चार वर्षे स्नातक विद्यार्थीलाई बोझ भयो ?

काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को चार वर्षे स्नातक कार्यक्रम विद्यार्थीमा बोझ थपेको भन्दै शिक्षा शास्त्र संकायका डिन चित्रबहादुर बुढाथोकीले तीन वर्षे कार्यक्रम कायम गर्न लिखित प्रस्ताव प्राज्ञिक परिषद्मा लगेका छन्। यो प्रस्तावले विद्यार्थी, अभिभावक तथा प्राध्यापक सबैलाई तरंगित पारेको छ।

असार १४ गते त्रिवि प्राज्ञिक परिषद्को बैठकमा डिन बुढाथोकीले शिक्षा शास्त्र संकायको प्राविधिक विषयबाहेक अन्यमा चार वर्षे स्नातक कार्यक्रम तीन वर्षमा झार्न लिखित प्रस्ताव पेस गरेका हुन्। परिषद् सदस्यसमेत रहेका उनले त्रिविले विश्वबैंकको इसारामा कार्यान्वयनमा ल्याइएको चार वर्षे स्नातक कार्यक्रमहरू शिक्षा शास्त्र संकायमा साढे पाँच वर्षमा पनि पूरा हुन नसकेको बताउँदै यसले विद्यार्थीका लागि बोझ थपिदिएको अवगत गराए। उनले चार वर्षे स्नातक निकै लामो र खर्चिलो भएको भन्दै तीन वर्षमा झार्न प्रस्ताव गरेका हुन्।

शिक्षा शास्त्र संकायको आइटी, विज्ञानबाहेकका सबै कार्यक्रममा चार वर्षे स्नातकमा भर्ना हुनेको संख्या घट्दै गएकाले विद्यार्थीको रुचि लामो समयावधिको कोर्समा कम हुँदै गएको उल्लेख गर्दै उनले तीन वर्षमा झार्न लिखित रूपमा प्रस्ताव पेस गरेको जनाए। उनको प्रस्तावमाथि अन्य संकायका डिनहरूले परिषद् बैठकमा बृहत् छलफल गरेका थिए। उनले विद्यालयको शिक्षक हुन स्नातक तह उत्तीर्ण गरे पुग्ने नीति सरकारले बनाएको तर्क गर्दै शिक्षा शास्त्र संकायमा चार वर्षे स्नातकलाई तीन वर्षमा झार्न परिषद्मा प्रस्ताव गरेपछि छलफल अघि भएको बताए। उनको यो प्रस्तावमा उपस्थित अन्य डिनहरूले समेत समर्थन जनाएको डिन बुढाथोकीले सुनाए। उनका अनुसार अमेरिकाबाहेक अधिकांश देशमा स्नातक तीन वर्षे नै छ। त्रिविले पनि ती देशका कार्यक्रमलाई समकक्षता दिएको छ। यस्तो अवस्थामा नेपालमा पनि तीन वर्षे स्नातक कायम गर्दा अन्तर्राष्ट्रिय स्तरकै कोर्स हुने उनको ठहर छ।

‘तीन वर्षे स्नातक कार्यक्रमलाई विश्वबैंकको इसारामा आर्थिक वर्ष २०७१÷७२ देखि चार वर्षेमा कायम गरियो। तर त्रिविको परीक्षा सञ्चालनदेखि नतिजा प्रकाशन र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने समय साढे पाँच वर्ष लाग्ने रहेछ,’ डिन बुढाथोकीले नागरिकसँग भने। उनले विश्वबैंकले अमेरिकाको शिक्षासँग मेल खानेगरी नेपालमा पनि दबाब सिर्जना गरेर बिनाअध्ययन र गृहकार्य नै चार वर्ष कायम गराएको दाबी गरे। ‘तर नेपालको अहिले यो कार्यक्रम विद्यार्थीका लागि बोझ बनेको छ,’ उनले भने, ‘शिक्षा अध्ययनपछि विद्यालयको शिक्षक बन्न कक्षा ८ सम्म स्नातक र ९–१२ पढाउन स्नातकोत्तर पास भए पुग्छ। यस्तो अवस्थामा तीन वर्षे स्नातक पर्याप्त हुन्छ। त्यही भएर मैले चार वर्षे स्नातक शिक्षा शास्त्रका लागि बोझ भएकाले तीन वर्षमा झार्न प्रस्ताव गरेको हुँ।’ त्रिविका पदाधिकारीले आफूले पेस गरेको प्रस्तावमाथि छलफल गरे पनि पारित भने नभएको उनले बताए।

