मकालु कला

‘उदास कविताहरू’

एम क्युब आर्ट ग्यालरीमा बाह्र जना युवा कलाकारहरूको प्रदर्शनी भइराखेको थियो  । त्यसबारे इन्स्टाग्राममा पोस्ट देखेपछि म र मेरी साथी विशाखा त्यहाँ पुग्यौँ ।

चाकुपाट ललितपूरस्थित ग्यालरी पुग्नासाथ सिसाको भित्ता भएको कोठा देखियो जहाँ विभिन्न चित्र र अरू फरक किसिमको कृतिहरू प्रदर्शनीमा राखिएको थियो ।

भित्र पस्ने बित्तिकै मेरो आँखा त्यहाँको भुईँमा पर्‍यो । त्यसको माझमा गोलो काठ माथि साना साना हात्तीको आकार जस्तो मूर्तिहरू राखिएको थियो । कुनै गुलाबी रङ्गका थिए भने कुनै खरानी रङ्गको । कलाकार शैलेश राज भण्डारीले तिहारमा पाइने ‘चिनियाम किशी’ नामक मिठाइबाट प्रेरणा लिएका रहेछन् । गुलाबी रङ्ग मिठाईको नै रङ्ग रहेछ । अहिले त्यो मिठाई काठमाडौँमा पाउन निकै गाह्रो छ । त्यो मिठाईजस्तै अहिले हात्तीहरू पनि अहिले लोप हुँदै छन् । त्यहाँ बिचमा राखिएका हात्ती भने अलि अलि चर्किएका थिए । छेउ छेउका भने टिलिक्क टल्किएका थिए । ती छेउका हात्तीहरूले बुढा हात्तीहरूलाई बचाउन घेरेर बसेको जस्तो देखिन्थ्यो ।

ढोकाकै छेउमा एउटा खरायोको चित्र थियो । नजिकैबाट नियाल्दा ‘वुडकट’ लेखिएको देखिन्थ्यो । वुडकट अर्थात् काठमा चित्र कोरेर त्यसको आकारलाई काट्ने, अनि त्यसमा रङ्ग दलेर अर्को कागजमा छाप्ने । उनको चित्र छेउमा वुडकट बनाउँदा प्रयोग भएको काठ पनि राखिएको रहेछ ।  यो कला शैलीबारे मलाई पहिला देखि नै निकै उत्सुकता थियो । रुबी महर्जन द्वारा बनाइएको त्यो शृङ्खलामा कैयौँ रङ्गहरू प्रयोग भएको थियो । त्यो भन्दा अगाडी यो शैलीको मैले देखेको चित्र प्राय एउटै रङ्गमा मात्र सीमित भएको देखेकी थिए ।

‘ओइ, यहाँ हेर् न !’

विशाखाले एउटा निलो चित्रतर्फ इशारा गरी ।

त्यहाँ सँगसँगै दुई वटा निला चित्र टाँगिएका थिए । दुइटै चित्र उदास लाग्दो देखिन्थे । पहिलो चित्रमा एक महिला  टाउकोमा हात लगाएर बसेकी थिइन । घरको छत बिग्रिएजस्तो देखिन्थ्यो । अगाडी दुइटा पिर्का राखिएका थिए । कुनै बोराबाट धुवा आइराखेको जस्तो देखिन्थ्यो । रसिक राईद्वारा रचित त्यो चित्र शृङ्खलाको नाम ‘उदास कविताहरू’ थियो ।

त्यो पुरानो देखिने घरमा ती महिला एक्लै बसेकी थिइन । त्यस पुरानो घरमा उनी कसैको पर्खाइमा बसेको जस्तो देखिन्थिन । छेउको चित्रमा एक जना झन्डै झन्डै आफूभन्दा ठुलो भारी बिसाउँदै बसेका थिए । उनको त्यस ढाडमा जिम्मेवारीको भार थियो । उनी एउटा लट्ठीको सहारामा अडिएका थिए । त्यो लट्ठी केवल उनको आत्मबलको थियो । जुन निकै कमजोर हुँदै गएको देखिन्थ्यो ।

नियाल्दै जाँदा त्यहाँ भिन्नाभिन्नै किसिमको शैलीको चित्रहरू थिए । सबै तीर हेर्दै जाँदा मेरो आँखा एउटा ढुङ्गामा पर्‍यो । त्यो कुनै सामान्य किसिमको बाटोमा भएको ढुङ्गा थिएन ।  त्यसलाई टेबलमा सजाएर राखिएको थियो । अरू चार वटा पनि वरपर थिए । अनौठो कुरा त ती सबैको हात पलाएका थिए । तर त्यो सामान्य हात थिएन, कसैले ल्याएर जोडेको मान्छेको हात जस्तै देखिन्थ्यो ।

निलेश शाक्य द्वारा बनाइएको त्यो कलाको नाम ‘पञ्च बुद्ध’ रहेछ ।

उनको अनुसार भगवान्को मूर्तिहरू हामी मानिसले नै बनाउने गर्दछौ; र यो उनको लागि पञ्च बुद्धको मूर्ति हो । मूर्ख मानिसहरू पनि ढुङ्गा जस्तै हुने गर्दछन् । यदि हामीले भगवानको मूर्तिलाई पुज्न छाडेर बुद्धको मार्गमा हिँड्यौ भने हामीले पनि मोक्ष पाउन सक्छौ ।

