सारुकको ‘सुसाइड नोट’ फेला, कसैलाई दोष नदिन आग्रह

काठमाडौँ । अभिनेता सारुक ताम्राकारको ‘सुसाइड नोट’ भेटिएको छ । २१ असारमा रातोपुलस्थित आफ्नै घरमा मृत भेटिएका ३१ वर्षीय अभिनेता सारुक ताम्राकारको मोबाइल फोनको ल्याब परीक्षणबाट उनले छाडेको सुसाइड नोट भेटिएको हो।

सुसाइड नोटमार्फत उनले आफ्नो मृत्युमा कसैलाई दोष नदिन प्रहरीलाई सम्बोधन गरेर आग्रह समेत गरेका छन् । कसैलाई विवादमा नल्याउन पनि उनले भनेका छन् ।

प्रहरी प्रधान कार्यालयमा रहेको डिजिटल फरेन्सिक ल्याबमा भएको परीक्षण रिपोर्ट आएको र त्यसकै आधारमा सारुकको मृत्युबारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दान कार्कीले बताए ।

बाबुआमा पार्टीमा गएका बेला उनी घरकै छिँडिमा पासो लगाएको अवस्थामा मृत फेला परेका थिए ।

सारुक कलाकार सानु ताम्राकारका छोरा हुन् । मृत्युहुनु अघिसम्म उनी फिल्म ‘ह्यासट्याग माया’मा अभिनय गरिरहेका थिए।

फिल्मका मुख्य अभिनेता सारुक बिहीबार बिहान पनि फिल्मको सुटिङ गरेर घर फर्किएका थिए।

सारुकले ‘इन्टु मिन्टु लन्डनमा’, ‘मेरी मामु’, ‘रानी’ , ‘नमरी बाचे’लगायत फिल्ममा अभिनय गरेका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *