संसदीय समितिले नेतृत्व पाउन नसक्नु दुःखद : सुवास नेम्वाङ (भिडिओ)

काठमाडौँ । नेकपा एमाले संसदीय दलका उपनेता एवं उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले अहिलेसम्म पनि संसदीय समितिले नेतृत्व पाउन नसक्नु दुःखद् भएको बताएका छन् ।

शुक्रवार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफूलाई दलका नेताहरूले असार अन्तिमसम्ममा समितिले नेतृत्व पाउँछ भनेको भएपनि समय कटिसक्दा पनि समिति नेतृत्व विहीन हुन राम्रो नभएको बताए । उनले समितिको नेतृत्व जतिसक्दो चाँडो हुनुपर्ने बताए ।

उनले भने ‘यसबीचमा तपाईँहरू जस्तै मैले बारम्बार यो कुरा गरेको छु, हाम्रा नेताहरूसँग, सत्तापक्षसँग मलाई जानकारी भएअनुसार आजभोलि टुंगिनुपर्दथ्यो । असार भित्रमा सभापति संसदले पाउँछ, भनेर मलाई भनिएको थियो । तर असार पनि नाघ्यो । अब समितिले सभापति पाउँछ । समितिले सभापति नपाएको कुरा दुःखद् हो । जतिसक्दो चाँडो यसले टुंगो पाउनुपर्छ । हामीले मंसिरदेखि अहिलेसम्म समिति सभापति त बनाउन सकेका छैनौँ भने अब हामी टुंग्याउनतर्फ लागौँ । समितिको सभापति नहुँदा वास्तवमा समितिको नेतृत्व नै छैन । हाम्रा ज्येष्ठ सदस्यहरूले त समिति सञ्चालन गर्नुभएको छ, धन्यवाद दिनुपर्छ । जुम्लामा भएको घटनालाई लिएर एउटा प्रक्रिया सुरु गरौँ । अनुगमन भनेर उपसमिति नै बनाउने काम नगरौँ । यसबारेमा हामीलाई सरकारले जानकारी दिँदा त काम त सुरु भयो नि ।’

सांसद नेम्वाङले जुम्लामा भएको घटनको विषयमा छानबिन गर्न उपसमिति बनाइहाल्न आवश्यक नरहेको तर घटनाको अनुसन्धानका लागि समिति सभापतिको नेतृत्वमा केही प्रक्रिया सुरु गर्न सकिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *