कम्बोडियामा ओलीको उच्च स्तरीय भेटवार्ता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाका प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन्।
कम्बोडिया सरकारको निमन्त्रणामा निर्वाचन पर्यवेक्षणका लागि औपचारिक भ्रमणमा रहेका पूर्व प्रधानमन्त्री ओलीले राजधानी नोम्पेनमा शनिबार बिहान प्रधानमन्त्री हुन सेनसँग भेट गरेको ओलीको निजी सचिवालयले जनाएको छ। ओलीसँगै विभिन्न देशका २२ जना वरिष्ठ राजनीतिज्ञहरू निर्वाचन पर्यवेक्षणका लागि कम्बोडियामा छन् ।
त्यसमा पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्रीहरू समेत छन् । नेपालबाट एमाले अध्यक्ष ओलीको नेतृत्वमा एउटा टोली कम्बोडिया पुगेको छ। ओलीसँग कम्बोडियाका विदेशमन्त्रीले पनि भेटवार्ता गरेका छन्।
ओलीलाई विमानस्थलमा त्यहाँका परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूले स्वागत गरेका थिए । विमानस्थलमै ओलीको पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानी, नाइजेरियाका पूर्व राष्ट्रपति जोनाथन गुडलकसँग पनि शिष्टाचार भेटवार्ता भएको सचिवालयले जनाएको छ ।
शनिबार नै ओलीले त्यहाँको निर्वाचन आयोगसँग छलफल गर्ने कार्यक्रम छ ।
परराष्ट्र मन्त्रालयले आयोजना गर्ने रात्रीभोजमा सहभागी हुनुअघि ओलीले शान्ति र लोकतन्त्रको लागि अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
कम्बोडियामा हुन गइरहेको निर्वाचनमा १८ वटा दलले भाग लिएका छन् । विभिन्न ६५ देशका ३३५ जना पर्यवेक्षकहरू त्यहाँ छन् ।