सय किलो सुन तस्करी गर्ने भरियालाई हैन मालिक पक्रन सरकारलाई दवाव दिऊ : किराँती (भिडिओ)
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले एक सय किलो सुन तस्करी गर्ने भरियालाई नभएर मालिकलाई पक्राउ गर्नुपर्ने बताएका छन् ।
शुक्रवार काठमाडौँ आयोजित २४ औँ अरुण स्मृति दिवस तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री किराँतीले यस्तो बताएका हुन् । उनले एक सय किलो सुन तस्करी प्रकरणमा भरिया नभई मालिक पक्राउ गर्न सरकारलाई संघ संस्था र जनताहरूले सडकबाट दबाब सिर्जना गर्नुपर्ने बताए । उनले कसैलाई शक्तिको भरमा न्याय,संविधान र कानुन भन्दा माथि बस्ने अधिकार नभएको भन्दै कानुन विपरीत काम गर्नेलाई सरकारले तत्काल कारबाही गर्ने बताए । उनले सरकार सुशासन र समृद्धि बाटोमा हिँडेर समाजवादमा पुग्ने प्रधानमन्त्रीको निर्देशन र उद्देश्यको बाटोमा हिँडेको बताए ।
उनले सरकारलाई भ्रष्टाचार र तस्करी नियन्त्रण गर्नको लागि जनताको साथ अपरिहार्य रहेको बताए । उनले भ्रष्टाचार र तस्करीको संरक्षण गरेर मुलुकमा सुशासन र समृद्धि हासिल हुन नसक्ने बताए । उनले सुशासन र समृद्धिमा पुग्नको निम्ति सरकारले उठाएका सही कदमहरूको पक्षमा जनता र मिडियाले निष्पक्ष रूपमा भनिदिनुपर्ने बताए ।
उनले भने ‘एयरपोर्टमा सुन बरामत गरियोस् । सुदन किराँतीको परीक्षण सुरु भयो भन्छन् । मेरो होइन त्यो । त्यो त अर्थ र गृहमन्त्रीको हो मेरो होइन । हामीले त त्यो देख्न नै पाउँदैनौँ । त्यो भन्सारको कुरा हो । यहाँ जे बोल्दा पनि भएको छ । तर भ्रष्टाचार असह्य छ । भ्रष्टाचार हाम्रो साझा शत्रु हो । बाच्दै गर्दा कृति गरेर गए बाचिन्छ भनेर थाहा हुँदा हुँदै किन यति धेरै पाप लोभ होला यो समाजमा । सय किलो सुन किन चाहिएको होला रु एक क्युटल सुन मान्छेहरूलाई किन चाहिएको होला रु तिनीहरूले मृत्यु बिर्सेका छन् । संसार जित्ने सिखन्दरले पनि मर्ने बेलामा मेरो लास कात्रोबाट हातलाई बाहिर राखेर आर्यघाट लानु भनेको थियो । किन भने मृत्युपछि रित्तै हात जान्छ भन्ने सन्देश दिन खोजेका थियो । यस्तो हुँदाहुँदै पनि नेपाल समाज किन लोभी पापी हुँदै गएको होला । विमानस्थलबाट सय किलो सुन बरामत गरेको छ । गम्भीरताका साथ म भन्न चाहन्छु । यसपालि भरिया होइन मालिक पक्रनुपर्छ । तपाईँहरू जस्तो संघ संस्था र जनताहरूले सडकबाट दबाब सिर्जना गर्नुपर्छ । कसैलाई शक्तिको भरमा न्याय,संविधान र कानुन भन्दा माथि बस्ने अधिकार छैन । अहिलेको सरकारको सुशासन र समृद्धि बाटो हिँडेर समाजवादमा पुग्ने प्रधानमन्त्रीको निर्देशन र उद्देश्यको बाटोमा हिँड्दैछौं । अहिले जनताको साथ अपरिहार्य छ । भ्रष्टाचार र तस्करीको संरक्षण गरेर सुशासन र समृद्धि हुँदैन । सुशासन र समृद्धिमा पुग्नको निम्ति सरकारले उठाएका सही कदमहरूको पक्षमा जनता र मिडियाले निष्पक्ष रूपमा भन्नुपर्छ ।’
पर्यटन मन्त्री किराँतीले सुदन किराँतीको परीक्षण सुरु भयो भन्नेको सुनेको छु मेरो नभएर अर्थ र गृह मन्त्रीको भएको बताए । उनले सुन बरामत गर्ने कार्यक्षेत्र पर्यटन मन्त्रीको नभएको भन्दै त्यो काम भन्सारको भएको बताए । उनले पर्यटन मन्त्रालयले सुन तस्करी जस्ता कुराहरू देख्न नै नपाउने भन्दै त्यो भन्सारले गर्ने काम भएको बताए । उनले वर्तमान सरकारलाई भ्रष्टाचार असह्य नभएको बताए ।