फेरि भारी वर्षा (तीन दिनको पूर्वानुमान)
काठमाडौं । देशका विभिन्न भू-भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।केही
क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बिहान सामान्य बदली रहँदा बाँकी भू-भागमा आंशिक बदलीदेखि सामान्य बदली रहेको छ । गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । वाग्मती गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा र बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
विभागले राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी भू-भाग एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।