प्रचण्ड र ओलीबीच बालुवाटारमा डेढ घण्टा लामो वार्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार बिहान बालुवाटारमा वार्ता भएको छ ।
बिहान ९ बजेदेखि झण्डै डेढघण्टासम्म दुई नेताबीच वार्ता भएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए ।
कोसी प्रदेश सरकारको भत्किएको समीकरण र आगामी सरकार गठन तथा देशका पछिल्ला अवस्थाबारे समेत दुई नेताबीच कुराकानी भएको बताइएको छ ।
सर्वोच्च अदालतको आदेशपछि माओवादी समेत मिलेर कांग्रेस सांसद उद्धब थापाको नेतृत्वमा बनेको कोशी सरकार ढलेको छ । त्यसअघि रहेको एमालेका हिक्मत कार्की नेतृत्वको सरकारलाई पनि प्रदेश प्रमुखले कामचलाउ सरकारको मान्यता नदिएको अहिलेको अवस्थामा कोशी प्रदेश सरकारविहीनताको अवस्थामा छ ।
कोशीमा सोमबारसम्म बहुमतको सरकार बनाइसक्न प्रदेश प्रमुखले आह्वान गरेका छन् । तर, दुई नेताबीचको सम्वादमा भएका कुराबारे दुवैतर्फबाट कुनै औपचारिक जानकारी आएको छैन ।