिएपछि खुसी हुन्छ र उनलाई अँगाल्छ । मतलब उनले उसलाई अरूले भनिरहेको जस्तो कमजोर भनिदिएनन् । मतलब उसले गरेको सारा प्रतिक्रिया उसलाई अरूले गरेको व्यवहारको बचाउमा भइरहेको थियो ।
यो फिल्मले बच्चालाई हेर्ने नयाँ दृष्टिकोण दिन्छ ।
एउटा शक्तिशाली दृश्यमा उनी सेटमा राखिएको टेन्ट एक्लै टाँग्न खोज्छन् । तर सक्दैनन् । कति गरे पनि सक्दैनन् । सबैलाई लाग्छ उनले कोही साथीलाई लगाउन लगाए पनि हुन्थ्यो ।
सुटिङ सकिन्छ । उनलाई अन्तर्वार्ता लिँदै रिपोर्टर सोध्छ ‘त्यो टेन्ट सुरुमा नै सेट गरेर राखेको भए पनि हुन्थ्यो । किन नगरेको ?’
रोजर्स जवाफ दिन्छन् ‘बच्चाहरूले ठुलो मान्छेले गर्ने गरेका योजनाहरू पनि सबै पुरा हुँदैनन् भनेर जान्नुपर्छ ।’
उनले भनेको यो कुरा गहन छ । हामीले बच्चाहरूलाई वा आफैँलाई पनि कति धेरै पर्फेक्सन सिकाउँदै गर्दा गल्ती हुने कुरा सिकाउन भुलिरहेका हुन्छौँ । उनले सुरुवातमा भनेको जस्तै हामी आफूभित्र नै दैलो लगाएर यति धेरै कुराहरू लुकाइरहेका हुन्छौँ कि बिस्तारै त्यो बोझ बन्न थाल्छ । अनि त्यसले अर्को मान्छेलाई पनि ढोका लगाएर बस्ने बनाइदिन थाल्छ ।
फिल्मको एउटा दृश्यमा उ सोध्छ ‘बच्चा हुर्काउने क्रममा अभिभावकले गर्ने सबैभन्दा ठुलो गल्ती के हो ?’
उनी जवाफ दिन्छन् ‘आफ्नो बाल्यकाल नसम्झिनु । त्यही परिस्थितमा यदि आफू पनि हुनुपर्थ्यो भने के गर्थेँ होला भनेर नसोच्नु ।’
उनले भनेको कुराको सार स्पष्ट छ । हामी अक्सर बच्चाहरूले आफूले चाहेको जस्तो गरुन् सोचिरहेका हुन्छौँ । तर उनीहरूले के चाहिरहेका छन् बुझ्दैनौँ । उनीहरू के कुरामा सङ्घर्ष गरिरहेका छन् । उनीहरू किन रिसाइरहेका छन् ? कारण खोज्दैनौँ ।
यो फिल्मले एकातिर हुर्किसकेका मान्छेले बोकिरहेको व्यक्तिगत ट्रमालाई समानूभुतिसहित सम्बोधन गरेको छ । दुबैका आफ्ना आफ्ना व्यक्तिगत समस्या छन् । तर पनि उनीहरूले संवाद गरेका छन् । संवादले एक अर्काको दुःखलाई हटाउन सकिन्छ भनी सिकाएका छन् । मिस्टर रोजर्स भनिरहन्छन् ‘कसैलाई असर नगरी पनि, आफूलाई असर नगरी पनि आफ्ना भावनाहरूलाई सम्हाल्न सकिन्छ ।’ त्यसको लागि उनीहरूले जसरी बोलिरहे त्यस्तै संवाद चाहिन्छ । उनीहरू जसरी क्लोज फ्रेममा आए त्यस्तै फ्रेमिङ चाहिन्छ ।
त्यति भए आफूलाई पनि बुझाउन सकिन्छ अनि बालबालिकालाई पनि सिकाउन सकिन्छ कि,
हामी मध्येका हरेक मान्छे अमूल्य छौँ ।
‘म छैन’ भनेर प्रश्न गरिरहेका पनि हुन सक्छौँ ।
तर छौँ ।
ट्रेलर: https://www.youtube.com/watch?v=-VLEPhfEN2M&ab_channel=SonyPicturesEntertainment