कोशीमा नयाँ सरकार गठनका लागि सभामुख गौतम राजीनामा दिन तयार

काठमाडौँ । कोशी प्रदेशमा सरकार गठनका लागि बहुमत पुर्याउन प्रदेश सभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिने तयारी गरेका छन् । माओवादी केन्द्रबाट सभामुख बनेका गौतमले राजीनामा दिँदा कांग्रेस–माओवादी गठबन्धनमा रहेका दलहरुको बहुमत जुट्ने छ । नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले आज साँझ ५ बजेसम्मको समय सीमा दिएका छन् ।

समयसीमा सकिनुअघि नै गौतमले राजीनामा दिने र सरकार गठनका लागि बहुमत पुर्‍याउने बताइएको छ । प्रदेश संसद ९३ सदस्यीय रहेको छ । यसमा बहुमतकालागि ४७ सदस्य चाहिन्छ ।

यसअघि पनि कांग्रेस नेता उद्धब थापाको नेतृत्वमा सरकार गठनका लागि सभामुखकै हैसियतमा बाबुराम गौतमले हस्ताक्षरसहित समर्थन गरेका थिए ।

तर, एमालेले सर्वोच्च अदालतमा सरकार गठनका लागि सभामुखको मत लिनु अवैधानिक रहेको भन्दै त्यसलाई बदर गर्न माग गर्दै मुद्दा हालेको थियो । उक्त मुद्दाको सुनुवाई गर्दै सर्वोच्च अदालतले सभामुखको मत लिनु संविधानको मर्तविपरीत भएको र असंवैधानिक रहेको ठहर गरेको थियो ।

प्रदेशसभामा कांग्रेसका २९, माओवादी केन्द्रकाका सभामुखबाहेक १२, एकीकृत समाजवादीका ४ र जसपाका १ गरी ४६ सांसद अहिले कायम छन् । तर, सभामुख गौतमले राजीनामा दिएपछि ४७ सांसद पुग्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *