नयाँ जहाज छिट्टै आउँछ तर कमिसन आउँदैन : मन्त्री किराँती
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल एयर लाइन्सले छिट्टै नयाँ जहाज खरिद गर्ने बताएका छन् ।
प्रेस सेन्टर नेपाल झापाले बिर्तामोडमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भूपरिवेष्टित राष्ट्रको समृद्धिका लागि जहाज विकास महत्त्वपूर्ण हुने भएकाले थप जहाज ल्याउन लागिएको समेत बताए ।
‘हाम्रो जस्तो भूपरिवेष्टित मुलुकको समृद्धिका लागि जहाज महत्त्वपूर्ण हुँदोरहेछ’, उनले भने, ‘तीन वटा नयाँ र दुई वटा पुराना जहाज खरिद प्रक्रियामा रहेको छ, छिट्टै ती जहाज आउँछ, तर कमिसन आउँदैन ।’
नेपाली जहाजकै ‘कनेक्सन फ्लाइट’बाट नेपाली उत्पादनहरु विदेश निर्यात गरेर समृद्धि हासिल गर्न सकिने उनको भनाइ छ।
मन्त्रालयमा आफू आएपछि भ्रष्टाचारका प्वालहरु टाल्ने काम गरिरहेको भन्दै उनले चार अर्ब ऋण तिरेर नयाँ जहाज किन्न सक्ने अवस्था आएको बताए ।
‘देशको ठूलो समस्या भ्रष्टाचार हो, यसको अन्त्य जरुरी छ’, उनले भने ।