विद्यार्थीलाई कृषि उत्पादन गरी पैसा कमाउन सिकाउँदै बूढानीलकण्ठ स्कुल
२०८० साउन ११ गते
काठमाडौँ । बूढानीलकण्ठ स्कुलको नलेजपार्क वि.सं २०७८ वैशाख १ गते विधिवत् रूपमा स्थापना गरिएको थियो । कक्षाकोठाभित्र सैद्धान्तिक पढाइ त हुन्छ नै, सँगै फिल्डमा लगेर व्यवहारिक रूपमा शिक्षा सिकाउन उक्त नलेज पार्क स्थापना गरिएको बूढानीलकण्ठ स्कुलका शिक्षक तथा वरिष्ठ कृषिविज्ञ ध्रुवकुमार श्रेष्ठ बताउँछन् ।
उनका अनुसार पेसा व्यवसाय र प्रविधि शिक्षा विषयमा प्रायजसो विद्यार्थीले शतप्रतिशत अंक ल्याउने गरेका छन् । ‘यस विषयमा प्रायजसो सबै विद्यार्थीको मार्क्स डिस्टिङसन हुन्छ,’ उनले भने ।
सुरुदेखि विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रमकामा सहभागी गराउँदै कृषि गर्न सिकाएको उनले बताए ।
‘बाली लगाउन ठाउँको छनोटदेखि लिएर कस्तो माटाे वा स्थान कुन बिरुवाका लागि उपयुक्त हुन्छ त्यो सबै कुरा हामीले विद्यार्थीलाई सिकाएका छौँ,’ उनले भने ।
उनले बिरुवा रोप्दा जमिनको तयारी गर्ने, मल राख्ने, ब्याड बनाउने, बिरुवा रोप्न, हेरविचार गर्ने र रोग किरा नियन्त्रण गर्ने चरणहरू पनि सिकाउँछन् । विद्यार्थीले पनि उही चरणलाई पछ्याउँदै बोटबिरुवा रोपेको उनी बताउँछन् ।
त्यत्तिमात्र नभएर फलिसकेपछि फल टिप्ने र टिपिसकेपछि कसरी बिक्री वितरण गर्ने भन्ने जस्ता सबै कुरा व्यवहारिक रूपमा सिक्ने र त्यसैको आधारमा उनीहरूले प्रस्तुतीकरण र रिर्पाेट बनाएर बुझाएपछि मूल्याङ्कन गर्ने बताए । यसो गर्दा उनीहरूको सही मूल्याङ्कन हुने श्रेष्ठ बताउँछन् ।
अन्य विषयको तुलनामा पेसा व्यवसाय र प्रविधि शिक्षामा विद्यार्थी आफैँ सम्मिलित हुने उनको भनाइ छ । उनीहरूले रोपेका बिरुवामा अपनत्व हुने र ‘यो मेरो बिरुवा हो । यसलाई मैले हेरविचार गर्नुपर्छ,’ भन्ने भाव विद्यार्थीमा आउने गरेको बताए ।
उनी भन्छन्, ‘बरु उनीहरूको टिफिन छुट्छ यो छुट्दैन । यस्तो हुँदो रहेछ । आफ्नो भनेपछि माया ममता हुने देखिन्छ । हरेकमा उनीहरूले नाम रोल नम्बर राखेका हुन्छन् ।’
उनले कृषिको व्यापक क्षेत्र रहेको बताउँदै कृषिमा विद्यार्थीको राम्रो करियर रहेको पनि बताए । पशुपालन, माछा पालन, चराचुरुङ्गी पालन, फलफूलखेति, तरकारीखेति जस्ता जुनसुकै विषयमा विद्यार्थीले टेक्नोलोजी प्रयोग गरेर कृषि गर्न सक्ने हुँदा कृषिमा प्रशस्त सम्भावना रहेको उनले बताए ।
हाम्रा परम्परागत कृषि प्रणालीलाई परिवर्तन गरेर हाइटेक प्रविधिको प्रयोग गर्याैँ भने कृषिमा प्रशस्त मुनाफा छ । त्यसैले उक्त स्कुलका विद्यार्थीले फिल्डमा कुटो कोदालो मात्र नभएर नयाँ प्रविधि र अनुसन्धान गर्ने गरेका उनले बताए ।
भन्छन्, ‘हाम्रा विद्यार्थीले फिल्डमा पनि कुटो कोदालो मात्र नभइकन नयाँ प्रविधि, अनुसन्धान गरेका छन् । जसमा हाइटेक बायोल्याब भनेर राखिएको छ । त्यसमा सेन्सरहरू राखेर मोइस्चर कति कन्टेन्ट छ, त्यस अनुसार सिँचाई गर्ने, लाइटको व्यवस्था, इरिगेसनको व्यवस्था त्यो सबै टेक्नोलोजीबाट गर्ने गरेका छन् ।’
अनुसन्धान र शिक्षालाई समृद्धिमा जोड्न र उक्त शिक्षालाई व्यवहारमा लागु गर्न हरेक विद्यालयमा नलेज पार्क आवश्यक रहेको उनले बताए । उनका अनुसार नलेज पार्कको स्थापना गरिनुको ५ उद्देश्य छन् ।
१.शैक्षिक प्रयोजन
शैक्षिक प्रयोजन नलेजपार्क स्थापनाको प्रमुख उद्देश्य रहेको बूढानीलकण्ठ स्कुलका शिक्षक तथा वरिष्ठ कृषिविज्ञ ध्रुवकुमार श्रेष्ठ बताउँछन् । उनले स्कुल एउटा शैक्षिक संस्था भएकाले शिक्षामै संवृद्धि खोज्न नलेजपार्क स्कुलमा बनाएको बताए । विद्यार्थीलाई जीवन उपयोगी शिक्षा दिने उद्देश्य राखेर नलेज पार्क स्थापना गरेको उनकाे भनाइ छ ।
‘शिक्षाका विभिन्न विषयहरू हुन्छन्,’ उनले भने, ‘फिजिक्स , केमेस्ट्री, बायोलोजी, इकोनोमिक्स तमाम कुराहरू हामी विद्यार्थीहरूलाई फिल्डमै ल्याएर सिकाउँछौँ । क्लास रुमभित्र थेउरी मात्र घोकाउने होइन कि फिल्डमा ल्याएर व्यवहारिक रूपमा सिकाउने हो । जुन विद्यार्थीले व्यवहारिक रूपमा सिक्छन् नि, असाध्यै उत्साह हुन्छ उनीहरूमा । अरू विषय पढाउने तरिकाभन्दा धेरै रमाउँछन् । आफैँ इन्भल्भ हुन्छन् । त्यो पहिलो उद्देश्य हो ।’
२. अर्ग्यानिक तरकारी उत्पादन र प्रयोग गर्ने
खुल्ला आवासीय विद्यालय भएकाले स्कुल आफैँले अर्ग्यानिक तरकारी उत्पादन र उपभोग गर्ने गरेको शिक्षक श्रेष्ठको भनाइ छ । भने ‘अर्ग्यानिक भेजिटेबल्स हामी उत्पादन र उपभोग गर्छौ ।’
उनका अनुसार नलेजपार्कमा भएका बोटबिरुवाहरूमा युरिया मलको प्रयोग गरिएको छैन । केबल भान्छाबाट निस्कने फोहोर र अन्य कुहिने वस्तुको प्रयोग गरेर झोलमल बनाएको छ । उक्त झोलमलको प्रयोग गर्दा युरिया मल आवश्यक नपर्ने र माटोको उर्वरा शक्ति नघट्ने श्रेष्ठको दाबी छ । स्कुलले अर्ग्यानिक तरकारी उत्पादन र उपभोग गर्दै आएको उनले बताए ।
३. कृषिलाई व्यवसायीकरण गर्ने
स्कुलमा रहेको नलेजपार्कमा विद्यार्थीले कृषि पेसा मात्रै सिक्दैनन् । तर उक्त पेसाबाट कसरी आम्दानी गर्ने भन्नेकुरा पनि सिक्ने श्रेष्ठले बताए । उनी भन्छन् ‘ पैसा कमाउनु पर्याे नि । कमाई भनेको के हो ? त्यो विद्यार्थीले सिक्छन् । उनीहरूले यहाँ बिरुवा लगाउँछन् । र एउटा बिरुवाको सय वा ५० रुपैयाँमा बेच्छन् ।’
विद्यार्थीहरूले स्ट्रबेरी र अन्यबालिहरूको बिक्री वितरण गर्ने र उत्पादन बाट पैसा कमाउने गरेको उनले बताए ।
४. माटोको स्तर पहिचान गरी खेती गर्ने
स्कुलले माटोको स्तर पहिचान गरी विद्यार्थीहरूलाई खेती गर्न सिकाएको श्रेष्ठले बताए । उनका अनुसार विद्यार्थीलाई ३ वटा मोडालिटि बनाएर खेती गर्न सिकाइएको छ । जमिन नभएको ठाउँमा कसरी हरियाली बनाउने, अलिअलि जमिन भएको ठाउँमा कस्तो मोडालिटि र धेरै जमिन भएको ठाउँमा कस्तो खालको खेती गर्ने भनेर सिकाउन नलेज पार्क बनाइएको उनले बताए ।
साथै जमिन नै नभएको ठाउँमा कौसी खेती फार्मिङ र थोरै थोरै जमिन भएको ठाउँमा बेडहरू बनाएर खेती गर्न सकिने उनले बताए ।
५.‘बायोडाइभरसिटी गार्डेन’ बनाउने
नेपालको हिमाल, पहाड र तराईमा पाइने बिरुवाहरू रोपेर बूढानीलकण्ठ स्कुलले ‘बायोडाइभरसिटी गार्डेन’ बनाएको छ । स्कुलमा अध्ययनरत विद्यार्थी बिदामा घर जाँदा आफ्नो स्थानका बोटबिरुवा ल्याई उक्त गार्डेनमा रोपी बायोडाइभरसिटी गार्डेन बनाएको उनले बताए ।
उनले भने ‘यहाँ जति पनि बिरुवाहरू छन्, नेपालमा पाइने बिरुवाहरू, हामीले एउटा प्लग बनाएका छौँ । त्यसलाई बायो बायोडाइभरसिटी गार्डेन भन्या छौँ । ती बिरुवाहरू बिदामा घर जाँदा विद्यार्थीले ल्याएर रोपेका हुन् ।’
उक्त गार्डेनमा हिमालको स्याउदेखि पहाडका अलैँची र तराईका बिरुवाहरू पनि देख्न सकिन्छ । उनले नेपालको बिरुवामा भएका विविधता अध्ययन गर्न चाहने व्यक्तिले स्कुलको यही नलेजपार्कमा आएर अध्ययन पूरा गर्न सक्ने उनले बताए । अन्त्यमा उनले सबै सञ्चारमाध्यम र युवालाई देशलाई समृद्धि बनाउन तर्फ लाग्न आग्रह गरे ।
२०८० साउन ११ गते
प्रतिक्रिया
सम्बन्धित