‘हाम्रो लक्ष्य अमेरिकाका लागि नभई नेपालकै लागि दक्ष जनशक्ति उत्पादन गर्ने हुनुपर्छ,’ डिन बुढाथोकीले भने, ‘बेलायत, भारत र धेरै युरोपेली देशमा इन्जिनियरिङ, मेडिकल र प्राविधिक विषयबाहेक अन्यमा तीन वर्षे स्नातक कायम छ।’ उनले शिक्षा शास्त्र संकायअन्तर्गत हाल चार वर्षे स्नातकामा भर्ना भएका विद्यार्थीमध्ये अन्तिम वर्ष पुग्दा ७० प्रतिशतले छाडिसकेको हुने जानकारी दिए। ‘गरिबका छोराछोरीलाई चार वर्षे स्नातक आर्थिक बोझ बनेको छ,’ उनले भने।

उनले संसारका विश्वविद्यालयहरूले कार्यक्रमको प्रकृति हेरेर तीन र चार वर्ष दुवै कायम गरी लचिलो बनेको अवस्थामा नेपालले पुरानो सोच बोकेर चल्न नहुने तर्क गरे। ‘विश्वबैंकको उच्च शिक्षा परियोजनाअन्तर्गत दबाबमा चार वर्षे स्नातक कायम गरियो। ठिक–बेठिकबारे राज्यले छलफल नै चलाएन,’ उनले भने, ‘मानवविकी र व्यवस्थापनका डिनज्यूहरूले समेत विषयको प्रकृतिअनुसार कुनै तीन वर्षे र कुनै चार वर्षे बनाउन लचिलो हुनुपर्ने सुझाव परिषद्मा दिनुभएको छ।’

व्यवस्थापन संकायका डिन डिल्लीराज शर्माका अनुसार त्रिविले अब स्नातक कार्यक्रम विषयको प्रकृति हेरेर समयावधि निर्धारणका लागि बृहत् छलफल गर्नुपर्नेमा जोड दिए। व्यवस्थापनतर्फका केही कार्यक्रममा पनि तीन वर्षे कायम गर्दा नै उचित हुने उनले बताए। ‘व्यवस्थापनमा पनि चार वर्षे कोर्स व्यावहारिक बनाउन अन्तिम एक वर्ष उद्योग व्यवसायसँग जोड्न पनि कोर्स परिमार्जन गर्नुपर्ने मेरो सुझाव हो,’ डिन शर्माले नागरिकसँग भने, ‘सबै तीन वर्ष स्नातक बनाउने भन्ने होइन। व्यवस्थापनको कोर्स परिमार्जन गरी उद्योग र व्यवसायसँग जोड्नुपर्नेमा छलफल भएको हो।’

यसअघि नेपालमा २०४६ देखि २०५२ सालसम्म दुई वर्षे स्नातक थियो भने २०५३ देखि २०७० सम्म तीन वर्षे स्नातक बन्यो र पछिलो समय २०७१ देखि चार वर्षे कायम गरिएको हो। ‘मैले दुई वर्षे स्नातक गरेको हुँ। हाम्रो दुई वर्षे पनि विश्वस्तरीय नै थियो। उः बेला पनि त्रिविले उत्पादन गरेको जनशक्ति विश्वको जुनसुकै विश्वविद्यालयमा थप उच्च शिक्षा हासिल गर्न योग्य थिए,’ उनले भने, ‘फरक यति मात्र थियो कि जुन देशमा जाने हो, त्यो देशअनुसारको थप कोर्स गर्नुपर्थ्याे।’

यो व्यवस्था चार वर्षेमा पनि कायमै छ। विदेशी विश्वविद्यालयको मागअनुसारको कोर्स थप अध्ययन गरेरै माथिल्लो तहमा भर्ना हुनुपर्नेछ। त्रिवि योजना निर्देशनालयका निर्देशक प्राध्यापक डा. धु्रवकुमार गौतमका अनुसार विश्वविद्यालयमा विगत पाँच वर्षको तथ्यांक हेर्ने हो भने विद्यार्थी बढेकै छन्। तर भर्ना भएपछि बीचैमा छाड्ने पनि उत्तिकै छन्। त्रिविले विगतमै तीन वर्षे कोर्सलाई चार वर्षे बनाउनुको कारणबारे बहस गर्नुपर्ने उनको ठहर छ । –नागरिक दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *