धरौटी राख्ने मस्यौदाप्रति एक्यानको आपत्ति
सरकारले संघीय शिक्षा ऐन ल्याउने तयारी गर्दै गर्दा त्यसमा समावेश शैक्षिक परामर्श व्यवशायमा धरौटी राख्ने मस्यौदाप्रति सक्रिय शैक्षिक परामर्श संघ, नेपाल (एक्यान) ले आपत्ति जनाएको छ।
शुक्रबार विज्ञप्ति जारी गर्दै एक्यानले विद्यार्थीको सम्पूर्ण लागत रकम नै परामर्शदाताहरुले आफैं बुझ्ने गरेको जसरी परामर्श व्यवशायलाई नै धराशायी बनाउने ढंगले धरौटीमा जानुपर्ने प्रावधान प्रस्ताव गरिएकोमा गम्भीर असहमति जाहेर गरेको छ।
उच्च शिक्षाका लागि जापान जाने नेपाली विद्यार्थीहरुलाई शैक्षिक परामर्श सेवा उपलब्ध गराउँदै आएका परामर्श व्यवशायीहरुको साझा संगठन एक्यानले विद्यार्थीहरुले ती शिक्षण संस्थामा तिर्नुपर्ने सम्पूर्ण शुल्क सम्बन्धित कलेजकै खातामा जम्मा गर्ने प्रक्रिया रहेको जनाएको छ।
विद्यार्थीहरुले भाषा परीक्षा तथा विदेशमा अध्ययन गर्न जाँदा लाग्ने सम्पूर्ण रकम सोझै सम्बन्धित संस्थामा आफ्नो व्यक्तिगत बैंक खातामार्फत जम्मा गर्ने हुँदा त्यस्तो लगानीको सुरक्षाका लागि भन्दै त्यससम्बन्धी आर्थिक कारोबारमा कुनै भूमिका नै नरहेका परामर्श व्यवशायीहरुलाई जबर्जस्ती सुरक्षण धरौटीमा बाध्य पार्न खोजिए त्यसले भोलिका दिनमा विकराल समस्या निम्त्याउने एक्यानको दाबी छ।
प्रस्तावित संघीय शिक्षा ऐनको दफा ६५ को उपदफा ५ र ६ मा प्रस्तावित धरौटीसम्बन्धी ब्यवस्था कुनै पनि अर्थ र तर्कका आधारमा उपयुक्त नभएकाले उक्त प्रावधान खारेज गर्न सक्रिय शैक्षिक परामर्श संघ,नेपालले सरकारसंग माग गरेको छ।