बालेनको युट्युब च्यानलमा ‘मह’को ‘अमिलो’ भिडियो
हुन त म ‘मह’लाई गुलियो मान्ने नै मान्छे हुँ ।
सानैदेखि उनीहरूलाई हेरेको । ‘बलिदान’ फिल्म देखि लिएर टेलिभिजन अनि पछि युट्युबमा आएका उनीहरूका धेरै चर्चित भिडियोहरू हेरेको । सम्झिसम्झी हाँसेको ।
उनीहरू दुवैले लेखेको किताब पनि पढेको भएर उनीहरूको कथासँग पनि निकट नै मान्छे हुँ ।
तर त्यसरी सानो हुँदाखेरी मनपराएका कतिपय कुराहरू उमेर बढ्दै जाँदा मन पर्न छोडेका पनि थिए । सानो हुँदा हाँसो उठेका कतिपय कुराहरू ठुलो भएर हेर्दा ‘यो हाँस्ने कुरा थियो र?’ जस्तो बनाएका पनि थिए ।
ती भिडियोहरूमा भएका कतिपय चरित्र निर्माणहरूले बिझाउन थालेका पनि थिए । ती भिडियोहरूमा विशेषतः महिला पात्रहरूलाई लिएर गरिने व्यवहार वा उनीहरू लक्षित संवादहरू असहज लाग्नेखाले भएको थाहा हुँदै गएको थियो ।
जुन भिडियो बनिसकेका थिए ती भिडियो बन्दाको समय फरक थियो । त्यो बेलाको बुझाइ अर्कै थियो । सायद त्यही भएर पनि ती चरित्र, वा संवाद, वा परिस्थितिहरू त्यस्तो आए होलान् भन्ने लागिरहेको हुन्थ्यो ।
‘मह’ मा थोरै ‘अमिलो’ मिसिएको लागिरहँदा त्यसलाई पनि यो पल्ट फरक फूलको रस परेछ होला भन्ने सोचिरहेको हुन्थेँ ।
तर केही दिन पहिला काठमाडौँ महानगरका मेयर बालेन शाहको प्राइभेट युट्युब च्यानलमा अपलोड भएको ‘उ गरेर उ गरौँ’ नामको एउटा भिडियो हेरिसकेपछि भने ‘मह’ अझै अमिल्लिएको महसुस भयो । (मह सञ्चारसँगको सहकार्यमा काठमाडौँ मेट्रोपोलिटन सिटी अफिसले बनाएको भिडियोलाई पहिला काठमाडौँ महानगरपालिकाको सञ्चार अभ्यास भनेर खोलिएको मेट्रो न्युजबाट अपलोड गरिएको रहेछ । पछि बालेनको च्यानलबाट पनि हालिएको रहेछ । यसमा भएको महत्त्वपूर्ण सूचना सबैतिर पुगोस् भनेर हालिएको होला भनेर सोच्ने बाहेक उनको व्यक्तिगत युट्युब च्यानलमा सरकारी पैसा खन्याएर बनाइएको भिडियो हालेको विषय पनि सोचनीय हो । किनकि उनले मेट्रो न्युजबाट हालिएको भिडियो १० लाखभन्दा धेरै फलोअर्स भएको फेसबुक पेजमा हालेका छैनन् ।)
तर मलाई बिझाएको विषय यो हैन ।
त्यो भिडियोले स्थानीय वडामा भएको मेलमिलाप केन्द्र तथा महानगरमा भएको न्यायिक समितिको कामको बारेमा जानकारी दिन खोजेको छ । स्थानीय तहमा मिलाउन सकिने मुद्दाहरूलाई सकेसम्म अदालतमा पुग्न नदिनुपर्ने सुझाव पनि दिएको छ । त्यो आफैँमा मननीय कुरा हो । कतिपय समस्याहरू यस्ता हुन्छन् जसको कारण ठुलो हुँदैन । सामान्य असमझदारी वा एक अर्कालाई सुन्ने ठाउँ नभएर ती बढिरहेका हुन्छन् । मेलमिलाप गराइदिने सहजकर्ता नभइदिएर पनि बिग्रिरहेका हुन्छन् । यो भिडियोले भन्न खोजेको त्यो कुरासँग मलाई कुनै आपत्ति छैन ।
तर त्यसलाई जसरी देखाउन खोजिएको छ अनि त्यसको लागि जस्तो किसिमले चरित्रहरू बनाइएको छ त्यो धेरै ठाउँमा आपत्तिजनक छ । अनि त्यहाँ धेरै ठाउँमा महिलाहरूमाथिको समस्याग्रस्त पुरुषवादी धारणा हाबी भएको छ । त्यसले एउटा मेलमिलाप केन्द्र वा न्यायिक समितिको बारेमा बोल्दै गर्दा त्यहाँसम्म पुग्न सक्ने लैङ्गिक कारणले आउने मुद्दाहरूलाई कमजोर पनि बनाइदिएको छ ।
भिडियोले अहिलेको परिवर्तित समयलाई धेरै नै हलुका रूपमा बुझेर चरित्र निर्माण गरेको छ । हँसाउन भनेर राखिएका दृश्यहरूले हँसाएका छैनन् बरु महिलाको स्थानलाई गहिरो गरी अवमूल्यन गरेका छन् ।
अहिले हँसाउने नाममा बनेका ‘चिनीका घोल’हरूले त यो काम खुलेआम गरिरहेका छन् । तर ‘मह’ बाटै त्यो तहको काम हुन थालेपछि भने यति लेख्नैपर्ने भयो ।
एक त वडाध्यक्षको चरित्र निर्माण गरेका हरिवंश आचार्यले उनलाई निभाउन गरेको भावभङ्गी असाध्यै कमजोर छ । उनका धेरै पुराना चरित्रहरूमा पनि मुख बिगारेर अनि कुनै निश्चित पाराको आवाज निकालेर गरिने कमेडी हाबी हुन्थ्यो । तर त्यस्तो कमेडीले त्यो खाले अपाङ्गता भएका हुनसक्ने धेरै चरित्रहरूलाई असर गरेको कुरा पटक पटक सामाजिक सञ्जालमा आइरहेका नै थिए । यहाँ पनि वडाध्यक्ष मुख बङ्ग्याएर बोल्छन् ।
त्यस्तो चरित्र बनाउनुको उद्देश्य के ? वडाध्यक्षलाई साधारण वडाध्यक्ष बनाउन सकिँदैन ?
उनको त्यो चरित्र निर्माणले त्यस्तो खाले कुनै अपाङ्गता भएका मानिसहरूलाई पुर्याउन सक्ने सम्भावित असरप्रति यो भिडियो संवेदनशील छैन ।
तर मलाई बिझाएको मुख्य विषय यो पनि हैन ।
मेलमिलाप केन्द्रमा मिलापको लागि आएको घटनामा झनै धेरै समस्या छन् । त्यहाँ दुई परिवार आएका छन् । उनीहरू छिमेकी हुन् । मुद्दा परेको विषय हो ती मध्ये एकले आफ्नो घरपट्टी झ्याल राखेको र झ्यालबाट छिमेकीकी श्रीमतीलाई हेरेको ।
त्यो घटना आफैँमा पनि समस्यापूर्ण छ । श्रीमान् भन्छन् ‘मेरो श्रीमती यस्तो राम्री छ । फेरी यो मान्छेको बिहे पनि भएको छैन । खतरा भएन ?’
उनको कुरामा सहमति जनाउँदै वडाध्यक्ष पनि भन्छन् ‘यो त खतरा नै भयो हगी ।’
त्यो भनेको के हो ?
अनि अझ मेलमिलाप केन्द्रले दिएको समाधान झनै हाँस उठ्दो छ । त्यो हो त्यो युवकले उनलाई भाइटिका लगाइदिने ।
यो दृश्य झलक्क सोच्दा हाँस उठ्दो लाग्न सक्छ । तर यसमा निहित रहेको विषय असाध्यै संवेदनशील छ । यो संवादले एक त महिला चरित्रलाई अनुहारमा सीमित गरेको छ । अनि समाधानले भाइटिका लगाइदिएपछि सबैथोक ठिक हुन्छ भन्ने भाष्य स्थापित गरेको छ । यदि उसको ‘गेज’ वा असहज हेराइले उनलाई असर गरेको हो भने त्यसको गहिराइमा जान सक्ने ठाउँ थियो । हैन भने नेपालमा दिनदहाडै अनेकौँ बलात्कारका घटनाहरू भइरहेका छन् । कतिपय घटनाहरू घरकै सदस्यहरूबाट हुने गरेका छन् ।
त्यस्तो परिस्थितिमा यो संवादले दिएको भाइटिका लगाउने उपायले न त पुरुषको गेजलाई समाधान गरेको छ । न त महिलाले उठाएको विषयलाई न्याय दिएको छ ।
अझ अनि महिला सञ्जालकी प्रमुख र वडाध्यक्ष दुवै त्यो युवकतिर हेरेर भनिरहन्छन् ‘मलाई त उहाँको अनुहार हेर्दा त त्यस्तो लाग्दैन । एकदमै भलादमी देख्छु ।’
अझ मेलमिलापकर्ता पनि उनलाई ‘बिहे भएको छ कि छैन’ भनेर सोध्छिन् ।
भिडियोले न त्यस्तो हुनसक्ने परिस्थितिलाई महिलाको एजेन्सी दिएको छ । न त त्यस्तो हुनसक्ने पुरुषलाई शङ्काको दृष्टिकोणले हेरेको छ ।
तर मलाई बिझाएको मुख्य विषय यो पनि हैन ।
महानगरपालिकाको न्यायिक समितिमा परेको मुद्दा र त्यसले दिएको सन्देश झनै समस्याग्रस्त छ । न्यायिक समिति त्यस्तो ठाउँ हो जहाँ भएको कानुनी प्रक्रियालाई अदालतले पनि चिन्छ ।
त्यहाँ दाइजो नल्याएको भनेर घरपरिवारले यातना दिएको विषय उठाउँदै एक बुहारीले श्रीमानसँग बस्न नसक्ने भन्दै अंशबन्डा गरिपाऊँ भनेर मुद्दा हालेकी छन् । यहाँ उठेका दुवै मुद्दा संवेदनशील हुन् । यसै पनि दाइजो नल्याएको निहुँमा हुने गरेका यातनाका खबरहरू पटक पटक समाचारमा आइरहेका हुन्छन् ।
उनको लोग्नेको भूमिका निभाएको युवक भन्छ ‘उनले लगाएको शारीरिक र मानसिक यातनाको कुरा मनगढन्ते र कपोकल्पित हो । सासुससुरासँग नबसौँ छुट्टै घरमा बसौँ भन्ने उनको चाहना छ । यस्तो बिचारसँग मेरो मेल खाएन ।’
उसको संवादबाट उनी छुट्टिएर बस्न खोजेको अनि स्वतन्त्रता खोजेको कुरा बुझिन्छ ।
त्यसपछि आमाको रुन्चे संबाद ‘हाम्रो घरमा छोरी छैनन् । यिनी बुहारी भएर भित्रिइन् । हामीले सोच्यौँ अब यिनी छोरी पनि भइन् । तर हैन यिनी छोरी भइनन् । राती कतै गएर ढिलो घर आउँदा यति राती कहाँ गएर आएकी भनेर सोध्न हुँदैन थियो ।’
उनको संवादबाट बुहारीले स्वतन्त्रता किन चाहेकी रहिछन् भन्ने बुझिन्छ ।
तर जसै बुहारीले अंशको कुरा गरेर घर र जग्गा बाँडफाँड गरिपाऊँ भन्ने संवाद बोल्छिन् वडाध्यक्षको भूमिका निभाएका हरिवंश आचार्यले मुख टोकेको प्रतिक्रिया बिचमा आउँछ । उनको प्रतिक्रिया यस्तो छ कि मानौँ त्यो कुरा भन्नु कुनै पाप हो ।
नातिको निहुँमा सबै सम्पत्ति आफैँले रमाइलो गरेर उडाउने बिचार गरेको जस्तै लाग्दैछ भनेर बुहारीलाई आरोप लाग्छ ।
यतिन्जेलसम्म उनले सुरुमा उठाएको दाइजो नपाएर पाएको यातना कता छुटिसक्छ ।
परिवारको बिछोड भयो भने बालबालिकामा असर गर्छ भन्दै वडाध्यक्ष सम्झाउँछन् । तर त्यसरी सम्झाउँदै गर्दा आमालाई परेको असरमा कुरा भने भिडियोले थाहा पनि पाएको छैन । आमालाई असर गरेको कुराले परिवारसँग बसे नै पनि भोली बच्चालाई असर पर्न सक्छ भन्ने कुरा थाहा नै पाएको छैन भिडियोले ।
अझ त्यतिले मात्र नपुगेर वडाध्यक्ष उनलाई नै ‘तपाईँको ठाउँमा म भएको भए मिल्थेँ ।’ भन्छन् ।
‘मिल्न एक्कैछिन गाह्रो हुन्छ तर जिन्दगीभरलाई सजिलो हुन्छ ।’ भन्छन् ।
उनीहरूले छानेको सहजकर्ताले फेरी ‘रिसको उल्टो सरी’ हुन्छ भन्दै उनलाई नै कमजोर बनाउँछन् ।
हेपेर गरिएको निर्णयको पक्षमा म मिल्ने वाला छैन भन्दै निस्किएकी उनी फेरी भावुक भएर फर्किन्छिन् । तर बाहिर बस्दा उनलाई पटक पटक उनीहरूले भनेका सबै कुरा याद आइबस्छ । उनी गल्छिन् अनि ‘म मिल्न चाहन्छु’ भन्दै फर्किन्छिन् ।
उनले मिल्न चाहन्छु भन्दा वडाध्यक्ष भन्छन् ‘यी नानी त तपाईँहरूको मायाले पग्लिछन् ।’
यो भिडियोमा ‘मह’ जोडिले परिवर्तित समाजमा महिला चरित्रहरूको निर्माणले चाहेको अपडेटलाई बेवास्ता गरेका छन् । महिला स्वतन्त्रताको लडाई यसै पनि कमजोर भइबस्छ । हाम्रो जस्तो पितृसत्तात्मक समाजले बनाएका कानुन नै पनि महिलाको पक्षबाट हैन पुरुषको पक्षबाट सोचिबस्छ । त्यसले पुरुषलाई उनीहरूले ‘अनुहार हेर्दा त त्यस्तो देख्दिनँ’ भनेजस्तै दोष बिनाको देखिबस्छ । अनि महिला चरित्रले आफ्नो अधिकार माग्दा यो भिडियोको वडाध्यक्षले ‘जिब्रो टोकेजस्तै’ जिब्रो टोकिबस्छ । यस्तो लाग्छ कि कुनै युवतीले कुनै परिवारसँग बस्न सक्दिनँ भन्नु पाप हो ।
भर्खरै मिडियामा माल्बिका सुब्बाको छोडपत्र भएको भिडियो आइरहेको छ । उनले त्यो भिडियोमा गर्भावस्थादेखि बच्चा हुर्काउने बेलासम्म भोगेका अनेकौँ कुरा गरेकी छन् । त्यहाँ हाम्रो समाजले बुझ्न बाँकी कति धेरै कुराहरू सतहमा आएका छन् । तर समाजमा गन्नेमान्ने मानिएका अनेक मान्छेहरूलाई समेत उनले लाइभमा रोएको पनि तत्कालै ऐनामा आँसु पुछेको कुरा बहस गर्न योग्य विषय लागिरहेको छ । उनीहरू उनी त्यो अवस्थामा किन पुगिनन् । वा उनले खोजेको कुरा किन पाइनन् भन्ने विषयमा बहस गर्न तयार छैनन् ।
यो भिडियोमा वडाध्यक्ष त्यस्तै पात्र हुन् । उनी युवतीलाई संझाउनेबेलामा पनि समाजले यो कुरा राम्रो मान्दैन भनिरहन्छन् । तर उनी आफैँ भने श्रीमती माइत नगएको कारण घरमा भात नखाएको कुरा खुसीसाथ सुनाउँछन् ।
भिडियोले स्थानीय कुरा स्थानीय तहमा नै समाधान गर्नुपर्छ भनेको त ठिकै हो तर यो मुद्दा त्यहाँ नमिलेर अदालतमा पुगेको देखाएको भए के बिग्रिन्थ्यो । पुरुषहरूको कोणबाट ह्याप्पी इन्डिङ खोज्नुको साटो महिलाको कोणमा गएर स्याड इन्डिङ खोजेको भए के बिग्रिन्थ्यो ?
स्थानीय मुद्दा स्थानीय तहमा नै मिलाउनुपर्छ भन्ने सम्मको सन्देश ठिकै हुँदा पनि वडाध्यक्षले ‘त्यसरी अदालतमा गयो भने त दुख पाइहालिन्छ नि । अड्डा अदालत सकेसम्म जानै हुँदैन । मुद्दाको १० वटा सिङ हुन्छ । मुद्दा मामिलाले मान्छेको मुटु बिगार्छ, कलेजो बिगार्छ । मधुमेह बढाउँछ ।’ लाई अर्को तरिकाले भनेको भए के बिग्रिन्थ्यो ?
अनि सँगै भिडियो सुरु हुँदा बज्ने गीतको लिरिक्समा पनि समस्या छ । त्यसले भन्छ:
अब यस्तो छ
अब उस्तो छ
यो भएन
त्यो भएन
समस्याको थुप्रो
तीललाई पहाड बनाइ कुरा गर्छन् कत्रो ।
यो तिललाई पहाड बनाउने भन्ने उखान पनि फेर्ने बेला भइसक्यो । यो उखान आफैँमा पनि पितृसत्तात्मक छ । निरङ्कुश छ । कसैको जेन्युअन मुद्दालाई यसले कमजोर पार्छ । सामान्यीकरण गर्छ ।
तिल आफैँमा पहाड हो । यसलाई पहाड बनाइरहनु पर्दैन ।