ती हातहरूले फरक फरक मुद्राहरू देखाउँदै थिए । साँचैमा सादा डुङ्गामा पनि भगवान् खोज्ने उनको दृष्टिकोण निक्कै रोचक लाग्यो ।

बिस्तारै बिस्तारै हामी तलतिर लाग्यौ । तल पस्ने बित्तिकै भुईँभरि पात छरिएको देखियो । त्यहाँको भित्तामा सानो सानो फ्रेम टालिएको थियो । अलि नियालेर हेर्दा त्यहाँ फरक फरक पात टालिएका थिए । तीनमा विभिन्न शब्दहरू लेखिएको थियो । तीनको बिचमा एउटा टुल थियो । त्यो माथि गम र एउटा सानो किताब जस्तो ह्यान्डबुक राखिएको थियो । शीर्षक थियो ‘हाईड’ ।

कलाकार मोमिन प्रधानले ती पातहरू विभिन्न ठाउँबाट जम्मा गरेका रहेछन् । तीनमा उनले एउटा कविता लेखेका थिए । फरक पातमा फरक शब्द । दर्शकहरूले समेटेर त्यो फ्रेममा टाँस्न पर्ने । सबै शब्द भेटे पनि अब त्यो कविता कहिले फेरी पुरा हुँदैन । त्यसैगरि एउटा मान्छेको भावनाहरू पनि सधैँ एउटै हुँदैनन् । ती अल्झिएका हुन्छन् । हराएका हुन्छन् । लुकेका हुन्छन् । यदि नबुझ्ने मान्छे पर्‍यो भने फेरी एउटै शैलीमा मिलाउन निकै गाह्रो पर्दछ ।

बिस्तारै त्यहाँ अरू मान्छेको भिड बढ्यो । म अलि पछि सरे । त्यहाँ काठको मूर्ति देखा पर्‍यो ।

‘‘ख्या’ पो बनाएको रहेछ यहाँ त’ विशाखाले भनी ।

‘के हो ख्या भनेको ?’ मैले सोधे ।

‘नेवारी संस्कृतिमा भन्ने गरिन्छ; हामी सानो हुने बेला पनि भनिन्थ्यो: बच्चा एक्लै भयो भने ख्या आएर सँगै खेल्छ । यहाँ पनि त्यही रहेछ ।’

सुरज शिल्पकारद्वारा बनाइएको त्यो मूर्ति आधा कालो र आधा रङ्ग नलाइएको थियो । एउटै सतहमा एउटी बच्ची र ऊ भन्दा निकै ठुलो प्राणी खेल्दै थिए । त्यो प्राणी हेर्दा अलि डरलाग्दो नै थियो । उनले नेवारी किम्बदन्तीलाई मिश्रित गरेर यो कृतिको रचना गरेका रहेछन् ।

निस्किनु अगाडी फेरी हामीले सरर सबै कला हेर्‍यौ । यति रोचक कलाको रचना गर्ने कोही कलाकार भेटिन्छ कि भनेर रेजिस्टरमा बस्नुभएको दिदीलाई सोधे । उनले माथि नै एक जना कलाकार हुनहुन्छ भनिदिइन् ।  हामी माथि उक्लियौँ ।

एक कलाकार निस्किन खोज्दै रहिछन् ।

उनी वुडकट चित्रको कलाकार रुबी महर्जन थिइन । आफ्नो मास्टर्स पनि प्रिन्टमेकिंगमा नै गर्दै रहिछन् । रुबी प्रकृतिसँग निकै नजिक देखिन्थिन ।

‘वुडकटमा काम गर्दा प्रकृतिसँग मिलेर काम गरेकोजस्तो महसुस हुन्छ । काठसँग काम गर्दा आनन्द आउँछ ।’ उनले भनिन् ।

रुबिले ललित कला सँगसँगै माइक्रोबायोलोजिमा पनि ब्याचलर्स अध्ययन गरेकी रहिछन् । त्यसले उनलाई प्रकृतिलाई अझै नजिकबाट बुझ्ने मौका दिएको रहेछ । पचास जना कलाकारहरू मध्ये छनोट भएका बाह्र जनामा परेकोमा उनी हर्षित थिइन । विज्ञान पढेको भए पनि अब आफ्नो अभिलाषा जहाँ छ, त्यहाँ नै काम गर्ने उनको योजना रहेछ । विज्ञान पढेको भएर आफूले अरूभन्दा अलि फरक सोच्न सक्ने उनको धारणा रहेको छ ।

एकै छिन मात्र कुरा गरेर उनी त्यहाँबाट निस्किन । म र विशाखा पनि त्यहाँबाट हिँड़यौ ।

त्यहाँ मैले कला धेरै स्वरूपमा देख्ने मौका पाए । सुकेको पात देखि ढुङ्गामा बनाइएका अनौठा कृतिहरू । सादा कुरामा पनि कति गहन सोच विचार पुर्‍याउने क्षमता कलाकारहरूमा हुन्छ ।

अनि विशेष कुरा त कला ग्यालरी बाट निस्किएपछि संवाद गर्न थाल्छ ।

ती कला अहिले पनि मसँग संवाद गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *