अन्ततः हर्क साम्पाङले भने- अदालतलाई सम्मान गर्छु
काठमाडौँ । उच्च अदालत विराटनगरले सर्दु जलधार क्षेत्रमा रहेको व्यक्तिको जग्गामा वृक्षारोपण नगर्न धरान उपमहानगरपालिकालाई अन्तरिम आदेश दिएको छ ।
धरान-४ की रोजिना अधिकारीले दायर गरेको रिटमा न्यायाधीश मिलनकुमार राईको इजलासले बिहीबार मुद्दाको अन्तिम टुंगो नलागेसम्म व्यक्तिको नाममा रहेको जग्गामा अनधिकृत रूपमा प्रवेश गर्ने, बिरुवा रोप्नेजस्ता काम नगर्न भनेको हो ।
“…प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेदकको नाम दर्ताको कि.नं. ४२१ र ३४५ को जग्गामा अनधिकृत रूपमा प्रवेश गर्ने, वृक्षारोपण गर्ने गराउने कार्य नगर्नू नगराउनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम विपक्षीहरूको नाममा अन्तरिम आदेश जारी गरिदिएको छ । आदेशको जानकारी विपक्षीहरूलाई दिई नियमानुसार पेस गर्नू,” आदेशमा भनिएको छ ।
साथै अदालतले उपमहानगरलाई रिट निवेदकको मागबमोजिमको आदेश जारी नहुनुपर्ने कुनै आधार, कारण र प्रमाण भए १५ दिनभित्र लिखितरूपमा जवाफ पेस गर्न भनेको छ ।
उच्चको आदेशपछि मेयर साम्पाङले अदालतलाई सम्मान गर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अदालतलाई सम्मान गर्छु !’